सात सवाल
पेसाले वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठ ग्लोबल इन्स्टिच्युट अफ इन्टरडिसिप्लिनरीका संस्थापक निर्देशक हुन्। अमेरिकी विश्वविद्यालय म्यास्याच्युसेट्स बोस्टनबाट विद्यावारिधि गरेका उनी विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाबाट पुरस्कृत छन्। कला-साहित्यमा रुचि राख्ने उनी फोटोग्राफीका सोखिन हुन्। आफूले खिचेका तस्बिरहरू व्यवस्थित रूपमा संग्रहसमेत गर्ने श्रेष्ठसँग नेपालन्युजको सात सवालका लागि गरिएको फोटोग्राफी संवाद:
तस्बिर खिच्न केले आकर्षित गर्छ?
आफैँमा कथा बन्ने सामर्थ्य भएका कुराहरूको तस्बिर खिच्न मन पर्छ। चाहे त्यो जीवनशैलीको होस्, ‘ल्यान्डस्केप’ होस् या ‘पोर्ट्रेट’।
तपाईंले प्रयोग गरेको सबैभन्दा पुरानो क्यामेरा कुन थियो?
सन् २००० तिर पहिलो पटक Nikon FE10 क्यामेराबाट फोटो खिच्न थालेको हुँ। दुर्भाग्यवश, त्यो क्यामेरा कोठाबाटै चोरी भयो। लगत्तै त्यही मोडेलको एसएलआर फिल्म क्यामेरा किनेँ, जुन अहिले पनि मसँग छ।

तस्बिर : उत्तमबाबु श्रेष्ठ
तस्बिर खिच्नकै लागि कतै यात्रा गर्नुभएको छ कि?
तस्बिरै खिच्न भनेर नेपालका थुप्रै ठाउँमा यात्रा गरेको छु। तस्बिर खिच्नकै लागि एकदुई दिन थप छुट्याएर अर्को ठाउँसमेत जाने गरेको छु। जस्तै, केन्या जाँदा नैरोबी राष्ट्रिय निकुञ्जमा पुगेको थिएँ। भेनिस, रोम र प्रागलगायत सहरहरू घुम्न र तस्बिर खिच्नकै लागि पुगेँ।

तस्बिर : उत्तमबाबु श्रेष्ठ
व्यावसायिक फोटोग्राफर भएको भए तपाईं कस्ता तस्बिर खिच्नुहुन्थ्यो?
पोर्ट्रेटमा मेरो ढंग छैन, ल्यान्डस्केप नै खिच्थेँ होला। मानिसको जीवनशैली पनि मेरो रुचिको विषय हुन सक्थ्यो।

तस्बिर : उत्तमबाबु श्रेष्ठ
अहिलेसम्म कति जति तस्बिर खिच्नुभएको छ र कसरी संग्रह गर्नुभएको छ?
सन् २००४ बाट २०२४ सम्म १.४ टेराबाइट फोटो खिचेछु। डिजिटल फोटोहरू खिचेको समय, स्थान र घटनाअनुसार लाइटरुममा राखेर किवर्डअनुसार ट्याग गरेको छु। सबै फोटो कम्तीमा दुई वटा ब्याकअप हुने फरक फरक हार्ड ड्राइभमा राखेको छु।

तस्बिर : उत्तमबाबु श्रेष्ठ
आफैँले खिचेकामध्ये मन परेको तस्बिर कुन हो?
थुप्रै छन्। पानी लिन रित्तो ग्रागी बोकेर जाँदै गरेकी एक महिला र ब्याकग्राउन्डमा हिमाल भएको तस्बिर। जुन पुरस्कृत पनि भएको थियो। तर, पहिला खतरै खिचियो भन्ने लागेको तस्बिर पछि सामान्य लाग्दो रहेछ।

तस्बिर : उत्तमबाबु श्रेष्ठ
लेखकले भन्न नसक्ने कुन कुरा तस्बिरले बोल्छ?
पक्कै। हामी मानव प्रजाति ‘भिजुअल’ प्राणी भएकाले काल्पनिक संसारमा बाँच्न सक्ने र कलाको परख गर्न सक्ने क्षमता भएकाले तस्बिरले धेरै कुरा बोलेजस्तो लाग्छ।