काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताएका छन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनका कारण खस्किएको व्यवसायीको मनोबल उकास्न सरकारले योजनाबद्ध काम गरिरहेको बताए।
सचिव घिमिरेले आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका लागि सरकारले नीतिगत क्षेत्रमा सुधारका महत्वपूर्ण काम गरिरहेको उल्लेख गरे।
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले निगम व्यवसायीसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न चाहेको बताए। उनले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउनका लागि आयल निगम प्रयासरत रहेको उल्लेख गरे।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्द, पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले भारतबाट ग्यास आयतका लागि पाइपलाइन विस्तार गर्नुपर्नेमा जोड दिए।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्र्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासङघका उपाध्यक्ष सुरकृष्ण वैद्यलगायतले व्यवसायीले भोग्नुपरेका समस्या सरकारले विस्तारै सम्बोधन गर्दै लैजानुपर्ने धारणा राखे।