काठमाडौँ
००:००:००
१ पुष २०८२, मंगलवार

१ पुष २०८२
अ+
अ-

म्याग्दी। बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ।

बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन्। डोजर लगाएर सम्याइएको खेलमैदानको डिलतर्फ पर्खाल बनाएर फराकिलो पारिएको छ।

खेलमैदान निर्माण भएपछि बस्तीमाथिको पाखोबाट आउने बाढी रोकथामका साथै स्थानीय बालबालिका र युवायुवतीलाई खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष हिक्मत शेरचनले बताए।

“खेलमैदानको संरचनाले बराहपाखोबाट आउने बाढीलाई सिधै मङ्गलाघाटको बस्तीमा आउन रोकेको छ”, उनले भने, “खेलमैदान नहुँदा बालबालिका र युवायुवती सडकमै खेल्दा हुने दुर्घटनाको जोखिम पनि घटेको छ।”

यो खेलमैदानमा भलिबल, बास्केटबल, ब्याडमिन्टन र तारोखेल सञ्चालन गर्न सकिन्छ । यसअघि खेलमैदान अभावमा बालबालिका सडकमै खेल्दा दुर्घटनाको जोखिम थियो।

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको रु १३ लाख सहयोगमा उपभोक्ता समितिले बेनी–दरवाङ सडकदेखि खेलमैदान पुग्ने पैदलमार्ग, तारजाली, घेराबार र प्यारापिट बनाएका छन्।

यसअघिका वर्षमा पनि वार्षिक रु एक लाख ५० हजारदेखि दुई लाखको हाराहारीमा बजेट विनियोजन गरेर खेलमैदान सम्याउने काम गरिँदै आएको थियो । मङ्गलाघाटका दीपबहादुर शेरचन र निगम राजभण्डारीले मूल सडकदेखि खेलमैदान जाने बाटोमा पर्ने जग्गा उपलब्ध गराएका थिए।

जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले मङ्गलाघाटको खेलमैदानलाई विशेष गरेर भलिबल खेल अभ्यासका लागि प्रयोग गर्न थालिएको बताए।

“खुलामञ्च खेलमैदानमा फुटबल र क्रिकेटसँगै विभिन्न सभा, समारोह, मेला महोत्सव हुने हुँदा खेलकुद गतिविधि सञ्चालन गर्न वैकल्पिक ठाउँको खोजीमा थियौँ”, उनले भने, “बेनीमा भलिबलको छुट्टै खेलमैदान नहुँदासम्मका लागि अस्थायी र वैकल्पिक हिसाबले मङ्गलाघाटको खेलमैदान प्रयोग गर्न थालेका छौँ ।”