काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्ति सुनेर उदेक लागेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वराष्ट्रपतिको भनाइमा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रति विश्वास किन डगमगायो? ’
यस्तै, उनले पार्टीको अनुमोदित नेतृत्वलाई छुट्टै भेला गरेर चुनौती दिने कार्यको पनि विरोध गरेका छन्। उनले तीन महिनामा तंग्रिएको एमालेको विरासतलाई पनि लोकतन्त्र बहालीमा लगाउनु पर्नेमा पुरानै मुद्दामा जानु अनुचित हुने बताएका छन्।
उनले एमाले महाधिवेशनपछि भएको छुट्टै भेलालाई पनि आँखा बिझाउने दृश्यका रूपमा टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘हिजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन। महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै ‘ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ। यसो हुनुहुँदैन।’