काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष २०८३ जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ् च्याम्पियनसिप हुने भएको छ ।
‘व्यायाम गरौँ, स्वस्थ रहौँ’ र ‘स्वास्थ्यका लागि व्यायाम’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा सहभागी हुन खेलाडीहरूलाई आह्वान गरिएको छ ।
च्याम्पियनसिपबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष तथा काठमाडौँ महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले उपचारका लागि अस्पताल बनाउनुभन्दा निरोगी बन्ने कार्यक्रम विस्तारमा जोड दिइएको बताए। उनले स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि खेल मैदान निर्माण र खेलकुद गतिविधिलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।
महर्जनका अनुसार पहिलो संस्करणमा पुरुषतर्फ मात्र प्रतियोगिता गरिएको थियो । यस वर्ष भने महिलालाई पनि एथलेटिक्स फिजिक्स विधामा सहभागी गराइनेछ । प्रतियोगिता नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्यमा तथा काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ ।
पुरुषतर्फ ९ विधामा प्रतिस्पर्धा हुनेछ । यस अन्तर्गत ६ वटा तौल समूह, २ वटा स्पोर्ट फिजिक्स र एउटा ओभरअल प्रतिस्पर्धा रहनेछ । तौल समूहमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथि रहनेछ । एथलेटिक्स फिजिक्सतर्फ १७० सेन्टिमिटरभन्दा माथि र १७० सेन्टिमिटरसम्म गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ एथलेटिक्स फिजिक्स अन्तर्गत खुला प्रतिस्पर्धा गराइनेछ ।
प्रत्येक तौल समूहका विजेता खेलाडी ओभरअल प्रतिस्पर्धामा सहभागी हुनेछन् । ओभरअल प्रतिस्पर्धाका विजेताले दोस्रो ‘मिस्टर महानगर’ को उपाधिसहित ५ लाख रुपियाँ नगद, ट्रफी र ब्यानेट प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पहिलो दिन खेलाडीहरुको तौल नापिनेछ भने दोस्रो दिन प्रिजजिङ र फाइनल प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौल समूहका विजेताले १ लाख रुपियाँ नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । अघिल्लो वर्ष ७५ हजार रुपियाँ रहेको पुरस्कार राशी यस वर्ष बढाएर १ लाख बनाइएको हो । उपविजेता, तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
एथलेटिक्स फिजिक्सतर्फ पुरुष र महिलादुवै विधामा प्रथम पुरस्कार १ लाख २५ हजार रुपियाँ तोकिएको छ । दोस्रोदेखि पाँचौँ स्थानसम्म क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १० हजार रुपियाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
वडा नम्बर २२ ले खेलकुद विकासका लागि विभिन्न प्रतियोगिता र तालिम सञ्चालन गर्दै आएको छ । गत वर्ष मिस्टर महानगर प्रतियोगितासँगै शहीद सुरज स्मृति प्रथम महानगरव्यापी अन्तरवडा बुद्धिचाल प्रतियोगिता र पौडी तालिम सञ्चालन गरिएको थियो ।
यस्तै विभिन्न खेल विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका वडाका भेट्रान र युवा खेलाडीलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रमसमेत सञ्चालन गर्दै आइएको वडाले जनाएको छ ।