व्यापार
जुम्लीलाई आम्दानी, मधेसीलाई हिमाली जडीबुटी
जनकपुरधाम। हिमाल, पहाड र तराईको त्रिवेणी जहाँ नाचगान, किनमेलदेखि सम्बन्धसम्म गाँसिन्छ। यो जनकपुरधाम उपमहानगरपालिका नजिकैको दृघिकासर पोखरीको पूर्वपट्टि रहेको पहाडियागाछीको कथा हो।
साहित्यकार राजेन्द्र बिमलका अनुसार २०२० सालसम्म यो ठाउँमा थुप्रै रूख थिए। खास गरेर पूर्वी पहाडबाट राई, गुरुङ, मगरहरू आउँथे र सुन्तला, जडीबुटी भण्डारण गरी राख्थे अनि जनकपुर आसपास बेच्थे। २०४६ सालसम्म त्यहाँ गाछी हुन्जेल यो क्रम निरन्तर थियो। बिस्तारै गाछी काटिँदै गयो, सहरीकरणले छोप्दै गयो र यो क्रम कम हुँदै गयो।
करिब २५ वर्षयता भने पहाडियागाछीमा हुम्ला र जुम्लाका स्थानीय जडीबुटी लिएर आउन थालेका छन्। मंसिर लागेदेखि हुम्ला-जुम्लामा जाडो सुरु हुने भएकाले ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’ भनेझैँ जाडो पनि छलिने, आम्दानी पनि हुने मेसो उनीहरूलाई मिल्ने गरेको छ।
यो मौसमी बसाइँसराइ यत्तिमै सीमित छैन। खाद्य संकट टार्ने र सांस्कृतिक अन्तर्घुलन तथा सम्बन्ध गाँस्ने अवसर पनि हो। हिमाली जिल्लाबाट जडीबुटी बोकेर मधेस झर्ने उनीहरू मधेसबाट भने खाद्यान्न किनेर जाने गरेका छन्। मधेस झरेका जुम्लीहरूमध्ये केहीले चाहिँ गलैँचा र ऊनीका लुगासमेत ल्याएका हुन्छन्। कोही कोही जडीबुटी बेच्दै भारतसम्म पस्छन् त कोही गाउँ गाउँ छिरेर खेतीकिसानी सिक्छन्।
बीचमा मधेस आन्दोलनपछिका केही वर्ष उनीहरूको आगमन घटे पनि, अहिले फेरि बाक्लै संख्यामा उनीहरूलाई देख्न सकिन्छ। परिवारसहित आएका उनीहरू सामूहिक भोजन गर्दै सामूहिक वास बस्ने गर्छन्। सामान बेचेर साँझपख एकै ठाउँ भेला भएर लोकभाका भट्याउन थाल्छन्। स्थानीयहरू पनि उनीहरूको रमाइलो हेर्न बेलाबखत पुग्ने गर्छन्।

जुम्लाबाट जडीबुटी बेच्न आएकाहरू एकै ठाउँमा बसेर खाना पकाएर खाँदै। तस्बिर : वीरेन्द्र रमण
जुम्लाको तिला गाउँपालिका धारलीका नौशेर सार्की ६० वर्षका भए। उनको जिउभरि जडीबुटीका साना साना प्लास्टिकका पोका हुन्छन्। उनले मधेसका गाउँ गाउँ डुलेर जुम्लाबाट ल्याएको जडीबुटी बेच्न थालेको आठ वर्ष भयो। उनीसँगै छोरा पनि जडीबुटी बेचिरहेको भेटिन्छ। फर्किंदा तराईको अन्नपात लैजाने उनी यसैगरी घर चलेको बताउँछन्।
यसपटक सार्कीसहित करिब १४ जनाको टोली मधेस झरेको छ। यही समूहमा छन्, जुम्लाका तिला गाउँपालिकाकै दलजित नेपाली। नौ वर्षयता बर्सेनि मधेस झर्ने गरेका उनी दिनमा ५०० रुपैयाँसम्म आम्दानी हुने बताउँछन्। जुम्लामा यो समय चिसो र हिउँले खेतीपाती र कामधन्दा नहुने भएकाले मधेस झर्नु नै उत्तम विकल्प भएको उनी सुनाउँछन्।
उनका अनुसार टोलीले जुम्लाबाट जिम्बु, शिलाजित, हिङ, सतुवा, खिरांगलो, भोटे खैर, कम्राज, घोडेमर्चा, जेठीमधु, बिरेनुन, माझी फल, चिराइतो, चुरन, पदमचाल, देवदार तेल, यार्सागुम्बालगायत जडीबुटी ल्याएको छ।
जडीबुटीबाहेक उनीहरूले पोते, माला, औँठी, कपुर, बाला, नङ काट्ने र कनकर्नोजस्ता सामग्रीसमेत ल्याएका छन्।

व्यापारमा निस्कनुअघि वासस्थानमा समान मिलाउँदै। तस्बिर : वीरेन्द्र रमण
टोलीका अर्का सदस्य दन्तवेरी नेपालीका अनुसार गर्मी याममा उनीहरूलाई जंगल पस्न दिइन्छ जहाँ उनीहरू जडीबुटी संकलन गर्छन्। तीमध्ये धेरैजसो त संकलन गरेको ठाउँबाटै व्यापारीले किन्छन्। बचेखुचेको जडीबुटी बोकेर उनीहरू मधेस झर्छन्।
जनकपुरधाम उपमहानगरपालिका-१३ की श्यामादेवी साह हिमाली जडीबुटी शुद्ध हुने गरेकाले आफूले जुम्लाबाट आएका व्यापारीसँगै किन्ने गरेको बताउँछिन्। उनी एक वर्षका लागि चाहिने जडीबुटी एकैपटक किन्छिन्।
यसरी पहाडियागाछी कसैका लागि आम्दानीको स्रोत त कसैका लागि हिमाली जडीबुटी पाउने छहारी बनेको छ।