काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

बेथिति

कोसी प्रदेशका १६ अस्पतालमा एक अर्ब रुपैयाँका उपकरण प्रयोगविहीन

७ पुष २०८२
विराटनगर-१० मा रहेको कोसी प्रादेशिक अस्पताल तथा हृदय केन्द्रभित्र थन्किएको आईसीयू बेड। तस्बिरहरू : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। कोसी अस्पतालको आकस्मिक कक्षमा बिरामीहरूको रोइकराइ र तिनका आफन्तको दौडधुप छ। त्यही भीडमा दुई नम्बर बेडमा उदयपुरको रौतामाई गाउँपालिका–५ का ९० वर्षीय हर्कबहादुर राउत जीवन-मरणको दोसाँधमा संघर्ष गरिरहेका छन्। दम र मुटुका रोगी उनलाई सास फेर्न गाह्रो भएपछि चिकित्सकले तत्काल सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने सिफारिस गरे। तर, कोसी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा एउटा पनि आईसीयू बेड खाली थिएन।

त्यो दिनभरि उनी आकस्मिक कक्षमै अक्सिजनको सहारामा बसे। बल्लतल्ल भोलिपल्ट १ पुसको राति मात्र आईसीयू बेड पाए। यो नियति हर्कबहादुरको मात्र होइन, उनीजस्ता कैयौँ विपन्न नागरिकको साझा पीडा हो।

अस्पतालमा भेटिएका हर्कबहादुरका छोरा रामचन्द्र राउत यसअघि बुवालाई विराटनगरकै निजी अस्पतालमा १५ दिन राखेर उपचार गराउँदा दुई-तीन लाख रुपैयाँ सकिएको जनाउँछन्। “निजी अस्पतालमा दैनिक १५ हजारभन्दा बढी खर्च हुने। हामी सामान्य परिवारको मान्छेले त्यो खर्च धान्नै सकेनौँ,” उनी भन्छन्, “निजी अस्पतालहरूमा बुवाको उपचार गराउँदा अहिलेसम्म २०/२५ लाख सकियो। भएको सम्पत्ति रित्तिएपछि बुवालाई बचाउन कोसी अस्पताल ल्याएका हौँ।”

कोसी अस्पतालमा आईसीयूको दैनिक शुल्क एक हजार २०० रुपैयाँ छ। तर, विराटनगरका दुई मेडिकल कलेज र आधा दर्जन निजी अस्पतालमा त्यही सुविधाका लागि पाँच हजारदेखि १० हजार रुपैयाँसम्म तिर्नुपर्छ। “पैसा हुनेले त यहाँ बेड नपाए अन्तै लैजान्छन्, हामीजस्ता गरिबले आकस्मिक कक्षमा पालो पर्खेर बस्नु वा मर्नुको विकल्प छैन,” रामचन्द्र भन्छन्।

कोसी अस्पतालको आकस्मिक कक्षको रेड जोनमा आईसीयूका लागि पालो पर्खेका बिरामीहरू

हर्कबहादुरजस्तै ६४ वर्षीया गौरीदेवी साहको पीडा पनि कम छैन। विराटनगर घर भएकी उनी १ पुसको राति कोसी अस्पतालको आकस्मिक कक्षमा भर्ना भइन्। मधुमेह र उच्च रक्तचापले थलिएकी उनलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि चिकित्सकले तत्काल आईसीयू चाहिने बताए। तर, आईसीयू बेड खोज्दा उही जवाफ आयो– ‘बेड खाली छैन।’ उनी अहिले पनि आकस्मिक कक्षकै बेडमा अक्सिजनको भरमा छिन्।

विराटनगर महानगरपालिका-१५ रानीका ४० वर्षीय अजय मलिक निरन्तर बान्ता भएपछि ३ पुसको बिहान यही अस्पताल आइपुगे। चिकित्सकले उनको गम्भीर अवस्था देखेर आईसीयूको सिफारिस गरे। तर, आईसीयू बेड नहुँदा उनी आकस्मिक कक्षमै छटपटाइरहेका छन्।

