काठमाडौँ
००:००:००
८ पुष २०८२, मंगलवार

विश्वकप छनोट

पहिलो विदेशी प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका हर्षल पाठक नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट हुनेमा ढुक्क

८ पुष २०८२
नेपाली महिला क्रिकेट टोलीकी कविता जोशी, कप्तान इन्दु बर्मा, कविता कुँवर र नवनियुक्त प्रशिक्षक हर्षल पाठक
अ+
अ-

पुरुषसरह नेपाली महिला क्रिकेट टोली पनि इतिहास कोर्ने अभियानमा एक कदम मात्र पछाडि छ। दुई महिनाअघि पुरुष टोली तेस्रोपल्ट टी-२० विश्वकपमा छनोट भएको थियो।

यही सफलताबाट प्रेरित महिला खेलाडी पनि आउँदो महिनादेखि आफ्नै देशमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरको तयारीमा छ।

यसमा सफल भएको खण्डमा महिला क्रिकेट टोली पनि इङ्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा हुने विश्वकपमा छनोट हुनेछ। यही अभियानका लागि नेपाल क्रिकेट संघ (क्यान)ले भर्खरै मात्र भारतका हर्षल पाठकलाई प्रशिक्षकको भूमिकामा घर भित्र्याइसकेको छ।

क्यानले पुरुषतर्फ आधा दर्जनभन्दा बढी विदेशी प्रशिक्षकलाई प्रयोग गरिसकेको छ। तर, महिला टिमको हकमा पहिलोपल्ट विदेशी प्रशिक्षकलाई निम्त्याइएको हो।

हर्षल पाठक अन्तर्राष्ट्रिय क्रिकेटका परिचित अनुहार हुन्। उनले प्रशिक्षणमा २१ वर्ष बिताइसकेका छन्।

पुरुषतर्फ नेपालले २०१४, २०२४ र २०२६ गरी तीनपल्ट विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। यी उपलब्धि हात पार्दा तीनैपल्ट विदेशी प्रशिक्षक संकटमोचक भएर उभिएका थिए।

महिलातर्फ पनि विदेशी प्रशिक्षक पहिलोपल्ट प्रयोग गर्न लागिएको हो। अब हेर्न बाँकी छ– हर्षल पाठकको नियुक्तिले नेपाली महिला क्रिकेटलाई कुन स्थानमा उभ्याउनेछ?

महिला एसिया कपका दौरान नेपाली महिला क्रिकेट टोली

महिला टोलीले अहिलेसम्म ठूलो प्रतियोगिताको अनुभव बटुलेको छैन। सन् २००७ मा एसीसी महिला च्याम्पियनसिपको उपविजेता बनेयता करिब १८ वर्ष एसोसिएट राष्ट्रसँगको क्रिकेटमै अलमलिएको देखिन्छ।

यसअघि महिला टोलीलाई प्रशिक्षण दिएका मनोज कटवाल भन्छन्, “यसपालि सम्भावना बलियो छ।” गत मेमा थाइल्यान्डको बैंककमा नेपाल ग्लोबल क्वालिफायरमा छनोट हुँदा उनी प्रशिक्षक थिए।

पाठकको आगमनले टिममा सकारात्मक वातावरण तयार हुने कटवालको विश्वास छ। “ग्लोबल छनोटमा पुग्नु आफैँमा ठूलो उपलब्धि हो। तर, यो अन्त्य होइन, सुरुआत हो,” उनी भन्छन्।

सफल प्रशिक्षक, असफल नेपाल

हर्षल पाठक अन्तर्राष्ट्रिय क्रिकेटका परिचित अनुहार हुन्। उनले प्रशिक्षणमा २१ वर्ष बिताइसकेका छन्। महाराष्ट्रलाई दुई दशकपछि भारतको घरेलु रणजी प्रतियोगिताको फाइनल पुर्‍याएका हर्षलले हरमनप्रित कौरजस्ता स्टार खेलाडीलाई व्यक्तिगत प्रशिक्षण दिएका छन्। थाई महिला टोलीलाई सन् २०१९ को विश्वकप र एसिया कपको सेमिफाइनलसम्म पुर्‍याउन उनको भूमिका महत्त्वपूर्ण मानिन्छ।

नेपालले यसपल्ट आफ्नै घरेलु दर्शकमाझ अर्को इतिहास रच्ने अवसर पाएको छ।

यही अनुभवका आधारमा उनलाई क्यानले पत्याएको छ। उनी भन्छन्, “नेपाली टोलीसँग असाधारण प्रतिभा र साहस छ।” नेपाल र थाइल्यान्डले एकैपल्ट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका हुन्। तर, थाइल्यान्डले उनको प्रशिक्षणमा सफलताको उचाइ चुम्यो। नेपालले भने निरन्तरता दिन सकेन।

नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठक। तस्बिर : नेपाल फोटो लाइब्रेरी

नेपाली महिला टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता ‘एसीसी महिला च्याम्पियनसिप’ मा उपविजेता बनेर उत्कृष्ट सुरुआत गरेको थियो। त्यो सफलतापछि क्रिकेट विश्लेषकहरूको भनाइ थियो– नेपालको महिला टोलीले पुरुषभन्दा पहिला टी-२० विश्वकप खेल्नेछ। तर, त्यो विश्लेषण आफैँमा गलत साबित भइसकेको छ। महिला टोलीको सबैभन्दा ठूलो दुर्भाग्य, क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले निलम्बन गर्नु थियो। त्यतिबेला महिला टोली उत्कृष्ट लयमा थियो। तर, निलम्बनपछि प्राथमिकतामा पुरुष क्रिकेट मात्र पर्‍यो।

