अर्थतन्त्र
मालवाहक कन्टेनर पर्याप्त नछाडिँदा नेपाली व्यवसायी र राजस्व प्रभावित
गत २४ असारमा बाढीले गरेको क्षतिका कारण रसुवागढी नाका बन्द भएपछि नेपाली व्यापारीहरूले तातोपानी नाका हुँदै सामान आयात गरिरहेका छन्। तर, चिनियाँ पक्षले नेपाली मालवाहक कन्टेनर प्रशस्त नछाड्दा तातोपानी नाकाबाट हुँदै आएको व्यापार प्रभावित भएको छ।
केही समययता चिनियाँ पक्षले प्रशस्त मात्रामा कन्टेनर नछाड्दा नेपाली व्यवसायीहरूले खरिद गरेर ल्याएका सामान खासा क्षेत्रमै अलपत्र परेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउँछन्। चिनियाँहरूले धमाधम कन्टेनर नछोड्दा एक महिनायता तातोपानी नाका हुँदै सामान ल्याउन असहज भएको उनको भनाइ छ। “खासादेखि न्यालमसम्मको बाटोमा सामान लोड भएका करिब ५०० वटा कन्टेनरको लाइन लागेको छ,” कार्की भन्छन्, “चिनियाँ पक्षले दैनिक पाँचदेखि १५ वटासम्म कन्टेनर मात्र छाडिरहेको छ, कहिले त दुईतीन वटा मात्रै छाडेर बन्द गरिदिन्छ।” यसअघि सामान्य अवस्थामा दैनिक ३५/४० वटा मालवाहक कन्टेनर तातोपानी नाका आइपुग्थे।
चिनियाँ पक्षले खासामा पूर्वाधार निर्माणको काम भइरहेको भनेर पर्याप्त मात्रामा कन्टेनर पास हुन नदिएको व्यवसायीहरू बताउँछन्। २०७२ सालको भूकम्पमा खासादेखि न्यालमसम्मका संरचना भत्किएपछि तातोपानी नाकाबाट हुने नेपाल-चीन व्यापार प्रभावित हुँदै आएको थियो। अहिले चीन सरकारले खासामा सबै पुराना संरचना हटाएर नयाँ बनाइरहेको छ। सडक विस्तारको काम पनि भइरहेको छ। ती पूर्वाधार निर्माणको काम भइरहँदा कन्टेनर रोक्नैपर्ने अवस्था नरहे पनि चिनियाँ पक्षले यसो गर्नुको कारण बुझ्न नसकिएको कार्की बताउँछन्।
वर्षा याममा बाढीले बाटो बगाउँदा लामो समय तातोपानी नाकाको व्यापार प्रभावित भएको थियो। त्यसबेला पनि कन्टेनरहरू रोकिँदा फलफूल कुहिएर फाल्नुपरेको व्यवसायीहरूले बताएका थिए। अहिले पनि सिजनका सामान नेपाली बजारमा ल्याउन नसकिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष अशोक श्रेष्ठ बताउँछन्। “जाडोका लागि ल्याइएका लत्ताकपडा बाटोमै अलपत्र परेका छन्। सिजनमा ल्याउनुपर्ने फलफूल बाटोमै कुहिने अवस्था छ,” उनी भन्छन्।
बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि ६ महिनायता अवरुद्ध रसुवागढी नाका १ जनवरीबाट खुल्ने भएको छ।
मालवाहक कन्टेनर पर्याप्त मात्रामा किन नपठाएको भनेर चिनियाँ पक्षले स्पष्ट जवाफ दिएको छैन। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाल चुडालले यही समस्याबारे गत साता चिनियाँ समकक्षीसँग बैठक गरेका थिए। उक्त बैठकमा थोरै कन्टेनर पठाउनुको स्पष्ट कारण उनीहरूले नबताएको चुडाल बताउँछन्। भन्छन्, “पूर्वाधार निर्माणको काम भइरहेको र विद्युतीय गाडी धेरै आएको कारण समस्या भएको हुन सक्छ भन्छन्। तर, यही कारण हो भनेर स्पष्ट भन्दैनन्।”
