काठमाडौँ
००:००:००
८ पुष २०८२, मंगलवार

८ पुष २०८२
शेखर कोइराला।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी २१ फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताएका छन्।

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले मंगलबार गरेको कार्यक्रममा उनले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ति नभएको बताए।

“चुनावमा जान कांग्रेस तयार छ, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ। पाँच हजार कैदीबन्दी कारागारबाहिर छन्, ७०० भन्दा बढी प्रहरीका हातहतियार लुटिएका छन्,” उनले भने‚ “चुनावका नाममा धाँधली गरेर जित्ने छुट कसैलाई छैन। प्रहरीको मनोबल उच्च बनाउनुपर्छ।”

निर्वाचन सम्पन्न गरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने अहिलेको अवस्था रहेको उल्लेख गर्दै कोइरालाले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको बताए। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउँदा र क्रियाशील सदस्यताको फाराम गाउँगाउँसम्म पठाउन ढिला हुँदा महाधिवेशन केही ढिला हुने सम्भावना रहेको उनको भनाइ छ। नेपालको राष्ट्रियता कमजोर भएका कारण गत २४ भदौको परिस्थिति आएको उनले बताए। कोइरालाले राजनीतिक स्थिरता अहिलेको मुख्य प्राथमिकता भएको जिकिर गरे।

उनले कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर राणालगायत नेताबारे अध्ययन-अनुसन्धान आवश्यक रहेको भन्दै उक्त अनुसन्धानका लागि आफ्ना तर्फबाट साथ र सहयोग हुने उल्लेख गरे। आफूले सुशासन र भ्रष्टाचारको अन्त्यलाई प्रमुख मुद्दा बनाउँदै आएको स्मरण गर्दै अहिलेका जेन-जी पुस्ताले पनि त्यही खोजेको उनको भनाइ थियो।

कार्यक्रममा संविधानविद् विपिन अधिकारीले किसुनजी बीपी कोइरालाको सहयात्री, प्रजातान्त्रिक नेता, लेखक र सिद्धान्तनिष्ठ राजनीतिक व्यक्ति भएको बताए। उनले कृष्णप्रसाद भट्टराई दूरदर्शी नेता भएको पनि उल्लेख गरे।

ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले किसुनजी सरल र आदर्शवादी व्यक्ति भएको बताए। किसुनजीको व्यक्तित्व विशाल भए पनि तीन निर्वाचनमा पराजय भोग्नु दुःखद् भएको उनको भनाइ थियो। उनले नेपालको राजनीति मूल्य मान्यता खस्कँदै गएको उल्लेख गर्दै नोट र भोटको सम्बन्ध तोड्नुपर्ने धारणा राखे।

सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रका अध्यक्ष लोकेश ढकालले निष्ठा, सदाचार मूल्य-मान्यता र आदर्श भएका नेता किसुनजीलाई कांग्रेसले सम्झन नसेकेको बताए। कांग्रेसले नीति र नेतृत्व परिवर्तन गरेर आगामी निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा रवीन्द्र उप्रेती र उनकी पत्नी देवा उपाध्यायद्वारा लिखित ‘किसुनजी प्रेरणादायी प्रसंग’ नामक पुस्तकको विमोचनसमेत गरिएको थियो।