काठमाडौँ। विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी केही नेता-कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य, गाउँपालिका पूर्वअध्यक्षदेखि बहालवाला उपाध्यक्ष, वडामा निर्वाचित जनप्रतिनिधि तथा स्याङ्जा, ओखलढुंगालगायत विभिन्न जिल्लाका एमाले नेता नेकपामा प्रवेश गरेका छन्।
नवप्रवेशीलाई पार्टी संयोजक पुष्पकमल दाहाल‚ सह-संयोजक माधवकुमार नेपालले टीका लगाएर स्वागत गरेको दाहालको सचिवालयले जनाएको छ।
पार्टी प्रवेश गर्नेमध्ये २०७४ को प्रदेशसभा निर्वाचनमा पर्साबाट निर्वाचित प्रह्लाद गिरी, अन्जु यादव, बिन्ध्यवासिनी गाउँपालिका पूर्वप्रमुख श्रीलाल साह कानू, वर्तमान उपाध्यक्ष ज्योति चौरसिया, नेता लक्ष्मण चौरसिया, हनिफ अन्सारी (पूर्व वडाध्यक्ष) तथा राजकुमार गुप्ता (सांसद प्रतिनिधिसभा) छन्।

यसैगरी विन्ध्यवासिनीका पूर्ववडाध्यक्ष सञ्जय चौहान, राप्रपा प्रदेश सदस्य चिन्टु तिवारी, एमाले महाधिवेशन प्रतिनिधि उत्तम तिवारी, वडाध्यक्ष प्रत्याशी अच्चेलाल मुखिया, बहुदरमाई नगरपालिकाका मेयर प्रत्याशी विपिन यादव, पूर्ववडाध्यक्ष रामरेखा सिंह, वडाध्यक्ष वीरेन्द्र यादव (वडा ७), राधा बैठा, मीनादेवी बैठा, पोखरिया नगरपालिकाका उपमेयर प्रत्याशी उपेन्द्र ठाकुर, स्याङ्जाका एमाले नेता इस्लाम मियाँ तथा ओखलढुंगाका एमाले नेता सीताराम गुरुङलगायत पनि पार्टी प्रवेश गरेको दाहालको सचिवालयले दाबी गरेको छ।
नवप्रवेशीलाई स्वागत गर्दै सह-संयोजक नेपालले नेपाली कम्युनिस्ट पार्टीमा सबैलाई सम्मान मिल्ने र पद तथा अवसर पाउन दबाब दिनु नपर्ने वातावरण रहेको आश्वासन दिए।
पार्टी प्रवेश गर्नेलाई बधाई दिँदै संयोजक दाहालले उचित समयमा उचित निर्णय गरेकामा धन्यवाद व्यक्त गरे। देश संकटमा परेको अवस्थामा राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्न सबै एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले यो प्रवेशले पार्टीलाई थप ऊर्जा प्राप्त भएको बताए।