परिकार

हरेक शनिबार हुने खाजा महोत्सवमा पस्किइन्छ टोखाको पाककला

१९ पुष २०८२
टोखामा सांस्कृतिक पोसाकमा रैथाने परिकारको प्रवर्द्धन
अ+
अ-

शनिबार अपराह्नको चहलपहलमा मिसिँदै हिँड्दा दुई हजार वर्ष पुरानो परम्परा बोकेको नगरमा घुम्दै छु भन्ने आभास पटक्कै हुँदैन। शिलालेखअनुसार नै पनि लिच्छविकालदेखि निरन्तर रहेको टोखा नगरको यस बाटोमा शनिबार गाडी बन्द छ, सब पैदल नै हुन्छन्। लहरै खानाका स्टलहरू हुन्छन्।

हाकुपटासीमा सजिएका बालाहरूको मुहारमा फैलिएको मुस्कानले अतिथिलाई निम्तो दिइरहेको हुन्छ- आउनुस्, हाम्रोमा खानुस् न। मुस्कानमा कृत्रिमता छँदै छैन। किनकि, उनीहरू व्यवसायी होइनन्। यहाँ खाना पकाउने र बेच्ने सबै महिला कि त गृहिणी हुन् वा कलेज पढ्ने किशोरी वा किसान वा हप्ताका अरू दिनमा अरू केही काममा व्यस्त हुनेहरू हुन्। यी सबै महिलालाई सबैको एउटै ध्येयले जोडेको छ, त्यो हो– आफ्नो खाना जोगाउने, रैथाने स्वाद जोगाउने।

टोखा नगर चाकुको नामबाट प्रसिद्ध छ। चाकुका लागि चाहिने उखु र त्यसको बारीलाई जोडिएर बनेको छ नेपालभाषा वा नेवारीको शब्द तु:ख्य। कालान्तरमा यही तु:ख्य अपभ्रंश हुँदै टोखा भयो भन्छन् किंवदन्ती सुनाउनेहरू। इतिहासकारहरू चाहिँ टोखालाई लिच्छविहरू काठमाडौँ आउनुअघिको सहर भन्छन्। कुलोलाई संस्कृतबाट नआएको मौलिक शब्द ‘तिलमक’ प्रयोग गरिएको शिलालेख पाइएकाले यो नगर किरातकाल वा दुई हजार वर्ष पुरानो परम्परा बोकेको नगर वा त्यसभन्दा अघि गुल्म हो भन्ने उनीहरूको विचार छ। तर, ती इतिहासका अभिलेखमा आमाहरूले पकाउने स्वादको कथा कतै उल्लेख छैन। यो अलिखित इतिहासलाई, हाम्रो स्वादको परम्परालाई आमाहरूले नै पुस्तान्तरण गर्दै गएका हुन्। आमाले छोरी-बुहारीलाई अनि उनीहरूले नातिनीहरूलाई, ठ्याक्कै लोकगीतको लयझैँ, एक पुस्ताबाट अर्को पुस्तामा सर्दै गएको हो- टोखाको खाद्य परम्परा।

आमाहरूले पनि पहिलोपटक घर आएका छोरीज्वाइँलाई पस्कनैपर्ने परिकारका रूपमा जोगाएका होलान् सःपू म्हिचालाई। तात्तातो सःपू म्हिचा मुखभित्र क्वाप्प हाल्दै गर्दा फ्रिजमा नराखे पनि भुँडीको त्यो थैली किन बिग्रेन भनेर कसले पो सोच्ला र! राँगाको सयपत्रेमा हड्डीको मासी पोको पारेर धागो बाँधिएको थैलीलाई उसिनेर/तारेर बनाइने सःपू म्हिचालाई बिग्रिनबाट जोगाउन अदुवाको भूमिका महत्त्वपूर्ण हुने रहेछ। जसले गर्दा सयपत्रेमा सूक्ष्म जीववृद्धि नियन्त्रित हुन्छ र सःपू म्हिचालाई अलि बढी समय भण्डारण गर्न सकिन्छ। यसबारे दीपिका श्रेष्ठ र कविता महर्जनको अनुसन्धान लेख जर्नी अफ सस्टेनेबल डेभलपमेन्ट एन्ड पिस जर्नलमा प्रकाशित छ।

