काठमाडौँ। साताको पहिलो कारोबार दिन हिजो (आइतबार) ४७.५५ अंकले बढेको नेप्से भोलिपल्ट (सोमबार) भने १०.५३ अंकले ओरालो लागेको छ। आइतबारको तुलनामा ०.४० प्रतिशतले घटेको नेप्से २‚६२२.९९ विन्दुमा रोकिएको छ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ०.३२ अंकले घटेर ४५५.३१ विन्दुमा रोकिएको छ। आज ३३७ कम्पनीको ६९ हजार ५४८ पटकको कारोबारमा एक करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँको कारोबार भयो। अघिल्लो कारोबार दिन (आइतबार) को तुलनामा आज (सोमबार) कारोबार रकम पनि घटेको छ। आइतबार सेयर बजारमा पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज विकास बैंक र म्युचुअल फन्डका सूचक मात्र बढ्दा बाँकी ११ वटा समूहका सूचक घटे।
जसअनुसार वाणिज्य बैंक समूहको ०.३८ प्रतिशतले घटेको छ। यस्तै विकास बैंक ०.६७ प्रतिशतले बढ्यो भने फाइनान्स ०.०४‚ होटेल तथा पर्यटन ०.१२‚ जलविद्युत् ०.७८, लगानी ०.२२‚ जीवन बिमा ०.८५, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त ०.०८ प्रतिशतले घटे। यस्तै म्युचुअल फन्ड भने ०.२५ अंकले बढेको छ। निर्जीवन बिमा ०.२२‚ अन्य ०.६६ तथा व्यापार ०.६३ प्रतिशतले घटे ।

नेप्सेमा आइतबार ८५ कम्पनीको मूल्य बढ्दा १६५ वटाको घट्यो। ९ कम्पनीको मूल्य भने स्थिर रह्यो। जसअनुसार एसवाई प्यानल नेपाल लिमिडेडको सेयर मूल्य १० प्रतिशतले बढ्यो। अर्थात् सकारात्मक सर्किट लाग्यो। एसवाईको अन्तिम कारोबार मूल्य ८८० रुपैयाँ रह्यो। यस्तै आज पनि विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नेगेटिभ सर्किट लाग्यो। अर्थात विन नेपालको मूल्य १० प्रतिशतले घट्यो। विन नेपालको सेयर मूल्यमा हिजो आइतबार पनि नेगेटिभ सर्किट लागेको थियो। यसको आज अन्तिम कारोबार मूल्य १‚४९६ रुपैयाँमा अडियो।
आज सबैभन्दा धेरै एसवाई प्यानलकै सेयर कारोबार भयो। आज यसको २२ करोड दुई लाख ४१ हजार ९३६ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ८८० रुपैयाँ कायम रह्यो।