प्रतिनिधिसभा निर्वाचन
काठमाडौं। जनसंख्याका आधारमा समावेशी क्लस्टरअनुसार राजनीतिक दलहरू समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने चटारोमा छन्। २१ फागुनमा हुने चुनावी कार्यतालिकाअनुसार समानुपातिकका लागि बन्दसूची बुझाउन निर्वाचन आयोगले तोकेको अन्तिम दिनको अन्तिम समयमा राजनीतिक दलहरूले आयोगमै पुगेर निस्सा लिन थालेका छन्।
आयोगका सह-प्रवक्ता कुलबहादुर जीसीका अनुसार ५ बजेसम्म नौवटा राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइसकेका छन्। दलहरूले आफ्ना उम्मेदवारहरूको समावेशी जनसंख्याको आधार मान्दै क्लस्टरमा कम्तिमा ५० प्रतिशत महिला अनिवार्य गरी बन्दसूची बुझाउनुपर्छ।
२०७९ को चुनावमा पहिलो दल बनेको नेपाली कांग्रेस, दोस्रो बनेको नेकपा एमाले, नयाँ बनेको नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नेताहरू समानुपातिक बन्दसूची बुझाउन आयोग पुगेका हुन्।
दलहरू अन्तिम समयमा निर्वाचन आयोग पुग्ने पुरानै परम्परा हो। “प्राय: अन्तिम समयमा आएर काम थाल्ने परम्परा छ,” उनले भने, “दलका प्रतिनिधि आइसकेपछि आयोगले प्रक्रियामा राख्नुपर्छ। संस्कार बसालेर समयमै मनोनय प्रक्रिया पूरा गरेमा सहज हुन्थ्यो।”
यो पनि…
समानुपातिक बन्दसूची बुझाउन दलको चटारो, हेर्नुहोस् निर्वाचन आयोगको माहोल
सहप्रवक्ता जीसीका अनुसार दलहरूले निर्वाचन आयोगमा निस्सा प्रमाणित गर्दै छन्। “दलहरू निर्वाचन आयोगमा निस्सा प्रमाणित गर्दै छन्। यो भनेको उम्मेदवार हुन पूर्वसर्त मतदाता नामावलीमा नाम भएको सम्बन्धित दलले बन्दसूची पेस गर्दा प्रमाणीकरण गर्नुपर्ने प्रक्रिया हो,” उनले भने‚ “बन्दसूचीमा राखिएका हरेक उम्मेदवारको मतदाता नामावलीमा विवरण भिडाएर निस्सा दिएपछि दर्ताको प्रक्रिया अगाडि बढ्छ।”
प्रतिनिधिसभामा कुल २७५ सदस्य निर्वाचित हुने व्यवस्थामा ११० जना सदस्य समानुपातिक प्रणालीबाट चयन गरिन्छ। मतदाताले कुनै पनि पार्टीलाई दिएको कुल मतका आधारमा सिट बाँडिन्छ। कानुनमा ६ वटा समावेशी समूह छुट्टाइएको छ। दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू र मुस्लिम छन्। समानुपातिकतर्फको निर्वाचनका लागि २० मंसिरदेखि नै सुरु भइसकेको छ। समानुपातिकमा ९३ दलले भाग लिनेगरी चुनाव चिह्न पाइसकेका छन्।