टोखा महोत्सवमा पाहुनाहरू थपिँदै गएका छन्। पहिले भक्तपुरबाट ल्याएर जुजु धौ बेचिन्थ्यो। अहिले झोर र अझ पर नुवाकोटबाट दूध ल्याइन्छ र तयार पारिन्छ आफ्नै टोखा जुजु धौ।

ओझेल परेको टोखाको पाककला यस्तै रैथाने ज्ञानले थामिएको छ। तर, त्यो पाककला, हजारौँ वर्षको ज्ञान हराउने डर भयो। ‘तब सुरु गरियो खाजा महोत्सव,’ टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ भन्छन्। इतिहासका अनेकन् राजनीतिक उथलपुथलमा सक्रिय टोखा बिस्तारै दबिँदै गयो र कृषि र सामान्य व्यापार गर्ने समाजका रूपमा अघि बढ्यो। गणेशमान भन्छन्, ‘हामी व्यवसाय गर्न नै जान्दा रहेनछौँ। साह्रै लाज मान्ने भएछौँ। आफूलाई बढी भएको बारीको साग बेच्नसमेत लाज मान्ने। समाजले त्यसलाई त बारीको साग बेचेर खान पर्ने दिन आएछ भनेर खिल्ली गर्ला भन्ने डर पनि लाग्ने रहेछ, टोखावासीलाई।”

नेवा: गुठीमा सक्रिय मानिसहरूले टोखाको इतिहास, भाषा, संस्कृति र संस्कारको जगेर्नाका लागि मिहिनेत गर्न पर्‍यो। सात जनाको टोली बनाएर खटियो। त्यतिबेला आत्मनिर्भर नभएसम्म ऐतिहासिक बस्ती जोगाउन सकिँदैन भन्ने भयो। आत्मनिर्भरताका लागि नै खाजा महोत्सवको अवधारणालाई अगाडि बढाइएको गणेशमान श्रेष्ठ बताउँछन्।

अहिले टोखाको पाककला आम नेपालीहरूमाझ पस्कने काम हुन्छ, हरेक शनिबार त्यहाँ हुने खाजा महोत्सवमा। चिउरा, छोइला, भटमास, बोडी, लसुन, अदुवा, साग, आलु र अचारहरूको संगम समय्बजि खानुस् वा छोयला र चिउरा मात्र वा खानुस् चटामरी वा वः (आजभोलि बारा भन्न थालिएको दालको रोटी- मू वः (मासको बारा), माय वः (मुगको बारा)), तपाईंको जिब्रोमा आउने स्वादले दुई हजार वर्षदेखि चल्दै आएको परम्परालाई स्पर्श गर्ने रहेछ। जिब्रोलाई अझै रोमाञ्चक यात्रामा लान मन छ भने ख्वाग्वः म्य्, कचिला वा जँला पनि चाख्न सकिन्छ। अलिकति झोलिलो खाने मन छ भने मिक्वा (मेथी) तरकारी, आलुतामालगायत अनेकन् तरकारी उपलब्ध छन्। मातिने झोल खान मन छ भने टोखाका घरमै बनेको थ्वो (जाँड) वा अय्ला (रक्सी) पाइन्छ नै।

‘सिलबन्दी रक्सी र बियर चाहिँ बन्द गरेका छौँ,’ टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ भन्छन्।

टोखा महोत्सवमा पाहुनाहरू थपिँदै गएका छन्। पहिले भक्तपुरबाट ल्याएर जुजु धौ बेचिन्थ्यो। अहिले झोर र अझ पर नुवाकोटबाट दूध ल्याइन्छ र तयार पारिन्छ आफ्नै टोखा जुजु धौ।

सुरुमा अध्यक्ष गणेशमान श्रेष्ठको टोलीले खाजा होटलहरूलाई परिचालित गरेर खाजा महोत्सव चलाउन खोजेका थिए, तर उनीहरूले त्यतिको जोखिम उठाउन चाहेनन्। त्यसपछि स्थानीय बासिन्दाको भेला आयोजना भयो, दिदीबहिनीहरू तयार भए। समूह बनाइयो। अनि मेनु पनि बनाइयो। मूल्य पनि तोकियो, र मंसिर २०८१ देखि सुरु भयो– खाजा महोत्सव।

