काठमाडौं। यस वर्षको वेदप्रसाद लोहनी स्वर्ण पदकबाट रविन थापा पुरस्कृत भएका छन्। नेपालमा सिमेन्ट ढलान निर्माण प्रविधि सुरुआत गर्ने नेपाली इन्जिनियर लोहनीको एक सय ११औं जन्मजयन्तीको अवसरमा पुलचोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको लाइब्रेरीमा मंगलबार आयोजित कार्यक्रममा थापालाई पुरस्कृत गरिएको थियो।
थापाले २०८० को एमएस्सी स्ट्रक्चरल इन्जिनियरिङमा सर्वोत्कृष्ट अंक प्राप्त गरेका थिए।
नेपाली इन्जिनियरिङका दिग्गजको नाममा दिइने यो पुरस्कारबाट आफू सम्मानित हुन पाउँदा खुसी लागेको थापाले प्रतिक्रिया दिए। “मलाई थप हौसला प्राप्त भएको छ। आफ्ना गुरुहरूको अगाडि सम्मान थाप्न पाउनु गौरवको कुरा हो”, उनले भने।
थापालाई वेदप्रसादका जेठा छोरा नेपालका पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले पुरस्कृत गरेका थिए। यस अवसरमा क्याम्पसका निवर्तमान डिन विनोदकुमार भट्टराई, क्याम्पस प्रमुख सञ्जय उप्रेती, विभागीय प्रमुख रामकृष्ण रेग्मीको पनि उपस्थिति थियो।
वेदप्रसादकी कान्छी बुहारी उषा लोहनीले कार्यक्रममा ससुुराको योगदानको चर्चा गरेकी थिइन्।