यद्यपि, सीमित स्रोत र साधनबीच पनि महिला टोलीले आफूलाई बलियो रूपमै उभ्याइरहेको छ। यसबीच महिला टोलीले दुईपटक एसिया कप खेल्यो। तीनपटक एसीसी महिला च्याम्पियनसिपको सेमिफाइनलसम्म पुग्यो। नेपालको असफलतामा हरेकपल्ट थाइल्यान्ड र यूएई नै तगारो बन्दै आएका छन्।

पछिल्ला तीन छनोटमध्ये दुईमा पाठकले नै सम्हालेको थाइल्यान्डसँग नेपाल निर्णायक खेलमा पराजित भएको छ। यसपल्ट पनि नेपाल २० मेमा थाइल्यान्डको बैंककमा भएको एसियाली छनोटको सुपर ‘थ्री’ को अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले पराजित भएको थियो। तर, आईसीसीले अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा हुने विश्वकपमा २० टोली सहभागी गराउने निर्णय गरेसँगै नेपालले पनि ग्लोबल छनोटमा स्थान बनाउने अवसर प्राप्त गरेको हो। के छ अबको लक्ष्य?

महिला क्रिकेट टोलीका सहायक प्रशिक्षक मनोज कटवालसँग पूजा महतो

नेपालले यसपल्ट आफ्नै घरेलु दर्शकमाझ अर्को इतिहास रच्ने अवसर पाएको छ। नेपाली टोलीले १८ जनवरीमा पाठककै पूर्वटोली थाइल्यान्डविरुद्ध खेल्दै छ। नेपाल र थाइल्यान्ड समूह ‘बी’ मा छन्। यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाबे र नेदरल्यान्ड पनि छन्। यीमध्ये सबैभन्दा बलिया टोली भनेकै थाइल्यान्ड र जिम्बाबे हुन्। यी दुई टोलीले समान एकपल्ट विश्वकप खेलिसकेका छन्।

उनको यो दर्शनले महाराष्ट्रलाई रणजीमा पुनरागमन गराउन सफल भयो। थाइल्यान्डजस्तो कमजोर टोलीलाई विश्वकप खेल्न सक्ने बनायो। यसपल्ट नेपालको पालो छ। के उनी नेपाली महिला क्रिकेट टोलीलाई विश्वकपको यात्रामा समावेश गराउन सफल होलान्?

नेपाललाई पनि यी टोलीले जस्तै विश्वकप खेल्न सुपर ‘सिक्स’ मा पुग्नैपर्ने दबाब हुनेछ। त्यसमा पनि उत्कृष्ट चारमा रहन सके नेपालले पहिलोपल्ट विश्वकपको ढोका उघार्नेछ। तर, के नेपाली टोली त्यहाँसम्म पुग्न सक्षम छ त?

यस विषयमा पाठक भन्छन्, “नेपाल कमजोर टोली होइन।” उनी नेपाली टोलीमा ब्याटिङ, बलिङ र सन्तुलन सबै पक्षमा प्रतिस्पर्धा गर्न सक्ने आधार तयार भइसकेको बताउँछन्। “नेपालसँग गुणस्तरीय स्पिन आक्रमण छ, भरपर्दो मध्यम गतिका बलर छन् र ब्याटिङ लाइनअपमा निरन्तर सुधार हुँदै छ,” उनी भन्छन्, “अब आवश्यक कुरा भनेको दबाबमा सही निर्णय लिन सक्ने आत्मनिर्भर खेलाडी तयार गर्नु हो।”

पाठकको भनाइ स्पष्ट छ– मैदानमा खेलाडीहरूले आफैँ सोच्न र निर्णय लिन सक्नुपर्छ। कहिले आक्रामक ब्याटिङ गर्ने र कहिले रक्षात्मक हुने भन्ने निर्णय प्रशिक्षकले होइन, खेलाडीले लिनुपर्छ। त्यसैले अभ्यास सत्रमै उनी यसबारे खेलाडीलाई सिकाइरहेका हुन्छन्। उनका अनुसार क्रिकेट भनेको निरन्तर सिकाइको प्रक्रिया हो। अनुभव, कमजोरीको पहिचान, नयाँ योजना र पुनः अभ्यास नै सफलताको सूत्र हो।

क्यानले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा नवनियुक्त प्रशिक्षक पाठक। तस्बिर : नेपाल फोटो लाइब्रेरी

ग्लोबल छनोटजस्तो ठूलो मञ्चमा मानसिक पक्ष सबैभन्दा निर्णायक मानिन्छ। उनी मान्छन्– कठिन परिस्थितिमा विकल्पले खेल जिताउँछ। त्यसैले खेलाडीहरूले बाहिरी दबाबलाई ‘ह्वाइट नोइज’ का रूपमा बेवास्ता गर्नुपर्छ। योसँगै वर्तमानमा केन्द्रित हुनुपर्नेमा उनी जोड दिन्छन्।

यही सोचले नेपाललाई ग्लोबल छनोटजस्तो स्तरमा टिकाइराख्न मद्दत गर्ने उनको ठम्याइ छ। उनको यो दर्शनले महाराष्ट्रलाई रणजीमा पुनरागमन गराउन सफल भयो। थाइल्यान्डजस्तो कमजोर टोलीलाई विश्वकप खेल्न सक्ने बनायो। यसपल्ट नेपालको पालो छ। के उनी नेपाली महिला क्रिकेट टोलीलाई विश्वकपको यात्रामा समावेश गराउन सफल होलान्?