काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

६ पुष २०८२
अ+
अ-

काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सर्वसाधारणले अत्यधिक सास्ती भोग्दै आएको दाउन्ने खण्डको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझ स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री घिसिङले दाउन्ने खण्डमा भइरहेको निर्माण कार्यको प्रगति प्रति असन्तुष्टि जनाउँदै कामको गति तत्काल दोब्बर बनाउन निर्देशन दिए। उनले सडक विस्तारको काम आगामी जनवरी महिनाभित्र अनिवार्य रूपमा सम्पन्न गर्न सम्बन्धित ठेकेदार कम्पनी र आयोजनाका जिम्मेवार अधिकारीहरूलाई कडाइका साथ निर्देशन दिएका हुन् ।

यो खण्डमा निर्माण कार्य सुस्त गतिमा अघि बढ्दा दैनिक हजारौँ यात्रु तथा सवारी चालकहरू घण्टौँ जाममा पर्नु परेको, धुलो–हिलोका कारण यात्रा जोखिमपूर्ण बन्दै गएको भन्दै मन्त्री घिसिङले सर्वसाधारणको दुःखलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।

आवश्यक परे रात्रीकालीन काम, जनशक्ति र उपकरण थपेर भए पनि समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै निर्माण कार्यमा कुनै पनि बहाना स्वीकार्य नहुने उनले बताए । सडक निर्माणका क्रममा सुरक्षा व्यवस्थामा समेत विशेष ध्यान दिन सम्बन्धित निकायलाई मन्त्री घिसिङले सचेत पनि गराएका छन् ।

निरीक्षणमा मन्त्रालय, आयोजना कार्यालय तथा स्थानीय निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।