प्रकोप
अन्धाधुन्ध सडक निर्माणले सिन्धुपाल्चोकमा पहिरोको विपद्
हेलम्बु (सिन्धुपाल्चोक)। मेलम्ची बजारबाट २१ किलोमिटर उत्तरमा रहेको माथिल्लो बोल्देमा १३ भदौ २०७७ को मध्यरातमा राममाया तामाङ (४६)को घरभन्दा पाँच कान्ला (३३ मिटर) तलको खोल्सामा पहिरो खस्यो। त्यस रातभर उनको परिवारका सदस्यले एक ठाउँमा जम्मा भएर पहिरोतर्फ आँखा घुमाइरहे। मध्यरातको अन्धकारमा मधुरो टर्चको सहायतामा उनीहरूले पहिरो कति तलबाट गइरहेको भन्ने भेउ मात्र पाएका थिए। त्यो रात राममायालाई वर्षभन्दा लामो लागिरहेको थियो।
भोलिपल्टको उज्यालोमा पहिरोको विकराल रूप देखेपछि उनलाई लाग्यो- धन्न बाँचिएछ।
त्यस दिनदेखि उनीहरूले घर छोडे। अलि माथिको चौरमा रात कटाउन थाले। केही दिनपछि राहत सामग्रीमा टेन्ट पाए। यसले जेनतेन बर्खा धान्यो। करिब एक महिना (पानी पर्न छोडेपछि) पछि उनीहरू घर फर्किए।
पहिरो आएको पाँच वर्ष बित्यो, तर हेलम्बु गाउँपालिका-५ बोल्देका राममायासहित अन्य स्थानीयवासी अझै पनि बर्सातमा घरमा बस्दैनन्। बोल्देमा राममायाको घर तल आएको पहिरोजस्तै बस्ती नै जोखिममा पार्ने थप अरू पहिरोहरू पनि छन्।
बोल्देको माझगाउँका बारीका पाटाहरूमा धाँजा फाटेका छन्। बर्सेनि वर्षामा तीनचार हात तल भासिँदै गएको स्थानीयको अनुभव छ। स्थानीय जितबहादुर तामाङ (५७) भन्छन्, “गाउँमा सडक खनेको करिब १२ वर्ष भयो। भूकम्प आएको १० वर्ष पूरा भयो। त्यसपछि हाम्रो गाउँमा धेरै पहिरो जान थालेको छ।”
बोल्देमै जन्मेहुर्केका उनी र उनका पुर्खाले त्यसअघि बस्ती नै जोखिममा पार्ने पहिरो कहिल्यै देखेका थिएनन्। तर, उनको भनाइमा हाल बोल्देमा मात्र ६५ घर जोखिममा छन्।
उनका अनुसार सडक बनाउँदा केही ठाउँमा भेल कटान गरिएको छ। यसले पनि खासै अन्तर पारेको छैन। “आधा किलोमिटरको अन्तरमा नै पानीको भेल खोलासरह भइसक्छ। त्यसले पनि पहिरो लाग्न सघाएको छ। त्यो उचित तरिकाले बनाइएको भए पहिरो जाँदैनथ्यो कि भन्ने मेरो विचार हो। त्यसमाथि भूकम्पले पनि जमिन हल्लायो, धेरै ठाउँमा चिरा परेको थियो,” उनी भन्छन्।
बोल्देको पछाडिको गाउँ उर्लेनीको अवस्था पनि उस्तै छ। हेलम्बु गाउँपालिका-५ मा नै पर्ने यस बस्तीका २१ घर पनि पहिरोको जोखिममा छन्। २७ साउन २०७९ मा आएको वर्षा र पहिरोपछि गाउँ नै जोखिममा परेको स्थानीय प्रकाश रिजाल बताउँछन्। खेतीयोग्य जमिन पनि कम जोखिममा छैन।