३५० शय्याको कोसी अस्पतालमा १८ वटा मात्र आईसीयू बेड छन्। आकस्मिक कक्षमा ३५ बेड छन्। अस्पतालको ओपीडीमा दैनिक ८०० देखि एक हजार बिरामी आउने गरेका छन्। दैनिक १० देखि १५ जना गम्भीर प्रकृतिका बिरामी आईसीयूको पालो पर्खंदै आकस्मिक कक्षमा बस्न बाध्य छन्। अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुना झा भौतिक संरचना नहुँदा आईसीयूको क्षमता विस्तार गर्न नसकेको स्विकार्छिन्। “अस्पतालको भौतिक संरचनाको अभावका कारण आईसीयू बेड बढाउन सकिएको छैन, यही भएर आकस्मिक कक्षमा चाप बढेको हो,” उनी भन्छिन्।

कोसी अस्पतालमा आईसीयू बेड नपाएर बिरामी छटपटाइरहँदा त्यहाँबाट केवल तीन किलोमिटर दक्षिणमा विराटनगर-१० स्थित कोसी प्रादेशिक अस्पताल तथा हृदय रोग उपचार केन्द्रमा भने अत्याधुनिक आईसीयू बेडसहितका कैयौँ उपकरण प्रयोगविहीन अवस्थामा छन्। चार वर्षदेखि विशेषज्ञ सेवा बन्द रहेको साबिकको कोभिड अस्पतालको यो भव्य भवनभित्र ७४ वटा आईसीयू बेड, ३७ थान भेन्टिलेटर र १२० वटा जनरल बेड थन्किएका छन्।

कोसी प्रादेशिक अस्पताल तथा हृदय केन्द्रभित्र थन्किएका भेन्टिलेटर।

कोसी अस्पतालमा १८ वटा आईसीयू बेडका लागि तँछाडमछाड चलिरहँदा यहाँ ७४ वटा आईसीयू बेडमा माकुराले जालो लगाएको छ। नौ वटा आईसीयू उपकरण बिग्रिएका छन्। स्वास्थ्य कार्यालयका प्राविधिकका अनुसार यहाँ रहेका भेन्टिलेटर प्रतिगोटा ३० लाख रुपैयाँभन्दा बढी मूल्यका छन्।

साउन २०७७ मा कोभिड महामारी उत्कर्षमा हुँदा तत्कालीन प्रदेश सरकार, निजी क्षेत्र र दातृनिकायको पहलमा मात्र १० दिनमा यो अस्पताल खडा गरेर सञ्चालन गरिएको थियो। नागरिक केयर सेन्टर र स्विस सरकारको सहयोगमा नेसनल ट्रेडिङको पुरानो भवनलाई पुनर्निर्माण गरी तयार पारिएको अस्पतालमा अहिले ओपीडी सेवा मात्र सञ्चालनमा छ।

प्रदेशभर एक अर्बका उपकरण प्रयोगविहीन

स्वास्थ्य उपकरण थन्किने समस्या विराटनगरको मात्र होइन। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका अनुसार कोसी प्रदेशका १६ वटा अस्पतालमा ६२० थान स्वास्थ्य उपकरण थन्किएका छन्। तीमध्ये खरिद गरिएका र बट्टासमेत नखोलिएका उपकरण ४७५ थान छन्। थन्किएका यी उपकरणको मूल्य एक अर्ब रुपैयाँभन्दा धेरै रहेको आपूर्ति केन्द्रका प्रमुख डा. सुरेश मेहता जनाउँछन्। उनका अनुसार प्रयोगविहीन उपकरणमध्ये सबैभन्दा बढी आईसीयूसम्बन्धी छन्। “स्वास्थ्यका बायोमेट्रिक इन्जिनियरहरूसहितको टोलीले कोसी प्रदेशका अस्पतालहरूमा थन्किएका स्वास्थ्य उपकरणहरूको अभिलेखीकरण गरेको छ,” उनी भन्छन्।

जिल्ला अस्पताल ताप्लेजुङमा एक करोड आठ लाख रुपैयाँमा किनिएका पाँच वटा आईसीयू बेड र दुई थान भेन्टिलेटर गोदाममै छन्। पाँचथर अस्पतालमा दुई करोडका दुई आईसीयू बेड र चार थान भेन्टिलेटर जनशक्ति अभावमा प्रयोगविहीन छन्। इलाम, तेह्रथुम, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुंगामा पनि भेन्टिलेटर र आईसीयू उपकरण गोदाममा थन्किएका छन्। धनकुटामा दुई करोड रुपैयाँका चार भेन्टिलेटर र ६ वटा आईसीयू बेड तयार भएर पनि सञ्चालनमा छैनन्। विराटनगरस्थित प्रादेशिक अस्पताल तथा हृदयरोग उपचार केन्द्रमा सबैभन्दा बढी २१८ थान स्वास्थ्य उपकरण थन्किएको आपूर्ति केन्द्रले जनाएको छ।

