अनुभूति

जापान समय हो, सेकेन्ड सेकेन्ड र मिनेट मिनेटको हिसाब गरेर रफ्तार लिन सिकाउँछ। बामे सर्नेलाई हिँड्न र हिँड्न सक्नेलाई दगुर्न सिकाउँछ।

१२ पुष २०८२
अ+
अ-

ओनिगिरीको डल्लो मुखमा च्यापेर स्टेसनतर्फ कुदिरहेका छन् युवकहरू। काँधको किताबको झोला बिसाउन नपाउँदै कपालको जुरो मिलाउँदै हतारहतार खाइस्या (कम्पनी)तिर कुदिरहेका छन् युवतीहरू। जापानमा प्रत्येक मान्छेले बाँच्ने जिन्दगी ‘सिनखानसेन’ (बुलेट ट्रेन) हो। जिन्दगीको रफ्तार तीव्र हुनैपर्छ यहाँ।

हजारौँ विद्यार्थीका हस्याङफस्याङ गर्दै कुदिरहेका पैतालाहरूमध्ये एक जोडी मेरा पनि हुन्। यी पाइला घाम अस्ताउँदै गर्दा कोठाबाट काममा निस्कन्छन्। थाहा छैन, घाम उदाउँदै गर्दा कोठा छिर्ने यी पाइला कहाँ कहाँ पुगेर अस्ताउनेछन्!

चार वर्षअघि

फ्याट्टै जापानको भिसा लाग्यो। के गरूँ, कसो गरूँ भयो।

भिसालाई भाग्यसँग जोडेर हेरेँ। तर, खोज्दै जाँदा यी दुईको परपरसम्म पनि कुनै सम्बन्ध नहुँदो रहेछ।

गाउँमा बालाई फोन गरेँ। आमासँग बोलेँ। आमाले भन्नुभयो, ‘छिट्टै घर आइजा।’

एउटा डब्बाको खाना मिलाइनसक्दै अर्को डब्बाको खाना आइपुग्थ्यो, त्यो मिलाउनुअगावै कुदेर पर पुगिहाल्थ्यो।

मनमनै बाले बनाएको पुरानो घर भत्काएँ। आफ्नै पौरखले ठूलो छप्पडवाला घर बनाएको कल्पना गर्न पुगेछु। सपना न हो, देख्न त पाइयो!

प्रेमिकालाई मेसेज गरेँ। गोजीमा सुको नहुँदा उसले च्यापेर केही रुपैयाँ राखिदिन्थी।

१२ अप्रिल २०२१

चारैतिरबाट पहाडले घेरेको सहरमा छु। अलिक पर देखिने पहाडको थुम्को गाउँको झल्को मेटाउन काफी छ। तर, छेउछाउमा रहेका गगनचुम्बी महलहरूले गाउँको अनुभूतिबाट तानेर परदेशमा पछार्थे।

जसरी सात नदी मिलेर सप्तकोसी बन्छ, सात रङ मिलेर इन्द्रेणी बन्छ, त्यसै गरी मेरा सपना पनि अनगिन्ती छन्। मिश्रित छन्। हो, म नदीजस्तै फराकिलो र इन्द्रेणीजस्तै रंगीन सपना सजाएर जापान छिरेको हुँ।

यहाँ आएको एक महिनापछि गाक्को (स्कुल)ले खाना बनाउने कम्पनीमा काम लगाइदियो। आठ घण्टा उभिएर काम गर्नुपर्ने। पहिले पहिले लाग्थ्यो, उभिन के गाह्रो होला र! एक-दुई दिन त जसोतसो उभिएँ। खुट्टा दुख्यो। अर्को दिन निकै गाह्रो भयो। खुट्टाभित्र भतभती पोल्न थाल्यो, झिरले च्वासच्वास रोपेजस्तो। कम्पनी छिरेको दुई दिनमै सपना गलत साबित भए।

काम थियो- बट्टामा लाइनमा बग्दै आउने खाना मिलाउनुपर्ने। झट्ट हेर्दा सजिलो लाग्छ है काम? यही सोच्नुभयो होला तपाईंले। तर, सोचेजस्तो पनि होइन।

