परिकार
बालबालिकामा दीर्घकालीन रोग लाग्ने दर बढ्दै जानुमा अति-प्रशोधित खाद्य पदार्थको मुख्य भूमिका
‘मामु, मलाई यही चिप्स चाहियो!’
काठमाडौँको एउटा सुपरमार्केटमा आमाले चाउचाउको खण्डबाट बल्लतल्ल फकाएर अर्कातिर लगेकी छोरी चिप्सको प्याकेट बोकेर चिच्याउन थालिन्।
‘हुन्न छोरी.. कुकिज लिऊ न….बिस्किट लिऊ ल’ भनेर सम्झाउँदै आएकी आमाको अनुहारबाट सज्जनता उत्रिएर रातो भएको थियो। एक त महँगो, त्यसमाथि पत्रु खाना (जंक फुड) मानिएको चिप्स नकिने छोरीले झन् बेइज्जत गर्ने पक्का भएपछि उनी किन्न बाध्य भइन्।
यो दृश्य पंक्तिकारले दुई दिनअघि मात्र देखेको हो। त्योभन्दा अगाडि फरक पात्रहरूका साथ फरक स्थानमा बारम्बार देखेको हो।
तयारी चाउचाउपछि चिप्सजस्ता नुनिला-पिरा स्न्याक्समा काठमाडौँवासीको मोह बढेको छ। चिप्स मात्र पाइने खालका पसल काठमाडौँ मूल सहरमा मात्र होइन, काँठ क्षेत्रमा बढ्दै गएका बजारमा पनि फैलिएका छन्। कुकिज र बिस्कुटका अनेक ब्रान्ड देखिएका छन्। अहिलेको नयाँ पुस्ता यिनैमा झुमिन्छ।
यी नयाँ खानाको नशा नयाँ पुस्तालाई किन लागेको होला? चिप्स वा कुकिजको प्याकेट लिएर खोलेपछि किन रोक्न सकिँदैन होला? एउटा मुखमा हाल्न नपाउँदै अर्को हातमा आइसक्छ, फेरि मुखमा र प्याकेट नसकिएसम्म यो क्रम किन निरन्तर हुन्छ होला? भोकै नलागे पनि एउटा चिप्स खाएपछि अर्को किन खान मन लाग्छ? एकपटक यसलाई चाखेपछि, रोक्न किन गाह्रो हुन्छ? यो तृष्णा भोकका कारणले आएको हो त?
होइन, अति-प्रशोधित खाना वा ‘अल्ट्रा-प्रोसेस्ड फुड’ को यो नशालाई अहिले संसारभरि नै चुरोट, सुर्ती र रक्सीभन्दा पनि खतरनाक रूपमा लिन थालिएको छ। अमेरिकाको नेसनल इन्स्टिच्युट अफ ड्रग एबुज (लागुपदार्थ दुरुपयोगसम्बन्धी राष्ट्रिय संस्थान)का निर्देशक डा. नोरा भोल्को र उनका तीन सहकर्मीहरूले २०२५ को जुलाई अन्त्यतिर नेचर मेडिसिनमा अति-प्रशोधित खानाको नशा पहिचान गर्ने र त्यसका विरुद्ध कदम चाल्ने समय आइसकेको भनेर एउटा अनुसन्धानमूलक लेख प्रकाशित गरेका छन्। उनीहरूले अति-प्रशोधित खानाको नशाबारे समयमै सोचिएन भने त्यसले जनस्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने पनि बताएका छन्। उनीहरूले त्यस्ता खाद्य पदार्थको लत लाग्न सक्छ भन्ने कुरामा वैज्ञानिकहरूबीच सहमति बढ्दो छ भनेका छन्। यी खानाहरूले रक्सी वा निकोटिनजसरी नै न्युरोबायोलजिकल मस्तिष्कका सर्किटहरू र मलिक्युलर टार्गेटहरूसँग खेल्छन्।
यो पनि पढ्नुहोस् :