सरकारी आँकडामा सिन्धुपाल्चोकका बोल्दे र उर्लेनीसहित १८७ बस्ती (१२४ बस्ती पहिरो, ६२ बाढी र एक बस्ती डुबानमा) मनसुनजन्य विपद्को जोखिममा छन्। जिल्ला विपद् व्यवस्थापन समितिले गरेको २०८१ को अध्ययनअनुसार सिन्धुपाल्चोकका १८७ बस्तीका ६ हजारभन्दा बढी परिवार (चार हजार ४५८ बाढी, दुई हजार २०१ पहिरो र १०० परिवार डुबान) पहिरो वा बाढीबाट प्रभावित हुन सक्ने विश्लेषण छ। यसो हुँदा करिब २५ हजार (बाढीमा १८ हजार ३६३ जना, ६ हजार ७३० पहिरो र ५०० डुबान) मानिस मनसुनले निम्त्याउने जोखिममा रहेको उल्लेख छ।
जिल्ला नै विपद्को जोखिममा
मनसुनमा धेरै पहिरो जाने जिल्लाहरूमध्ये सिन्धुपाल्चोक एक हो। २०७१ सालको जुरे पहिरोमा परेर त ४५ जनाको ज्यान गएको थियो भने थुप्रै घरपरिवार विस्थापित भएका थिए। त्यसयता कहिले लिदीको पहिरो त कहिले भोटेकोसी नदीमा आएको बाढी र लार्चामा पुल बगाएको घटनासँगै मेलम्ची खोलाको बाढीले मनसुनजन्य जोखिम सिन्धुपाल्चोकमा बढ्दै गएको देखिन्छ। मनसुनजन्य विपद्कै कारण यसबीचमा जिल्लामा तीन हजारभन्दा बढीले ज्यान गुमाए भने करिब एक लाख परिवार प्रभावित हुन पुगे।
पहिरोकै कारण मात्र १० वर्षमा ८० जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक छ। त्यसमा अन्य ४१ जना बेपत्ता छन् भने ३९ जना घाइते भएको उल्लेख छ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० का अनुसार सिन्धुपाल्चोक जिल्ला बहुप्रकोपको जोखिममा रहेको उल्लेख छ। २०७२ सालको भूकम्पले कमजोर बनाएको जमिन, अनावश्यक अव्यवस्थित सडक विस्तार, वन फँडानीजस्ता कारणले २०७२ सालपछि पहिरोको जोखिम बढेको योजनामा उल्लेख छ।
योजनाअनुसार सिन्धुपाल्चोकमा पहिरोका कारण हरेक वर्ष करिब चार हजार २०० घर परिवार प्रभावित हुन सक्ने र ९०० परिवार उच्च जोखिममा रहेको अनुमान छ।
जसका कारण हुने घाइतेको उपचारका लागि अग्रस्थानमा खडा हुनुपर्ने केही स्वास्थ्य संस्था जोखिममा छन् भने धेरै स्वास्थ्य संस्थाका पहुँच मार्ग खराब छन्। जसका कारण बर्खामा स्थानीय बिरामीहरू आधारभूत स्वास्थ्य सेवाबाट नै वञ्चित रहन्छन्।
अवैज्ञानिक विकासको क्षति
राममायाका अनुसार अहिले बर्खाका बेला छोटो समयमै मुसलधारे पानी ओइरिन थालेको छ। त्यो पहिरो खस्ने दिन पनि ‘छाना प्वाल पार्ने गरी’ पानी परेको थियो। “दिनभरि काम गरेको थकानले हामी छाना बज्दा पनि निदायौँ। तर, पहिरो लागेको गड्यामगुडुम आवाज सुनेर बिउँझियौँ। त्यसपछि आकाशमा बादल मडारिँदा पनि अत्यास लाग्न थालेको छ,” उनी सुनाउँछिन्।
