काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गरेकी छन्।
सिंहदरबारमा आज (सोमबार) निर्वाचन आयोग, राजनीतिक दल, जेन-जी प्रतिनिधि तथा सरोकारभएकाबीचको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्त्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन्।
कार्कीले भनिन्, “निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ। सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ। सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ कुनै आतङ्ककारी वा अपराधीले हमला गर्न सक्दैन। त्यसैले मेरो अनुरोध छ, सबै निर्वाचनमा आइदिनुहोस्।”
उनले निर्वाचनमा सहभागी नभएका दललाई पनि शान्ति र लोकतन्त्रका लागि निर्वाचन प्रक्रियामा आउन आग्रह गरिन्। मुलुकका ११४ वटै राजनीतिक दल एकजुट भए देशमा अशान्तिको कुनै सम्भावना नरहने भन्दै प्रधानमन्त्री कार्कीले शान्ति कायम गर्न दल, जेनजी प्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यम र कर्मचारीलाई आह्वान गरिन्।
“सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पर्ने काम कसैले नगरौँ,” उनले भनिन्, “हामीसँग भएको समयलाई उपयोग गरेर निर्वाचनमा सहभागी होऔँ।”
प्रधानमन्त्री कार्कीले विगतमा भएका त्रुटि र गल्तीका कारण २३ र २४ भदौको घटना भएको भन्दै त्यसबाट उत्पन्न आवेग र आलोचनालाई सरकारले सामना गरिरहेको बताइन्। ती घटनाले जनतामा गहिरो प्रभाव पारेको उल्लेख गर्दै उनले सरकार र राजनीतिक दलले जनतालाई दिने सन्देश तथा परिवर्तनको उद्देश्यबारे गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याइन्।
“जेनजी र युवापुस्ताले खोजेको परिवर्तन बुझ्नु अहिलेको मुख्य प्राथमिकता हो। जनताले परिवर्तन चाहेका छन्, त्यसैले राजनीतिक दललगायत सबै सच्चिनैपर्छ,” प्रधानमन्त्री कार्कीले जोड दिँदै भनिन्, “हामी आलोचनाको पात्र बनेका छौँ। तर देशका लागि सहन र भोग्न तयार छौँ। देशमा शान्ति र स्थायित्व कायम गर्ने सर्तमा हामी सबैले आफ्ना स्वार्थ त्याग्नुपर्छ, त्यसैमा मुलक र हामी सबैको भलाइ छ।”