‘गर्मीमा समय्बजि र थ्वो बिक्छ, जाडोमा वः र योमरी। सबै प्राकृतिक रूपमा चलाउने सहमति छ। जाँडरक्सी बनाउँदा पनि रसायन केही नहाल्ने भनेर सबैले सहमति गरेका छन्,’ गणेशमान श्रेष्ठ भन्छन्, ‘यो सामुदायिक भावनाले चलाएको हो। खानाका माध्यमबाट हामी संस्कृति जोगाउँदै छौँ। एउटा पसलमा छोयला सकियो भने उसले पाहुनालाई छैन भन्दैन, अर्को पसलबाट सापट ल्याएर भए पनि खुवाउँछ। हाम्रोमा ग्राहक आउने होइनन्, पाहुना आउने हुन्। हामी त्यहीअनुसार सत्कार गर्छौं।”

टोखाको मौलिक सांस्कृतिक बाजागाजाको धुनमा सायद चाँडै नेवारी खानाका परिकारको मजा लिन पाइनेछ अनि संस्कृति जोगाउने अभियानको हिस्सा बन्न पाइनेछ।

खाजा महोत्सवमा हाकुपटासीमा सजिएका आमाहरू परम्परागत तवरले चिउरा कुट्दै हुन्छन्। पाहुनाहरू आमाहरूको फोटो खिचेर सम्झनाका लागि राख्छन्, कतिपय त आफैँ ओखल समाउन पुग्छन् र चिउरा कुट्न थाल्छन्। महोत्सवले खाना मात्र बाँडेको छैन, परम्परालाई आधुनिकतासँग जोडेको छ।

‘हरेक स्टलबाट हरेक हप्ता ५०० रुपैयाँ उठाइन्छ। त्यो पैसाले सरसफाइ गरिन्छ। महोत्सव सुरु हुनुअघि एकपटक सफा गरिन्छ अनि सकिएपछि एकपटक सफा गरिन्छ। स्काउटबाट खटिएका भाइबहिनीलाई पनि खाजा र यातायात खर्चको व्यवस्था गरिएको छ,’  गणेशमान श्रेष्ठ भन्छन्, ‘टोखा महोत्सवमा सहभागी हुने एक जना महिलाले एक हप्तामा १५ सयदेखि तीन हजार रुपैयाँसम्म आम्दानी गर्छन्।आफूलाई बढी भएका मरमसला, बेसार, तरकारी बेचेको त छुट्टै आम्दानी भइहाल्यो।’

योजनाहरू धेरै छन्। चुनौती पनि छन्। नुवाकोटतिरबाट आउने ठुलठुला ट्रक र बसको होहल्ला र थर्काइबाट यो पुरातात्त्विक सहरलाई जोगाउनुपर्नेछ। तर, कतिपय मानिसलाई त खाजा महोत्सवका बेलामा ३००/४०० मिटरको बाटो हप्तामा एकपटक बन्द गरेको पनि मन परेको छैन।

‘खाजा महोत्सवका लागि हामीसँग ३२४ जना दिदीबहिनी हुनुहुन्छ, अहिले आलोपालो गरेर चल्नुभएको छ अर्थात् एक हप्ता १५० जनाले महोत्सव चलाउनुहुन्छ, अर्को हप्ता अर्को समूहले। हामीलाई माया गरेर अझै धेरै पाहुनाहरू आउनुभयो भने ३२४ जना दिदीबहिनीलाई परिचालित गरेर स्टल थप्न सक्छौँ,’ गणेशमान श्रेष्ठ भन्छन्, ‘अबको योजना संगीतको हो। आमाहरूले गाउने गीतको लय र भाका पुस्तान्तरण गर्ने हो। त्यसका लागि आमाहरू र नातिनातिना पुस्ताहरूलाई सँगै राखेर सांगीतिक कार्यक्रम गराउने लक्ष्य छ।’

टोखाको मौलिक सांस्कृतिक बाजागाजाको धुनमा सायद चाँडै नेवारी खानाका परिकारको मजा लिन पाइनेछ अनि संस्कृति जोगाउने अभियानको हिस्सा बन्न पाइनेछ।