पहिरो जाने सम्भावना वर्षाको मात्राका आधारमा भन्न सकिने जलवायुविज्ञ डा. धर्मराज उप्रेती बताउँछन्। उनका अनुसार नेपालमा प्रतिदिन ११५ मिलिमिटरदेखि १६० मिलिमिटर पानी पर्दा पहिरो जान्छ भन्ने पत्ता लागेको थियो। तर, सिन्धुपाल्चोकका हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरो गराउने वर्षाको मात्रा आकलन गर्दा केही भिन्न पाइएको उनले बताए। ‘सिन्धुपाल्चोक क्षेत्रमा वर्षाका कारण उत्पन्न हुने पहिरोका लागि सीमा (थ्रेसहोल्ड) विकास’ नामक अध्ययनले हेलम्बुमा १२४ र पाँचपोखरीमा ११८ थ्रेसहोल्डमा पहिरो जाने पत्ता लागेको छ। जुन राष्ट्रिय थ्रेसहोल्डभन्दा कम हो।
त्यसका कारण माटोको अवस्था, पानी पर्ने तौरतरिका, मानवीय क्रियाकलाप जस्तै– जथाभाबी सडक खन्ने, सडक खन्दा निस्किएका भग्नावशेष अव्यवस्थित रूपमा फालिनु, सडक कटान र भौतिक संरचनाको निर्माण गर्दा वातावरणीय जोखिम मूल्यांकन नगरी बनाइनु र अन्य तत्त्वहरू रहेको उनको तर्क छ।
सिन्धुपाल्चोक जिल्लामा लगभग २,४८४.७२ किलोमिटरको सडक सञ्जाल छ। सिन्धुपाल्चोकमा राष्ट्रिय राजमार्गअन्तर्गत अरनिको राजमार्ग पर्दछ। यसले बाह्रबिसे र सुकुटेजस्ता प्रमुख क्षेत्रहरू हुँदै काठमाडौँलाई कोदारी र चीनको सीमासँग जोड्छ। यो व्यापार र यात्राका लागि महत्त्वपूर्ण छ, तर विशेष गरी मनसुनको समयमा पहिरो र बाढीको क्षतिले बारम्बार अवरुद्ध हुन्छ।
हेलम्बु र पाँचपोखरीका मात्र नभई सिन्धुपाल्चोकका धेरै ग्रामीण सडक कच्ची छन्। जुन पहिरो कटानका लागि संवेदनशील रहेको विपद् जोखिम न्यूनीकरणको अन्तर्राष्ट्रिय जर्नल ३१ मा प्रकाशित ‘भू-खतरा जोखिमअन्तर्गत यातायात सञ्जालहरूको लचिलोपन र पुन:प्राप्ति सुधार गर्ने रूपरेखा’ शीर्षकमा प्रकाशित अध्ययनमा उल्लेख छ।
हेलम्बुमा अनुमानित सडकको लम्बाइ लगभग ४२९ किलोमिटर र पाँचपोखरी थाङपालमा ३८७ किलोमिटर छ। जसमध्ये हेलम्बुमा लगभग १५ किलोमिटर र पाँचपोखरी थाङपालमा २५ किलोमिटर अत्यधिक संवेदनशील भूभागमा रहेको अध्ययनमा उल्लेख छ। जुन सामान्यभन्दा माथि वर्षाको अवस्थामा सजिलै अस्थिर हुन सक्छ।
जलधारविज्ञ मधुकर उपाध्या भन्छन्, “सिन्धुपाल्चोकको उत्तरी भाग भौगर्भिक दृष्टिकोणले पनि कमजोर धरातलमा अवस्थित छ। यसलाई भौगर्भिक भाषामा मेन सेन्ट्रल थ्रस्ट भनिन्छ। त्यस्तो स्थानमा भूकम्प र सडक निर्माणमाथि पानी थपिँदा पहिरो बढ्ने जोखिम उच्च हुन्छ।”
त्योसँगै २०७२ सालको गोरखा भूकम्पले सिन्धुपाल्चोकलाई थिलथिलो नै बनाएको छ। त्यसपछि पनि पटक पटक सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आएका पराकम्पले पनि प्रभाव पारिरहेको उनी बताउँछन्।
