काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली खेलाडी ओसमन डेम्बेलाई ‘द बेस्ट फिफा मेन्स प्लेयर २०२५’ को अवार्ड प्रदान गरिएको छ।
दोहामा आयोजित फिफा गालामा उनलाई यो अवार्ड प्रदान गरिएको हो। रियल मड्रिडका किलियन एमबाप्पे र बार्सिलोनाका लामिन यमाललाई पछि पार्दै उनले उक्त अवार्ड जितेका हुन्। यसअघि डेम्बेलेले बालोन डि’ओर अवार्ड पनि जितेका थिए।
डेम्बेलेले गत सिजन ५३ खेलमा ५१ गोलमा प्रत्यक्ष योगदान दिएका थिए। पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए।
महिलातर्फ बार्सिलोनाकी आइताना बोनमती ‘द बेस्ट फिफा वुमेन्स प्लेयर’ घोषित भइन् भने इंग्ल्यान्ड तथा चेल्साकी हाना ह्याम्पटन उत्कृष्ट महिला गोलकिपर बनिन्।
यो अवार्ड अगस्त २०२४ देखि अगस्त २०२५ सम्मको प्रदर्शनलाई आधार मानेर दिइएको फिफाले जनाएको छ। साथै यस अवार्डका लागि फिफाका सदस्य देशका राष्ट्रिय टिमका प्रशिक्षक र कप्तानले मतदान गरेका थिए।