काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१० पुष २०८२
अ+
अ-

काठमाडौँ। ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई अस्थायी रूपमा रिहा गरिएको र बुधबार राजधानी ब्रासिलियामा शल्यक्रियाका लागि भर्ना गरिएको अधिकारीहरूले बताएका छन्।

बोल्सोनारोको शल्यक्रियाका लागि उनलाई बिहीबार अस्पताल लैजाँदा केही काला कारको लस्करलाई मोटरसाइकलले पहरा दिँदै डीएफ स्टार अस्पतालको पार्किङ ग्यारेजमा प्रवेश गरेको एएफपीका पत्रकारहरूले बताए।

उनलाई अस्पतालमा कति समय राख्नुपर्ने हो अझै स्पष्ट छैन। गत हप्ता एक विशेषज्ञ समूहको समीक्षाले यो शल्यक्रिया चिकित्सकीय रूपमा आवश्यक रहेको बताएपछि उनको उपचारको लागि सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डी मोराइसले जेलबाट बाहिर निस्कन अनुमति दिएका थिए।

सन् २०१८ को राष्ट्रपतीय चुनावी अभियानका क्रममा ७० वर्षीय बोल्सोनारोको पेटमा छुरा प्रहार भएपछि उनी यससँग सम्बन्धित स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । हालै, उनलाई छालाको क्यान्सर भएको पनि पत्ता लागेको थियो।

उनको पेटको मांसपेशी च्यातिएपछि कम्मर र तिघ्राबिचको भाग (ग्रोइन) क्षेत्रमा फैलिएको ‘इन्गुइनल हर्निया’ को उपचारको लागि बिहीबार उनको शल्यक्रिया हुनेछ।

बोल्सोनारोको गत अप्रिलमा डीएफ स्टारमा अर्को शल्यक्रिया गरिएको थियो। गत नोभेम्बरको अन्त्यतिरदेखि २७ वर्षको जेल सजायका लागि उनले ब्रासिलियास्थित संघीय प्रहरी मुख्यालयमा जेल जीवन बिताउँदै आएका छन्।

सन् २०१९ देखि २०२२ सम्म पदमा रहेका उनलाई राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पदभार ग्रहण गर्नबाट रोक्ने र सत्ता कायम राख्ने योजनाको नेतृत्व गरेको आरोपमा दोषी ठहर भएपछि सेप्टेम्बरमा सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो।

उनले आफू राजनीतिक उत्पीडनको सिकार भएको घोषणा गर्दै आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन्। मोराइसले पूर्व राष्ट्रपतिलाई अस्पताल भर्ना गर्ने क्रममा सुरक्षाका लागि महत्त्वपूर्ण तैनाथीका लागि पनि आदेश दिएका छन्।

दुई प्रहरी अधिकारीलाई मोबाइल फोन र कम्प्युटर राख्न निषेध गरिएका अस्पतालको कोठाबाहिर २४ सै घण्टा राखिने भएको छ।बोल्सोनारोकी पत्नी मिशेललाई अस्पताल बसाइका बेला उहाँसँगै बस्न अनुमति दिइएको छ तर छोराहरूलाई भने अस्पतालमा जान दिइने छैन।

रियो दि जेनेरियोका पूर्व काउन्सिलर कार्लोस बोल्सोनारो अस्पतालको प्रवेशद्वारमा पुगेर आफ्ना पिताको स्वास्थ्य लाभको कामना गरेका थिए।

“यदि मैले उहाँको एक झलक पाउन सफल हुँदा यो एक अद्भुत क्रिसमसको उपहार ठान्नेछु,” उनले पूर्वराष्ट्रपति अस्पताल पुग्नुभन्दा केही समय अघि पत्रकारहरूसँग भने।

उनका जेठा छोरा सिनेटर फ्लाभियो बोल्सोनारोले हालै सन् २०२६ को अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।

गत हप्ता कन्जरभेटिभ बहुमतको संसदले बोल्सोनारोको कारावासको अवधि घटाएर दुई वर्षमा झार्न सक्ने कानुन पारित गरेको थियो।

राष्ट्रपति लुलाले भने कानुनलाई भिटो लगाउन सक्ने बताएका थिए। अन्तिम निर्णय संसद्को हुनेछ, किनकि यसलाई राष्ट्रपतिको भिटोलाई उल्लङ्घन गर्ने अधिकार छ।