त्यसकारण सिन्धुपाल्चोकको पहिरोलाई अझ गम्भीर रूपमा हेरिनुपर्ने उनको तर्क छ। उनका अनुसार अहिले पानी छोटो समयमा दर्किएर एकै ठाउँमा थुप्रिएर आउन थालेको छ। त्यसले गर्दा अझै पहिरोहरू बढी देखिन थालेको छ।
यस वर्ष मनसुनजन्य विपद्बाट सिन्धुपाल्चोकमा ४२ हजार २०८ जना प्रभावित हुन सक्ने मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८२ मा उल्लेख छ।
नेपालमा पहिरोबाट मृत्यु हुनेको संख्या अत्यधिक बढ्दै छ। यसो हुनुमा भूकम्प, जलवायु परिवर्तनको जटिल समायोजन र भिरलाई अस्थिर बनाउने अनौपचारिक सडक निर्माणले बर्सातमा विस्फोटको रूप लिनु रहेको ‘नेपालमा सडक र पहिरो : कसरी विकासले वातावरणीय जोखिम गराउँछ’ नामक अध्ययनमा उल्लेख छ।
यस अध्ययनमा २०७२ सालको भूकम्पले उत्पन्न गरेको पहिरो र अनौपचारिक सडक निर्माण गर्दा अत्यधिक भूबनोटमा मानिसद्वारा उत्पन्न गराएको परिवर्तनबाट गएको पहिरोको तुलना गरिएको छ। जसमा भूकम्पबाट गएको पहिरोभन्दा कमजोर किसिमले निर्माण गरिएको सडकको कारण बर्सातमा दोब्बर पहिरो गएको पाइएको छ।
जथाभाबी खनिएका सडकहरूले भूबनोटमा समेत तीव्र गतिमा परिवर्तन ल्याइरहेका छन्। अध्ययनले सिन्धुपाल्चोकवासीले विकासको मूल्य चुकाइरहेको देखाउँछ।
बर्खामा ६० प्रतिशत स्वास्थ्य संस्था पहुँचबाहिर
राममाया र बोल्देवासीलाई पहिरो गएको एक महिनासम्म त्रिपालमुनि चौरमा बस्दा चिसोका कारण स्वास्थ्यमा समस्या देखिएको थियो। राममायाकी कान्छी छोरीलाई ज्वरो आएको थियो। तर उपचारका लागि बोल्देबाट करिब एक घण्टा तल सिरिसे स्वास्थ्यचौकी पुग्नुपर्थ्यो। बर्खामा स्वास्थ्य चौकी पुग्न झन् बढी समय लाग्ने राममाया बताउँछिन्। भन्छिन्, “ज्वरो आउँदा उपचार खोज्न करिब एक घण्टा टाढा स्वास्थ्य संस्थामा पुग्नुपर्छ। त्यहाँ पुग्न दर्जनौँ पहिरो छिचोल्नुपर्छ। जाँदाजाँदै ज्यान गुमाउनुपर्ने हो कि भन्ने त्रासमा हिँड्नुपर्छ।”
उनका अनुसार बर्खामा बस आउँदैन। “घरमा गर्भवती र दीर्घरोगी हुँदा बढी सकस हुन्छ। बिरामीलाई मर्न दिनु भएन, स्टेचरमा बोकेर पनि लैजाने गरेका छौँ। सुरुमा सिरिसे स्वास्थ्य चौकी लैजान्छौँ। त्यहाँ नभए मेलम्ची, मेलम्ची नभए काठमाडौँ भए पनि जानुपर्छ,” उनी भन्छिन्, “हामीलाई साह्रो परेको अवस्थामा मेलम्चीसम्म पुग्नै मुस्किल छ। कहीँ पहिरो जान्छ, कहीँ सडक बगाउने समस्या छ।”