खाना लाइनका लाइन कुदेर आउने रहेछ। त्यसलाई जापानी भाषामा ‘रेन’ भनिँदो रहेछ। प्लास्टिकको भाँडामा खाना असरल्ल भएर आउने। नमिलेको खाना मिलाएर जस्ताको तस्तै छाडिदिनुपर्ने। अगाडिका मान्छेहरूको काम अर्कै हुन्थ्यो। एउटाले मासुका डल्ला हाल्थ्यो। अर्कोले अचार हाल्थ्यो। लाइनको अन्तिममा पुगेर खाना प्याकिङ भएर बजार पुग्थ्यो। समस्या के भने, एउटा डब्बाको खाना मिलाइनसक्दै अर्को डब्बाको खाना आइपुग्थ्यो, त्यो मिलाउनुअगावै कुदेर पर पुगिहाल्थ्यो।

हातमा भएको र लाइनमा आउने खानाको सन्तुलन मिल्न छाड्यो। मुछ्दामुछ्दा औँला बाउँडिन थाले। भित्र करकरी खान थाल्यो। नाडी असह्य दुख्न थाल्यो। हत्तु भएपछि केही लागेन। आएको खाना सबै छाडिदिएँ। परबाट बुच्यो (कम्पनीमा काम लगाउने मान्छे)ले खै के के जाति भट्याइरह्यो। भाषा बुझिनँ। मबाट गल्ती भयो भन्ने चाहिँ बुझेँ। यति बुझ्न भाषा नचाहिने रहेछ।

सक्दै सकिनँ। एक महिना नपुग्दै काम छाडिदिएँ। 

अर्को काम खोज्न थालेँ। भेटिनँ। चिनेजानेका साथीहरूका आफन्त यतै पो छन् कि भनेर फोन घुमाएँ। कोही रहेनछन्। कैयौँ मानिससँग हारगुहार गरेँ। १५/१६ वटा त मेन्सेचु (अन्तर्वार्ता) नै धाएँ। तर, काम भेटिएन।

नजिकको स्टेसनमा कुनै पनि ठूला कम्पनी थिएनन्। ४०/४५ मिनेट ट्रेन चढेर, बसको यात्रा गरेपछि मात्रै ठूलाठूला कम्पनी भेटिने।

हिँडेर गाक्को पुग्न सकिँदैनथ्यो। साइकल किनेँ। बिहान-बेलुका त्यसैमा घुम्न थालेँ। गाउँघरको याद आए डाँडामा पुगेर सहर नियाल्थेँ।

अर्को एक महिना बित्यो, काम भेटिएन। नेपालबाट ल्याएको पैसा सकिइसकेको थियो।

घरमा फोन गर्ने आँट आएन। काम पाएको छैन कसरी भन्नु? ‘बा, मैले यहाँ आउनुअघि ठाउँका बारेमा अलिलि बुझ्नुपर्थ्यो, तर बुझिनँ’ कसरी भन्नु? कन्सल्टेन्सीले थपक्क जता हाल्दियो त्यतै आएको मान्छे म। अलिलि किताबहरू पढेको छु, अलिलि संसार बुझेको छु भन्ने घमन्ड थियो। यहाँ आएपछि छिनभरमै चकनाचुर भयो।

नेपालबाट कमाइ मात्र हिसाब गरेर आउने मान्छे यहाँ आएपछि पक्कै लड्छ। आफूलाई संसारकै ठूलो गणितज्ञ ठान्ने विद्यार्थी पनि यो जिन्दगीको हिसाब मिलाउन नजानेर ट्वाँ पर्छ पर्छ!

झुटका शब्द जुटेपछि बाआमालाई फोन गर्ने हिम्मत पनि जुट्यो। भनिदिएँ, ‘परीक्षापछि मात्र काम पाइन्छ।’ परीक्षाको मिति तीन सातापछि रहेको बताएँ। बा-आमाले पत्याउनुभयो। 

मसँग भाषाको सामान्यभन्दा सामान्य ज्ञान थिएन। ‘काम छ? म काम गर्न चाहन्छु,’ आएको तीन महिना भइसक्दा जाबो यति दुई-चार शब्द पनि भन्न सक्दिनथेँ।

नेपालमा छँदा भाषालाई कहिल्यै महत्त्व दिइनँ। समयलाई सर्लक्कै फर्काउन पाए पनि हुन्थ्यो। जापानीसरह संवाद गर्नसक्ने भाषा बनाएर आउँथेँ।