सामान लोड भएका कन्टेनर चाँडै पठाउने वातावरण बनाउन चिनियाँहरूले विद्युतीय गाडी आइतबार र बुधबार मात्रै पठाउने प्रस्ताव गरेका छन्। तातोपानी भन्सार कार्यालयले भने आइतबार र बुधबारको सट्टा शनिबार विद्युतीय गाडी पठाउन भनेको छ। तर, यो विषय चिनियाँ भन्सार कार्यालयले मात्रै निर्णय गर्न नसक्ने भएकाले नेपाली पक्षको प्रस्ताव कार्यान्वयन हुने/नहुने टुंगो छैन। चुडाल भन्छन्, “हामीले गरेको प्रस्तावबारे चिनियाँ भन्सार कार्यालयले मात्रै निर्णय दिन नसक्ने रहेछ, त्यहाँको माथिल्लो निकायले निर्णय गरेपछि मात्रै कार्यान्वयन हुन्छ। उनीहरू सबै कुरा स्पष्ट रूपमा खुलेर भन्दा पनि भन्दैनन्।”
चिनियाँ पक्षले कन्टेनर प्रशस्त मात्रामा नपठाउँदा तातोपानी भन्सार कार्यालयको राजस्व संकलन लक्ष्य नै प्रभावित भएको छ। चालु आर्थिक वर्षको ६ महिना पूरा हुन लाग्दा लक्ष्यको करिब २६ प्रतिशत मात्रै राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत चुडाल बताउँछन्। “अहिलेसम्म २४ अर्ब ४७ करोड राजस्व संकलन गर्ने लक्ष्य थियो, तर ६ अर्ब ४२ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ,” उनी भन्छन्, “पुस महिनामा संकलन गर्नुपर्ने कुल राजस्वमध्ये ५४ प्रतिशत मात्रै संकलन भएको छ।”

तातोपानी नाकामा चीनतर्फ अड्किएका कन्टेनर। तस्बिर : सीजीटीएन नेपाली
गत वर्षा याममा बाढीले बाटो बगाउँदा लामो समय तातोपानी नाकाबाट हुने व्यापार प्रभावित भएको थियो। नेपालतर्फ भोटेकोसी नदीले अरनिको राजमार्ग विभिन्न ठाउँमा बगाउँदा बाटो अवरुद्ध भएको थियो। त्यसबेला नेपाली व्यवसायीहरूले आयात गरेका फलफूलका कन्टेर चिनियाँ भूभागमै लामो समय राख्नुपरेको थियो। “बाटो अवरुद्ध हुँदा तीनचार करोड रुपैयाँको फलफूल भन्सार जाँच पास नभई बिग्रियो। गत महिना पनि करोडौँ मूल्यका फलफूल फाल्नुपर्ने अवस्था आएको व्यवसायी साथीहरूको गुनासो छ,” व्यवसायी एवं नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठ भन्छन्।
चिनियाँ पक्षबाट भएको अवरोध खुलाउने पहल गर्न अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई व्यवसायीहरूले अनुरोध गरेका छन्। तर, नेपालका उच्च सरकारी निकायले गरेको पहलले पनि काम नभएको अध्यक्ष कार्कीको भनाइ छ। उनी भन्छन्, “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मान्छेले पहल गरेका छौँ भन्छन्। तातोपानी भन्सार कार्यालयले पनि आफ्नो तहबाट पहल गरेकै छ, तर माथिल्लो सरकारी निकायले पहल गर्दा पनि व्यापार सहजीकरण हुन सकेको छैन।”
खुल्दै रसुवागढी नाका
बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि ६ महिनायता अवरुद्ध रसुवागढी नाका १ जनवरीबाट खुल्ने भएको छ। चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आगामी १ जनवरीबाट रसुवागढी नाका सञ्चालन हुने जानकारी गराएको छ। भन्सार विभागका निर्देशक किशोर बर्तौला भन्छन्, “चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आगामी १ जनवरीबाट रसुवागढी नाका सञ्चालन हुने जानकारीसहितको कूटनीतिक नोट पठाएको रहेछ। १३ पुसबाट रसुवाका बासिन्दालाई रसुवागढीबाट केरुङ जान दिइएको छ।”