विराटनगर महानगरपालिका-१० स्थित कोसी प्रादेशिक अस्पताल तथा हृदय केन्द्र

कोसी प्रदेशमा यी उपकरण कोभिड-१९ महाव्याधिको समयमा खरिद गरिएका हुन्। कोभिड नियन्त्रणका नाममा आर्थिक वर्ष २०७६/७७ देखि २०७८/८९ को तीन वर्षमा एक अर्ब ८३ करोड ३१ लाख रुपैयाँका उपकरण किनिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये आर्थिक वर्ष २०७६/७७ मा ६८ करोड २४ लाख, २०७७/७८ मा ७० करोड र २०७८/७९ मा ४४ करोड ९४ लाख रुपैयाँ खर्च भएको देखिन्छ। त्यतिबेला किनिएकामध्ये करिब एक अर्ब रुपैयाँका उपकरण थन्किएका हुन्।

कोसी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राई कोभिडको समयमा किनिएका तथा दातृनिकायबाट प्राप्त धेरै उपकरण प्रयोगविहीन रहेको स्विकार्दै व्यवस्थापनका लागि प्रयासरत रहेको बताउँछन्। “पुराना उपकरणलाई सञ्चालनमा ल्याउन हामीले नीति तथा कार्यक्रममै समावेश गरेर बजेट व्यवस्थापन गरेका छौँ। विशेषगरी कोसी प्रादेशिक अस्पताल र हृदय रोग उपचार केन्द्रमा देखिएको समस्या समाधान गर्न बजेट स्वीकृत भइसकेको छ। हामी कार्यान्वयनको अन्तिम चरणमा छौँ, अब चाँडै ती उपकरण पूर्णरूपमा सञ्चालनमा आउनेछन्,” उनी भन्छन्।

यस्तै, प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरे कोभिडकालमा स्वास्थ्य सेवाको उच्च माग हुँदा ल्याइएका उपकरण सामान्य अवस्थामा संरचनाको टुंगो नलाग्दा र स्पष्ट नीतिको अभावका कारण थन्किएको बताउँछन्। भन्छन्, “यसअघि हृदयरोग उपचार केन्द्र मात्र हुँदा कार्यदिशामा अन्योल थियो। यसलाई प्रादेशिक अस्पताल तथा हृदय रोग उपचार केन्द्रमा पुन:संरचना गरिएको छ, अब सबै उपकरण प्रयोगमा ल्याइनेछ।”

प्रादेशिक अस्पताल बनाउन निजीस्तरबाट मात्रै करिब तीन करोड रुपैयाँ सहयोग जुटेको थियो। स्विस सरकारले ९६ शय्याको बेग्लै भवन बनाएर दुई वटा अक्सिजन प्लान्ट, फोहोर व्यवस्थापन र वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिदिएको थियो। नागरिक केयर सेन्टरका उपाध्यक्ष भीम घिमिरे कोभिडको बेला दिएका करोडौँ रुपैयाँका उपकरण प्रयोगविहीन हुँदा दाताहरू दुःखी बनेको बताउँछन्। “सरकारले यस्तो गैरजिम्मेवारीपन देखाएपछि भविष्यमा आपत्‌कालीन अवस्था आए कसले सहयोग गर्छ?” उनी भन्छन्।

अक्सिजन प्लान्टमा रहेका सिलिन्डर। स्विस सरकारले बनाएको १५० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट कोसी प्रादेशिक अस्पतालमा थन्किएको छ।

प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री जीवन घिमिरे अस्पतालका अत्याधुनिक उपकरणमा खिया लाग्न थालेको देख्दा खिन्न छन्। “एकदुई वटा रोगको विशेषज्ञ सेवा सञ्चालन गरेको भए पनि सर्वसाधारणले राहत पाउँथे,” उनी भन्छन्।

प्रादेशिक अस्पतालमा १७५ जनाको दरबन्दी रहेकामा ४२ जना मात्र कर्मचारी छन्। पाँच जना विशेषज्ञ चिकित्सकले ओपीडी सेवा मात्र दिइरहेका छन्। चाँडै आकस्मिक कक्ष सञ्चालन गर्ने तयारी भइरहेको छ,” कोसी प्रदेशका स्वास्थ्यसचिव डा. घिमिरे भन्छन्।