अझ सजिलो भाषामा भन्ने हो भने, चुरोट बालेर तान्नासाथ निकोटिनको प्रभाव तुरुन्तै सुरु हुन्छ। केही सेकेन्डमै निकोटिन रसायनले मस्तिष्कलाई असर गर्न थाल्छ, जसले क्षणिक उत्साहको अनुभूति दिन्छ। केहीलाई चाहिँ खुसी महसुस गराउँछ भनिन्छ, केही चाहिँ सतर्क अनुभूति आउँछ भन्छन्। समय बित्दै जाँदा, मस्तिष्क यी सबै अनुभूतिमा अभ्यस्त हुन्छ, र मान्छे निकोटिनमा निर्भर हुन थाल्छ। चुरोटले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव र जोखिम निम्त्याउँछ भन्ने कुराको धेरै प्रमाण भए पनि मान्छेले सजिलै यो लत त्याग्न सक्दैन। हो त्यस्तै हो, अति-प्रशोधित खानाको लत भनेर वैज्ञानिकहरूले कुरो उठाउन थालेका छन्।
डा. नोरा भोल्कोको समूहको भनाइमा क्यान्डी, कुकिज र चिप्सजस्ता केही अति-प्रशोधित खाद्य पदार्थको लत लाग्न सक्छ भन्ने धारणा संयुक्त राज्य अमेरिका र अन्य स्थानहरूमा बढ्दो रूपमा ध्यान आकर्षित गरिरहेको छ। पछिल्ला दुई वर्षमा बालबालिकामा दीर्घकालीन रोगहरूको दर बढ्दै जानुमा लत लाग्ने उच्च प्रशोधित खाद्य पदार्थको भूमिकाबारे अमेरिकी कंग्रेसमा सुनुवाइसमेत भएको छ।
संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्को सहरमा अस्वस्थ मात्र होइन, लत लाग्ने खालका अति-प्रशोधित खाद्य पदार्थ तयार पार्न दशकौँ खर्च गरेको आरोप लगाउँदै १० ठूला खाद्य कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ। अति-प्रशोधित खाद्य पदार्थबाट स्वास्थ्यमा पर्ने असरविरुद्ध अमेरिकामा लडिएको यो पहिलो कानुनी लडाइँ हो।
त्यस्ता खाद्य पदार्थ सेवनसँग जोडिएका स्वास्थ्य समस्या बढ्दै गएका बेला कोका-कोला, मोन्डेलेज, पेप्सिको, केलोग्स र नेस्लेलगायत विश्वव्यापी कम्पनीविरुद्ध दायर गरिएको यस मुद्दाले अन्तर्राष्ट्रिय महत्त्व पाएको छ।
२ डिसेम्बर २०२५ मा मुद्दाबारे जानकारी दिँदै सान फ्रान्सिस्को सहरका वकिल डेभिड चिउले ती कम्पनीहरूलाई आफूले ‘स्वास्थ्योपचार खर्च अत्यधिक बढाएकोसहितको विकराल जनस्वास्थ्य संकट’ सिर्जना गरेकामा जवाफदेह बनाइनुपर्ने बताएका थिए। ‘अति-प्रशोधित खाद्य पदार्थले हामीलाई बिरामी बनाइरहेको छ, यो एकदमै स्पष्ट कुरा हो,’ चिउले पत्रकार सम्मेलनमा भनेका छन्।
खानाबारे गम्भीर अनुसन्धान गर्ने नर्थ क्यारोलाइना विश्वविद्यालयको ग्लोबल फुड रिसर्च प्रोग्राम नामक संस्थाले निकालेको एउटा फ्याक्टसिटमा आफ्नो अध्ययनले अमेरिका, बेलायत र युरोपमा अति-प्रशोधित खाद्य पदार्थको अत्यधिक सेवन मोटोपना र मधुमेहसँग मात्र होइन, मुटु रोग, डिमेन्सिया, डिप्रेसन र क्यान्सरसँग पनि सम्बन्धित रहेको पत्ता लगाएको उल्लेख गरेको छ।