एकपटक फोन संवाद हुँदा कुरैकुरामा जापान बस्ने साथीले त भनेकै थियो, “नआऊ भन्दिनँ, सम्भावना भएको देश हो, तर भाषा चाहिँ राम्रो बनाएर मात्र आऊ है।”

उसले मेरो भलो सोचेर भनेको थियो। मैले जान्ने पल्टिएर ‘उतै आएर पढुँला’ भनेको थिएँ। अहिले ती दिन झल्झली सम्झिरहेको छु। पछुताइरहेको छु। कम्तीमा भाषा भएको भए संवाद गर्न सक्ने थिएँ। यस्तो समस्या छ भनेर भन्न पनि मलाई त भाषाकै समस्या भयो।

जापानमा वार्षिक तीन लाख हाराहारी विद्यार्थी भित्रिन्छन्। भाषाको ज्ञान नहुनेले आएपछि कामका लागि अरूकै भर पर्नुपर्ने हुन्छ। मैले जस्तै जान्ने पल्टिएर नपढी आउनेहरूले मैले झैँ काम होइन, ठक्कर पाउँछन्।

***

तीन महिना बित्यो। चौथो महिनाबाट जसोतसो नजिकैको रेस्टुरेन्टमा काम पाएँ। काममा रमाउन थालेँ।

काम भनेको काम हो, भाँडा माझ्ने होस् कि शौचालय सफा गर्ने। यही चिन्तनमा आफूलाई घोटेँ। यही चिन्तनअनुसार भाँडा घोटेँ।

नेपालमा छँदा वरको सिन्का पर कहिल्यै सारिनँ। तर, यहाँ सिंगो बाँस बोकेर हिँडेझैँ कर्मठ बनेँ। दिनमा लगातार चार घण्टा भाँडा धुनुपर्ने काम थियो। कहिलेकाहीँ रेस्टुरेन्ट साह्रै व्यस्त हुने। कचौरा र थालको चाङ लाग्ने। मधुरो बत्ती बल्ने कोठामा मेरो उचाइभन्दा अग्ला भाँडाकुँडाको थुप्रो देखेर रिँगटा छुट्थ्यो।

लोथ हुन्जेल गलेर सुत्दा गाउँ पुगेको सपना देख्थेँ। हरिया खेतबारी डुलेको सपना देख्थेँ। भोलिपल्ट जोसका साथ काम गर्थें।

***

एकदिन स्कुलले मेसेन्जरमा नोटिस छाड्यो। बाँकी रहेको दुई महिनाभित्र तीन लाख ५० हजार येन बुझाउनुपर्ने भयो। मेरा नौनाडी गले। कहाँबाट ल्याउने होला यत्रो पैसा? साथमा एक येन पनि छैन। जापान आएपछि चुहिएको खल्ती अझैसम्म चुहिइरहेकै छ। खल्ती र साथीभाइबीच एउटा सम्बन्ध रहेछ। खल्ती चुहिँदै जाँदा साथीभाइ छुट्दै जाँदा रहेछन्।

सामाजिक सञ्जालमा मुस्कुराएको फोटो देखेर उसको खुसी र आरामको जिन्दगीको मापन गर्छौं। त्यो मुस्कानलाई जीवित राख्न ऊ कति रात निदाएको छैन, बुझ्दैनौँ।

स्कुल फीबाहेक कोठा भाडा, खाने खर्चको पनि पिरलो थियो। तर, पैसा छैन। नेपालबाट कमाइ मात्र हिसाब गरेर आउने मान्छे यहाँ आएपछि पक्कै लड्छ। आफूलाई संसारकै ठूलो गणितज्ञ ठान्ने विद्यार्थी पनि यो जिन्दगीको हिसाब मिलाउन नजानेर ट्वाँ पर्छ पर्छ!

झसंग भएँ। जापान आउँदा लागेको ऋण तिर्ने भएर घरमा एक रुपैयाँ पनि पठाउन सकेको थिइनँ। घरबाट उल्टै पैसा पठाइदिनु कसरी भन्नु? जापानमा रहेका गाउँका कहिल्यै नबोलेका साथीहरूलाई फोन गरेँ। एउटाले मुखै फोरेर भन्यो, “स्कुल फी तिर्न नसक्ने मान्छे किन आउनु जापान?”

