काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

राजनीति

रास्वपा, कुलमान र जेन-जी लगायतलाई सघाउन गरे आग्रह

१० पुष २०८२
बिहीबारको राजनीतिक भेटघाटअघि बालेन्द्र शाह। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले बिहीबार भेटघाट तीव्र बनाएपछि नेपाली राजनीति एकाएक तरंगित बनेको छ।

यसअघि गत ७ पुसको राति सहकारी ठगी आरोपमा लामो समय हिरासतमा बसेर धरौटी बुझाएर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन साहबीच भेटपछि राजनीति रोचक बनेको थियो। तर, आज (बिहीबार) सहयोगी कुमार बेनको ललितपुर, ज्वागलस्थित घरमा आफ्नै पहलमा मेयर बालेनले लगातार १२ घण्टा रविसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई‚ उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, पूर्वसांसद अमरेशकुमार सिंह, कांग्रेस नेता सुनील शर्मा‚ रास्वपा नेता शिशिर खनाल‚ असिम साह‚ डीपी अर्याल‚ नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी‚ डा. भगवान कोइरालालगायतसँग वार्ता गर्न भ्याए।

बालेनसँगको भेटपछि रविको मुहारमा मुस्कान झल्किएको देख्न सकिन्थ्यो। मिडियासँग खुलेर कुरा गर्ने रविले आज संक्षिप्त प्रतिक्रिया मात्र दिए। सञ्चारकर्मीलाई “मेरो अनुहारले के भन्छ ?” भन्दै प्रतिप्रश्न गरेका रविले वार्ता राम्रो भएको र बाँकी समयले बताउने भन्दै बाहिरिएका थिए।

बालेन-रविको झन्डै दुई घण्टा वार्तामा २१ फागुनका लागि तय निर्वाचनमा सहकार्य गरेर कसरी अघि बढ्न सकिन्छ भन्नेमा केन्द्रित थियो। भेटमा रविले पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे कुरा राखेका थिए। यसमा थप सल्लाह गर्ने र पुन: भेट्ने तय भएको थियो।

बिहीबार नै जेन-जी अगुवाहरूसँगको भेटमा मेयर बालेनले आफू पार्टी राजनीतिमा आएको सहकार्यका लागि आग्रह गरे। जेन-जी अगुवा रक्षा बम‚ युजनराज भण्डारी तथा सुधन गुरुङलगायत सबैलाई उनले एकजुट भई आफूलाई सघाउन आग्रह गरे। “म पार्टी राजनीतिमा आएँ। अब सहकार्य गरौं। सबै जेन-जी एक भएर आउनुस्,” बालेनको भनाइ उद्धृत गर्दै भण्डारीले भने।

गत २३ र २४ भदौमा जेन-जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएसँगै कतिपयले बालेन नै नयाँ प्रधानमन्त्री बन्नुपर्ने माग राखे पनि उनी स्वयंको समर्थनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन्।

चुनावी सरकारको प्रमुख नबनेका बालेन पार्टी राजनीतिमा आउने अनुमान धेरैलाई थियो। तर, यो संशयकै रुपमा थियो। पछिल्लो भेटघाटले भने यो संशय मेटिएको छ।

बालेनले रवि र कुलमानसँग सहकार्य गर्न सके आफू राजनीतिमा अघि बढ्ने र मुलुकको नेतृत्वको बागडोर लिने सम्मको तयारी गरिरहेको बताइन्छ। नयाँ शक्तिको बृहत् सहकार्यले मात्र पुराना दलहरुलाई परास्त गर्न सकिने उनके बुझाइ छ।

के भन्छन् बाबुराम?
बिहीबार नै बालेनसँग भेटेपछि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकारहरूलाई नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्छ भन्ने आफ्नो १० वर्ष पहिलेदेखिको सपना भएको बताएका थिए।

“मेरो १० वर्षदेखिको सपना हो, नयाँ र वैकल्पिक मिल्नुपर्छ। यसै विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएको थियो र म यहाँ आएको हुँ,” उनले भने, “विचार र एजेन्डामा सबै मिल्नुपर्छ सबै एक भएर जानुपर्छ।” भेटमा बालेनले आफू राजनीतिमा आएको र कस्तो सहयोग गर्न सक्नुहुन्छ भनेर बाबुरामसँग सोधेका थिए।

चुनावी सरकारको प्रमुख नबनेका बालेन पार्टी राजनीतिमा आउने अनुमान धेरैलाई थियो। तर, यो संशयकै रुपमा रहेको थियो। पछिल्लो भेटघाटले भने यो संशय मेटिएको छ।

बालेनको ‘सफल चाल’
स्वतन्त्र उम्मेदवारकै रुपमा काठमाडौँ महानगरपालिकाको मेयरमा चकित पार्दै चुनिएका बालेन कहिले बोली त कहिले कामका कारण चर्चित छन्। मेयरका रुपमा उनको प्रशासनिक शैली धेरैका लागि अलोकतान्त्रिक लागे पनि फोहोर व्यवस्थापन, सडक सुधार र युवाकेन्द्रित नीतिले उनको लोकप्रियतामा कमी आएको देखिँदैन।

राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने योजना पहिलेदेखि नै रहे पनि जेन-जी आन्दोलनमा आफ्नो निर्णायक भूमिका पुष्टि गर्नु बालेनको सफल चाल मान्नेहरु पनि छन्। तर, महानगरको मेयरबाट देशकै प्रधानमन्त्री बन्ने उनको महत्वाकाक्षांमा नयाँ शक्तिका रुपमा उदाएका रास्वपालगायतका दर्ता भएका नयाँ दलहरुले स्वीकार गर्छन् ? के जेन-जी आन्दोलनमा ठूलो षड्यन्त्र देखिरहेका पुराना दलहरुले आफू पराजित हुनसक्ने चुनावमा जान सहजै तयार हुन्छन् ? प्रश्नहरु कायमै छन्।