हुन त खाद्य प्रशोधन वा सामान्यतया खाद्य पदार्थलाई यसको प्राकृतिक अवस्थाबाट परिवर्तन नगरीकन एकदमै कम खाना खान मिल्छ। खाद्य प्रशोधन प्रक्रियामा कुट्ने, सुकाउने, पिन्नेजस्ता परम्परागत प्रक्रिया मात्र होइन, जमाउने, क्यानमा राख्ने, वा स्वाद तथा संरक्षणका लागि नुन, चिनी, चिल्लो पदार्थ वा बोसो वा अन्य पदार्थ थप्ने काम पनि पर्छन्। अधिकांश खाद्य पदार्थ खरिद वा उपभोग गर्नुअघि कुनै न कुनै रूपमा प्रशोधन गरिएकै हुन्छन्। व्यापक अर्थमा ‘प्रशोधित खाद्य पदार्थ’ शब्दावलीले धोइएका र बोक्रा हटाइएका तरकारीदेखि क्यानमा पकाइएका सिमी, क्यान्डी र सफ्ट ड्रिंकसम्म सबैलाई समेट्छ।
ब्राजिलको साउपाउलो विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थले नोभा फुड क्लासिफिकेसन सिस्टम तयार गरेको छ। त्यसमा नै अति-प्रशोधित खाद्य पदार्थलाई उद्योगमा तयार गरिएका तेल, बोसो, चिनी, स्टार्च र प्रोटिनजस्ता पूर्ण वा आंशिक रूपमा खाद्य कच्चा पदार्थबाट निकालिएका, हाइड्रोजेनेटेड फ्याट र परिमार्जित स्टार्चजस्ता खाद्य तत्त्वबाट निकालिएका पदार्थहरू र स्वाद बढाउने तत्त्व, रङ तथा उत्पादनलाई अत्यन्तै स्वादिष्ट बनाउन प्रयोग गरिने विभिन्न खाद्य ‘एडिटिभ’ हरू हालिएको खाना भनिएको छ।
त्यस्ता प्रशोधित खाद्य पदार्थको कहर युरोपलगायत विकसित देशमा मात्र छ भन्नेहरूको संख्या पनि धेरै छ। तर, भारतको प्रसिद्ध डाउन टु अर्थ पत्रिकाले दक्षिण एसियामा यसको प्रभाव बढ्दै गएको बताएर आवरण कथा नै छापेको छ। पत्रिकाको भनाइमा भारतमा अति-प्रशोधित खाद्य पदार्थको बढ्दो प्रभाव अब स्पष्ट देखिन थालेको छ। सुपरमार्केट, किराना पसल र १० मिनेटमै डेलिभरी गर्ने एप्लिकेसनमार्फत सस्तो मूल्यमा उपलब्ध यी उत्पादनहरू अहिले ग्रामीण र सहरी दुवै बजारमा छाएका छन्। भारतकै आर्थिक सर्वेक्षण २०२४/२५ अनुसार यस विशाल व्यवसायको आधार खाद्य पदार्थको तिक्खर स्वाद, उपभोक्ता व्यवहारलाई लक्षित गर्ने भ्रामक विज्ञापन तथा सेलिब्रिटी प्रचारजस्ता मार्केटिङ रणनीतिमा टिकेको छ। प्रतिवेदनका अनुसार, भारतमा अति-प्रशोधित खाद्य पदार्थको खपत सन् २००६ मा ९० करोड अमेरिकी डलरबाट रहेकामा सन् २०१९ मा ३७.९ अर्ब अमेरिकी डलर पुगेको छ, अर्थात् वार्षिक ३३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
अति-प्रशोधित खाद्य पदार्थको हाम्रो घरेलु उत्पादन बिस्तारै फस्टाउँदै गएको छ। भारतको भीमकाय बजारबाट पनि हामीकहाँ त्यस्ता वस्तुको राम्रै निर्यात भइरहेको छ। अनि हाम्रा आफ्ना र भारतीय टेलिभिजन च्यानलले आकर्षक रूपमा प्रचार गर्ने खाद्य पदार्थमा सबै जना लोभिएकै छन्। हामीकहाँ पनि त्यस्ता वस्तुको उपभोग त्यसरी नै बढ्दै छ। अब यो लतबाट जोगिने पो कसरी हो?