विपद्मा सबल व्यक्तिको तुलनामा वृद्धवृद्धा, बालबालिका, अपांग र सुत्केरी महिला बढी जोखिममा हुन्छन्। र, राममाया जस्तै बोल्दे र उर्लेनीलगायत विपद्को जोखिममा रहेका स्थानीयहरू स्वास्थ्य, शिक्षा तथा पोषणयुक्त खानाको पहुँचबाहिर हुने गर्छन्।
मनसुनमा सिन्धुपाल्चोकका १२ स्थानीय तहका करिब ६० प्रतिशत स्वास्थ्य संस्थाहरू सडक भए पनि स्थानीयको पहुँचमा नहुने सिन्धुपाल्चोक जिल्ला विपद् प्रतिकार्य योजना, २०७९ मा उल्लेख छ। त्यसमा उल्लेख भएका ८१ स्वास्थ्य संस्थामध्ये ६२ स्वास्थ्य संस्था जाने सडक कच्ची छन्। तीमध्ये ४५ स्वास्थ्य संस्था बर्सातमा आवतजावत गर्न नसकिने स्थानमा छन्।
सिन्धुपाल्चोकको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लामा स्वास्थ्य संस्थाको संख्या १४५ छ।
बीएमजे जर्नलमा प्रकाशित नेपालको सार्वजनिक स्वास्थ्य सुविधाहरूमा भौगोलिक पहुँचको समानता नामक अध्ययनले पनि यातायातको पहुँच अभावका कारण प्राथामिक सेवाबाट वञ्चित भएको देखाएको छ।
सिन्धुपाल्चोकजस्ता बहुप्रकोपबाट उच्च प्रभावित जिल्लामा घाइते र जोखिम समूहका लागि राज्यले स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने हो। तर, बर्खामा यहाँका स्वास्थ्य संस्था नै थला पर्ने देखिन्छ।
स्थानीय स्थानान्तरणको आशामा, सरकारको छैन तयारी
बर्सेनि विपद्को चपेटामा परिरहेको सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका विषयमा विगतको घटनाबाट पाठ सिक्न नसकेको उदाहरण हो, बोल्दे। उनीहरूले कैयौँ बर्खा पहिरोको त्रासमा घरविहीनसरह बिताइरहेका छन्। उनीहरू सुरक्षित बसोबासको पर्खाइमा छन्। तर, सरकार आँखा र कान थुनेर बसिरहेको छ।
२०७७ असारमा सुतिरहेको बेला मध्यरातमा आएको पहिरो भुल्न सकेकी छैनन्, बोल्देकी माइली तामाङ (७५)ले। उनी घरमा एक्लै छिन्। छोरा-बुहारी काठमाडौँ बस्छन्। छोरीको विवाह भयो। उनका श्रीमान् बितेको चार वर्ष भयो। बर्खामा पानी आउने जस्तो भएपछि उनी पनि छिमेकीसँगै सुरक्षित ठाउँ खोज्दै उक्लिन्छिन्।
२०७७ सालको पहिरो सम्झँदै उनी भन्छिन्, “सबै लुँड्याएर ल्यायो होला जस्तो लागेको थियो। हेरौँ भने अन्धकार थियो। बिहान उठेर माथि हेर्दा बस्ती छेउबाटै पहिरो खसेछ। यतापट्टि जमिन चिराचिरा परेको रहेछ, अलि उता सडकमा अर्को पहिरो खसेर तल खोलासम्म पुगेछ। त्यसपछि हामीले बस्न मिल्ने ठाउँ नै देखेनौँ। चौरमा आधा बर्खा बित्यो। पहिरो दोहोरिन नदिन पानी पर्दा आउने भल अर्कोतर्फ तर्काएर अहिले थामिएको छ। तर, मनको पहिरो उस्तै छ।”
बर्खामा सधैँ ढुकढुक ढुकढुक भई बाँच्नुपरेको उनको गुनासो छ। उनी भन्छिन्, “यताबाट आउँछ कि उताबाट आउँछ जस्तो लाग्छ। निद्रा लाग्दैन।”