नमीठो लाग्यो। जसरी पनि फी बुझाउनु नै थियो। खोजखाज गरेर तिरेँ। हप्तामा २८ घन्टा मात्र काम गरेर बाँच्न धौधौ पर्‍यो। भोलि सबै ठीक हुन्छ भन्ने सोचेर आफूलाई ढाडस दिएँ।

सेन्मोन जाने बेलासम्म आफैँलाई निखारेर सबै पैसा चुक्ता गरेँ।

***

जापानमा बर्सेनि भित्रिने तीन लाख विद्यार्थी ठूलाठूला सपना बोकेर आउँछन्। जापान आएपछि बुझेँ, मनको झोलाभरि सपनाको भारी बोकेर विदेश छिर्न नहुने रहेछ। मासिक दुई-तीन लाख बचाउँछु भन्ने सपना, एक-दुई वर्षमा नयाँ घर बनाउँछु भन्ने रहर, छिट्टै ऋणमुक्त हुने चाहना, यी सपना र रहरका बीच परिस्थितिले आफूलाई भकुन्डोजस्तै बनाउँदो रहेछ। सपना एकातिर, आफू कतातिर। अपवादमा कतिपय मानिस होलान् पनि, जसले यहाँ आएको एकाध वर्षमै सोचेका सबै कुरा पाएका छन्। तर, बाँकी धेरैको जिन्दगी कसिकसाउ र कामचलाउमै बित्छ।

हामीमध्ये धेरैजसो देखासिकीमा विदेश छिर्छौं। अभिभावकका आँखा पनि चम्किहाल्छ, ‘फलानो त जापान गएर गाउँमा चारतले घर बनायो, हाम्रा केटाकेटी पनि त्यतै पठाइदिऊँ कि क्या हो!’ हामी फलानोले बनाएको ठूलो घर देख्छौँ, तर फलानोले त्यो घर बनाउने पैसा कमाउन कति हड्डी घोटेको छ, कति मूल्य चुकाएको छ, बुझ्दैनौँ। सामाजिक सञ्जालमा मुस्कुराएको फोटो देखेर उसको खुसी र आरामको जिन्दगीको मापन गर्छौं। त्यो मुस्कानलाई जीवित राख्न ऊ कति रात निदाएको छैन, बुझ्दैनौँ।

घर छाड्ने दिन आमाको मुख हेर्नै सकिरहेको थिइनँ। के भनूँ भनूँ भइरहेको थियो। सास घाँटीमा आएर टक्क अडिएजस्तो भएको थियो।

हेर्दा विदेशमा रमाइरहेको देखिए पनि थाक्दै गएको छ कि? चट्ट मिलेको देखिने जिन्दगीमा कतै केही नमिलेको पो छ कि? सामुन्नेमा त हाँसिदियो, भित्रभित्रै पीडाले पाकिरहेको छ कि? परिवार र आफन्तजनले ख्याल गरौँ। सन्चोबिसन्चो सोधौँ।

नेपालबाट आउँदा ठूलाठूला सपना ताकेर आएँ। सोचेअनुसार सपना हासिल भएन।

दुःखी हुने भनेको सपना देख्नेहरू नै रहेछन्। ठूलो सपना, ठूलै दुःख। ससाना सपना, सानो दुःख र धेरै सुख। यति बुझ्न मैले बिरानो सहरमा एक वर्ष बिताउनुपर्‍यो। 

नेपालबाट आउँदा अलिकति दु:ख बुझेर आउनुपर्ने रहेछ। अलिकति भाषा जानेर आउनुपर्ने रहेछ। भाषा जानेमा यहाँ आधाजति समस्या आफैँ समाधान हुने रहेछन्।

***

एक बिहान बेस्सरी पेट दुख्यो। एक्लो हुँदा उसै पनि सबैभन्दा बढी घर सम्झन्थेँ। परिवारको याद आइरहन्थ्यो। परदेशमा शारीरिक पीडाले सताएपछि झनै हुँडलिएर आयो बा-आमाको याद।

घर छाड्ने दिन आमाको मुख हेर्नै सकिरहेको थिइनँ। के भनूँ भनूँ भइरहेको थियो। सास घाँटीमा आएर टक्क अडिएजस्तो भएको थियो। आमा खै के के जाति फलाकिरहनुभएको थियो, सुनिनँ। एउटा उमेरदार छोरो परदेश हिँड्न लाग्दा आमालाई सम्झाउनुपर्ने थियो, उल्टै मलाई सम्झाइरहनुभएको थियो। 

