पुरातत्त्व
दुई हजार वर्ष पुरानो विराट दरबार क्षेत्र जोगाउने पुरातत्त्व विभागको जमर्को
विराटनगर। विराटनगरको ट्राफिक चोकबाट करिब १० किलोमिटर दक्षिण लागेपछि नेपाल-भारत सीमानजिकै एउटा शान्त गाउँ आउँछ– भेडियारी। भेडियारी विराटनगर महानगरपालिका वडा नम्बर- १८ मा पर्छ। यहीँ पर्छ ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको ‘विराट राजाको दरबार’। अहिले यही दरबार क्षेत्रको संरक्षणमा पुरातत्त्व विभागको टोली जुटेको छ।
लामो समय उपेक्षामा रहेको विराट दरबार क्षेत्रको संरक्षणमा विभागले चासो देखाएपछि भेडियारीमा चहलपहल बढेको छ। दरबारको संरक्षणमा यसपालि विभागले १२ लाख रुपैयाँ लगानी गरेको छ। १२ पुसको दिउँसो भेडियारीको खुला चौरमा केही मानिस संरक्षण कर्ममा सक्रिय देखिन्थे। १५ मंसिरदेखि यहाँ पुरातत्त्व विभागले संरक्षणको काम अघि बढाएको हो। यस ठाउँमा इसापूर्व दोस्रो शताब्दी (शुंगकाल) र इसाको पहिलो शताब्दी (कुषाणकाल)का सम्पदा रहेको पुष्टि भएको छ।

घाम, पानी र मानवीय कारणले जीर्ण बनेका त्यहाँका प्राचीन इँटालाई जोगाउने प्रयास गरिएको छ। पुरातत्त्वविद् हिमालकुमार उप्रेतीका अनुसार दरबारका प्राचीन पर्खालहरूको पुनर्निर्माण थालिएको छ। उनी भन्छन्, “हामीले पुरानो र नयाँ सम्पदा छुट्ट्याउन बीचमा ‘जियो टेक्सटाइल’ नामक विशेष कपडा बिछ्याएका छौँ। यसले विराट दरबार क्षेत्रको अध्ययन गर्न चाहनेहरूले कुन भाग मौलिक हो र कुन भाग पछि थपिएको हो भनेर सजिलै चिन्न सक्छन्।”

यहाँका सम्पदालाई पानी नछिर्ने बनाउन माथिबाट ‘क्यापिङ’ को गरिएको छ। दरबारको निर्माणमा आधुनिक सिमेन्ट र बालुवा वर्जित छ। प्राचीन शैली जोगाउन सिमेन्टको साटो परम्परागत सामग्री सुर्खी (इँटाको धुलो), चुना र बालुवाको मिश्रणयुक्त सामग्रीको प्रयोग गरिएको छ। यहाँ प्रयोग भइरहेका इँटाहरू पनि साधारण छैनन्। ३२ देखि ४० सेन्टिमिटर लामा इँटाहरू काठमाडौँबाट ल्याइएका हुन्। यी इँटाले कुषाणकालीन सामग्रीको झल्को दिने विश्वास गरिएको छ। पुरातत्त्व विभागका अधिकृत हरिप्रसाद भुसाल नेतृत्वको टोलीले पुस दोस्रो सातासम्म दरबारको पहिलो चरणको संरक्षण र पुनर्निर्माणको काम सक्ने लक्ष्य लिएको छ।

२०२७ सालमा वरिष्ठ पुरातत्त्वविद् तारानन्द मिश्रले गरेको उत्खननले विराट दरबार क्षेत्रमा दुई चरणमा मन्दिर निर्माण भएको तथ्य पत्ता लागेको थियो। भेडियारीका स्थानीय संरक्षणकर्ता कमलकिशोर यादवले यहाँ फेला परेका खेतीपातीका औजार, घरायसी सामान र ढुंगाका आकृतिहरू संग्रह गरेर राखेका छन्।

त्यसरी संरक्षण गरिएका सामग्रीले यस क्षेत्रको प्राचीनता र सभ्यताको अध्ययन गर्न सहायता पुग्न सक्छ। पुरातत्त्व विभागका अधिकृत भुसाल भन्छन्, “विराट दरबार संरक्षण कार्य सम्पन्न भएपछि भेडियारी क्षेत्र एउटा ‘खुला संग्रहालय’ (ओपन म्युजियम)का रूपमा विकसित हुनेछ। यहाँ आइपुग्ने जोकोहीले दुई हजार वर्ष पुराना इँटा देख्न पाउनेछन्।”