जनप्रतिनिधि आएर स्थानान्तरण गर्ने आश्वासन दिए पनि पूरा नभएको उनी बताउँछिन्। सरकारले बसाइँ नै सर्नुपर्ने भनेपछि अर्को ठाउँ सर्न जमिन हेर्न गई बैनासमेत गरे पनि पछि त्यो कुरा नै हराएको अधिकांश बोल्देवासीको गुनासो छ। बोल्देवासीहरू सुरक्षित वासस्थानका लागि हेलम्बु-७ पोखरेडाँडा र हेलम्बु-३ चुरेटार पुगेका रहेछन्। बैना (पोखरेडाँडाका जग्गाधनीलाई ३० हजार र चुरेटारका जग्गा धनीलाई एक लाख) दिएर उनीहरू सुरक्षित स्थानमा बस्ने सपना बुन्दै फर्किएका रहेछन्।
दिन बित्यो, महिना बित्यो, वर्ष बित्यो, स्थानान्तरणको प्रक्रिया अगाडि बढेन। बोल्देको १२-१३ घर पहिरोको उच्च जोखिममा छन्। उनीहरू सुरक्षित आवासको आशमा छन्। तर, स्थानीय सरकार मौन छ।
दुई वर्षअघि बोल्देको बस्ती स्थानान्तरण गर्न गाउँपालिकालाई भनिएको सिन्धुपाल्चोकका विपद् सम्पर्क व्यक्ति रविराज धिताल बताउँछन्। उनका अनुसार बस्ती स्थानान्तरणको प्रक्रिया स्थानीय तहले अगाडि बढाउनुपर्ने हो।
बोल्देवासीले बस्ती जोखिममा छ भनेर सिफारिस गरेको तर स्थानान्तरणको प्रक्रिया अगाडि नबढेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा स्विकार्छन्। उनी भन्छन्, “पूरा बस्ती जोखिममा होइन। दुईचार घर हो। त्यो प्रक्रिया अगाडि बढेको छैन।”
सिन्धुपाल्चोक पूर्व जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा जोखिममा रहेका बस्तीबारे अध्ययन गर्न समिति बनाइएको थियो। उक्त समितिले २०७७ सालमा नै जिल्लाका आठ वटा बस्ती (हेलम्बु गापाको बोल्दे, पाँचपोखरी थाङपाल गापाको टिपिने, मेलम्ची नपाको थकनी, जुगल गापाको लिदी, जुगलकै बोल्दे, बाह्रबिसेको बगाम, भोटेकोसीको लार्चा)लाई स्थानान्तरण गर्न सुझाइएको थियो। तर, अहिलेसम्म स्थानीयहरू जोखिम मोलेर सोही स्थानमा बसिरहेका छन्। धितालका अनुसार अन्य सात स्थानका बस्तीमध्ये केही स्थानान्तरणको प्रक्रियामा छन् भने केहीको स्थानान्तरण भइसकेको छ।
इन्जिनियरिङसहित हरित सडक विकासमा जोड
पछिल्लो १५-२० वर्षको अवधिमा ग्रामीण सडक निर्माणमा बुल्डोजर र एक्स्काभेटरजस्ता भारी उपकरणहरूको प्रयोग बढेको छ। त्यससँगै उपकरणमा आधारित प्रविधिले हरित सडक पद्धति अर्थात् श्रममा आधारित प्रविधिलाई प्रतिस्थापन गरिरहेको राष्ट्रिय योजना आयोगको ग्रामीण सडक निर्माणमा भारी उपकरण प्रयोगबाट उत्पन्न विपद्सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ।