बा केही बोल्न सक्नुभएन। भन्न मन थियो, ‘परदेश गएर मन लगाएर पढ्छु, सकेको धन कमाउँछु र देश फर्कन्छु।’ भन्नै सकिनँ। यति भनिसक्दा पक्कै म रोइसकेको हुन्थेँ। 

बा-आमालाई नराम्रो लाग्छ भनेर फोन गरिनँ। दाजुलाई फोन गरेँ। तर, कुरा गर्दागर्दै भक्कानो फुट्यो। रुन लाज मानिनँ। दाजुसँग म रोइदिन सक्छु। साथीजस्तै लाग्छ। बोल्दाबोल्दै आँसु खसिहाले। दाजुले केही हुँदैन भनेर सम्झायो। ‘पैसाको अभाव भए म पठाउँला’ भन्यो। उसले बोलेका एक एक शब्दले राहत दिए। आउँदा लागेको ऋणको ब्याज अहिलेसम्म उसैले तिरिरहेको छ।

मनमा मलम लाग्दा दुखाइ पनि अलिकति घटेजस्तै भयो। बीसको उन्नाइस भएँ। खासमा पेट दुखाइ यथावत् थियो।

हस्पिटल गएँ। पत्थरी जम्मा भएको रहेछ। हप्तादिन औषधि खाएपछि निको भयो।

अहिले (२०२५ डिसेम्बर)

मैले परिश्रमको पाठ यहीँ आएर सिकेको हुँ। दुःख गर्न जानेको हुँ। जस्तोसुकै काम गर्नुपर्ने रहेछ, जस्तो पनि अवस्थालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने रहेछ भनेर जापानले सिकायो।

जापान दुःखको विम्ब होइन। मान्छेहरूले भनेजस्तो दु:खैदु:खको सागर होइन। काम गर्न सक्ने आँट भएका र हिम्मत नहार्नेका लागि जापान उर्वर भूमि हो।

जिन्दगी अनगिन्ती पहाड नै पहाडले छेलिएको अर्को ठूलो पहाड रहेछ। एउटा पहाड चढिसकेँ भनेर दंग पर्‍यो, तर अगाडि बढ्दै जाँदा त्योभन्दा अग्ला अग्ला पहाड भेटिने रहेछन्। अक्कर भीर र चट्टानको बाटो हिँड्दा दु:ख होला, भोक र प्यासले रन्थनी छुटाउला, तर जुन दिन आफूले पुग्न खोजेको अन्तिम पहाड (गन्तव्य) भेटिन्छ, त्यो दिन तपाईंले पछाडि फर्केर हेर्दा हिँडेर आएको दूरी हेरेर खुसीले उफ्रिनुहुनेछ।

सम्झिरहेको छु त्यो साथीलाई, जो काममा दुई मिनेट ढिलो पुग्दा कामबाट निकालिएको थियो। सम्झिरहेको छु मित्र अनित कटुवाललाई, जो सँगसँगै संघर्ष गरौँला भनेर आएको थियो, पछि ओफुरो (बाथटब)मा बस्दाबस्दै हामी सबैलाई छाडेर गएको थियो। हार्दिक श्रद्धाञ्जली मित्र!

मैदानमा खेल्न पसेका खेलाडी थियौँ सबै। कोही खेल्दाखेल्दै घाइते भयौँ। कोही खेल्नै नसक्ने गरी घाइते भएर मैदानबाहिर पुग्यौँ। 

जापान समय हो। सेकेन्ड सेकेन्ड र मिनेट मिनेटको हिसाब गरेर रफ्तार लिन सिकाउँछ। बामे सर्नेलाई हिँड्न सिकाउँछ। हिँड्न सक्नेलाई दगुर्न सिकाउँछ। यहाँ हरेक उमेरसमूहले काम गर्छ। सबैले कामलाई प्राथमिकतामा राख्छन्। आफ्नो खर्च आफैँ टार्छन्।

अर्को कुरा, जापान दुःखको विम्ब होइन। मान्छेहरूले भनेजस्तो दु:खैदु:खको सागर होइन। काम गर्नसक्ने आँट भएका र हिम्मत नहार्नेका लागि जापान उर्वर भूमि हो। पौरख गर्ने हो भने जहाँ जुनसुकै बेला जति पनि फलाउन सकिन्छ।

आउनुस्, मिहिनेत गरौँ। इरास्याइमासे!

– कोबे, जापान।