रसुवागढी नाका सञ्चालनमा ल्याउने तयारीबारे रसुवाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पन्थी भन्छन्, “केरुङमा सवारीसाधन भएका सवारी चालक र मेसमा काम गर्ने कर्मचारी १३ पुसबाट केरुङ जान थालेका छन्। १ जनवरीबाट नाका सञ्चालन गर्ने गरी तयारी भएको छ।”
गत असोजमा तातोपानी र रसुवा दुवै नाका बन्द भएको बेलामा मुस्ताङको लोमन्थाङ गाउँपालिकामा रहेको कोरला नाका सञ्चालनमा आएको थियो। नेपाली व्यवसायीहरूले विद्युतीय सवारी कोरला नाका हुँदै नेपाल भित्र्याएका थिए।
गत असारमा बाढीले बगाएको मितेरी पुल चिनियाँ पक्षले बनाइसकेको छ। बाढीले बगाएको चार किलोमिटर सडक एकतर्फी रूपमा सञ्चालन हुने गरी तयार गरिएको छ। बाढीले बगाएको चिनियाँ भूभागतर्फको पूर्वाधार चिनियाँ पक्षले पुनर्निर्माण गरेर सञ्चालनको तयारी गरेको छ। नेपालतर्फ भने बाढीले बगाएको संरचना जस्ताको तस्तै छ। नेपालतर्फको क्षतिग्रस्त सडक पनि चीनले बनाइदिन लागेको छ।
रसुवाका प्रजिअ पन्थी भन्छन्, “स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको सडक चीनले बनाइदिने भनेको छ। त्यसका लागि निर्माण कम्पनीले सामान ल्याउन थालेको छ। अहिले नेपालतर्फको सडक एकतर्फी रूपमा मात्रै चल्न सक्ने गरी खुलाइएको छ। सडक निर्माणका अन्य उपकरण चिनियाँ कम्पनीले नाका सञ्चालनमा आएपछि ल्याउने भनेको छ।”
अहिले चीनसँग व्यापारका लागि सडकमार्गले जोडेका तीन वटा नाका छन्। तीमध्ये सबैभन्दा पुरानो तातोपानी नाका हो। २०७१ सालमा भोटेकोसी नदी थुनिने गरी आएको जुरे पहिरो, २०७२ सालको भूकम्प र २०७७ सालमा भोटेकोसीमा आएको बाढीले अरनिको राजमार्ग थिलथिलो बनाएपछि तातोपानी नाकाबाट हुने चीनसँगको व्यापार प्रभावित हुँदै आएको छ। गत असारमा पनि भोटेकोसीले तातोपानीदेखि बाह्रबिसेसम्म विभिन्न ठाउँमा सडक बगाउँदा चीनबाट तातोपानी हुँदै आउने सामान बाटोमै रोकियो।
विभिन्न समयमा बाढी र पहिरोले नाका प्रभावित भएपछि खुलेको रसुवागढी–केरुङ नाकामा पनि २४ असारको बाढीले क्षति पुर्याएपछि पूर्ण रूपमा बन्द छ।
गत असोजमा तातोपानी र रसुवा दुवै नाका बन्द भएको बेलामा मुस्ताङको लोमन्थाङ गाउँपालिकामा रहेको कोरला नाका सञ्चालनमा आएको थियो। नेपाली व्यवसायीहरूले विद्युतीय सवारी कोरला नाका हुँदै नेपाल भित्र्याएका थिए। तातोपानी र रसुवाको तुलनामा निकै टाढा रहेको यो नाका हिउँ पर्ने समयमा राम्ररी सञ्चालन हुन सक्दैन। नेपाल-चीन सीमाक्षेत्रको मुख्यद्वार कोरलाभन्दा १४ किलोमिटरयता (नेपालतर्फ) रहेको नेचुङ भन्ने ठाउँमा भन्सार कार्यालय राखेर जाँचपासको काम भइरहेको छ। नेचुङमा रहेको भन्सार कार्यालय नियमित सञ्चालनमा रहेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ बताउँछन्। भन्छन्, “अहिलेसम्म त भन्सार कार्यालय सञ्चालनमै छ। विद्युतीय गाडी र लत्ताकपडा आइरहेका छन्। हिउँ पर्यो भने चाहिँ सामान ल्याउनै समस्या हुन सक्छ। अहिलेसम्म हिउँ परेको छैन।”