उक्त प्रतिवेदनअनुसार हतार हतार तालिम दिइएका बुल्डोजर चालकहरूले तदर्थ इन्जिनियरका रूपमा काम गरिरहेका छन्। र, कहाँ सडक बनाउने भनेर तुरुन्तै निर्णय गरिरहेका छन्। उनीहरू ठाडो भिरालो भूभागमा टेढोमेढो रिँगटा लाग्ने सडक बनाउँछन्। र, पूरै पहाड अस्थिर हुने उल्लेख गरिएको छ।
यी समस्या समाधान गर्न सडक निर्माण गर्दा इन्जिनियरिङ मापदण्डको पालना गर्ने, पानीको निकासको उचित व्यवस्था गर्ने, वातावरणमैत्री प्रविधिको प्रयोग गर्ने र स्थानीय समुदायलाई सहभागी गराउनु आवश्यक रहेको जलधारविज्ञ मधुकर उपाध्या बताउँछन्। उनका अनुसार दिगो सडक निर्माणको एक अवधारणाअन्तर्गत ‘हरित सडक निर्माण’ एउटा स्थापित अभ्यास हो। जसले स्थानीय सामग्री तथा ‘बायोइन्जिनियरिङ’को प्रयोग गरेर सडक निर्माणको वातावरणीय असरलाई कम गर्छ।
यस अवधारणामा पहाडमा एकैपटक ठूलो बाटो नखनेर ‘एलाइन्मेन्ट’ मिलाएर सानोबाट सुरु गर्ने गरिन्छ। त्यो स्थिर भएपछि बढाउने गरिन्छ। एकैपटक ठूलो बाटो निर्माण गरिँदैन। कुनै स्थानमा सिंगल लेन र कुनै स्थानमा डबल लेनजस्तो बाटो हुने उनले जानकारी दिए।
उनका अनुसार बलेफीबाट माथि ३००/४०० मिटर बाटो पहिरोको बीचमा भएका कारण कहिले पनि राम्रो हुँदैन। पहाडमा यस्तै विभिन्न किसिमका समस्या भएको पाइन्छ। हरित अवधारणाअन्तर्गत कुन स्थानमा कमजोर भएको थाहा हुन्छ। त्यसमा थप के गर्न सकिन्छ भन्ने पनि थाहा हुन्छ। एकैपटक ठूलो बनाउनुभन्दा त्यसलाई सानो चौडाइबाट सुरु गरेर बढाउँदै लैजाने अवधारणा हो।
यसमा एकैपटक डोजरभन्दा पनि कतिपय स्थानमा मान्छेहरूले पनि खनेर लैजाने गरिन्छ। यो क्षति कम गर्ने र निर्माण मजबुत बनाउने हिसाबमा आएको अवधारणा हो। त्यसकारण यो प्रकृतिसँगै मिलेर काम गर्ने एक समाधानको उपायभित्र पर्ने उनी बताउँछन्।
त्यससँगै डिजाइन पनि महत्त्वपूर्ण हुने उनको तर्क छ। उनका अनुसार पहाडमा सडक कताबाट लैजाने, स्लोप कुन ठाउँमा मजबुत छ, कुन ठाउँमा छैन लगायत इन्जिनियरिङ डिजाइन असाध्यै महत्त्वपूर्ण हुन्छ। त्यसमा भूगर्भ, स्लोप, भिरालो र चौडा सबै हेरेर कहाँ कति कटिङ गरेर लैजाने भन्ने हिसाबकिताब गरिन्छ। त्यहीअनुसार स्लोप कटिङ हुन्छ। त्यस्तै, कटिङ गरेको माटोले थप क्षति गर्न नदिन कहाँ थुपार्ने भन्ने हुन्छ। अनि ढल पनि कति जम्मा हुन आउँछ। र, क्षति नहुने स्थान (पहारामा) ढल निकाल्ने लगायत काम सूक्ष्म रूपमा हेरेर गरिन्छ।
त्यति मात्र नभई सिन्धुपाल्चोकको हकमा धेरै ठाउँहरू थिलथिलो भएका छन्। त्यसकारण सडक लैजान मिल्ने/नमिल्ने पनि हेर्न जरुरी हुने उनको तर्क छ।