व्यक्तिवृत्त
दबाबमा नआत्तिने र निर्णायक क्षणमा जिम्मेवारी लिन सक्ने आत्मविश्वासका कारण भरोसाको केन्द्र बनिरहेकी प्रतिभा माली
अरू दिनको तुलनामा खचाखच दर्शक। वार्मअपमै तालीको गडगडाहट। कोही तन्कीतन्की आँखा डुलाइरहेका छन्। कोही छेउछाउकासँग साउती मारिरहेका छन् :
‘अस्ट्रेलियाबाट आएकी हुन् यार।’
‘चारपटक चोट लागेको छ भन्ने सुन्या थिएँ।’
गत शनिबार (१२ पुस) त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलको माहोलले पर्खिएको पात्र थिइन्- प्रतिभा माली। त्यस दिन नवौँ एनभीए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत न्यु डायमन्ड स्पोर्टस् एकेडेमीको जर्सीमा चुली युवा क्लबविरुद्ध खेल्न करिब एक वर्षपछि प्रतिभा कोर्टमा फर्किएकी थिइन्।
“म एक वर्ष अस्ट्रेलिया बसेर आएकी हुँ। यो एकदमै लामो समय होइन। तर, खेल हेरिरहेका दर्शकले नदेख्दा अलि लामो समयपछि फर्केकोजस्तो महसुस भएको होला,” दर्शकको व्यग्रतालाई उनी यसरी अर्थ्याउँछिन्।
प्रतिभा गत अगस्टमै नेपाल आउन चाहेकी थिइन्। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को आयोजनामा गत नोभेम्बरमा हुने भनिएको ‘काभा महिला आउटडोर भलिबल लिग’ का लागि उनले दुई महिनाअघि नै टिकट काटेकी थिइन्। तर, २३ र २४ भदौको जेन-जी आन्दोलनले काभा महिला आउटडोर भलिबल लिगलाई मुखैबाट खोसिदियो। सहभागी हुने पाँच राष्ट्रले सुरक्षा चुनौती देखाउँदै आउन अस्वीकार गरे। लिग कजाखस्तान पुग्यो। प्रतिभाको नेपाल यात्रा रद्द भयो। “अहिले क्रिसमसले गर्दा कलेज बिदा छ। यही बेला एनभीए भइदियो। त्यसैले नेपाल फर्किने मौका जुर्यो,” उनी भन्छिन्।
सात वर्षकै उमेरदेखि भलिबलमा रुझान
सन् २००० को दशकको पूर्वार्द्धदेखि नै भलिबलमा पाइला चालिसकेको न्यु डायमन्ड एकेडेमी सन् २००७ पछि भने प्रतियोगिताहरूमा सहभागी हुन थालेको थियो। त्यतिखेर क्लबका मुख्य प्रशिक्षक कुमार राईले आफ्नै स्कुलका विद्यार्थी समेटेर प्रशिक्षण दिन्थे। त्यही टोलीमा सात वर्षकी प्रतिभा पनि थपिइन्। उनको कलिलो मस्तिष्कले छिटै खेल कौशल टिप्न थाल्यो। शक्तिशाली स्पाइकले उनी राम्रो खेलाडी बन्ने लक्षण दिन थाल्यो। त्यसमाथि अग्लो र खाइलाग्दो ज्यान। प्रशिक्षक राईलाई उनी नामजस्तै प्रतिभावान् लाग्यो।

प्रशिक्षक कुमार राईसँग प्रतिभा। तस्बिर : प्रतिभाको फेसबुक
तर, प्रतिभा पढाइमा तीक्ष्ण भएकाले भलिबलमा करिअर बनाउने सोचेकै थिइनन्। फेरि त्योबेला भलिबलमा भविष्य सुदूरको कल्पना थियो। यद्यपि, राईकै मार्गनिर्देशनमा प्रतिभाले पढाइ र भलिबल सँगसँगै अगाडि बढाइन्। “परिवारले खेलसँगै पढाइ कसरी अगाडि लैजान्छौ भन्नुहुन्थ्यो। तर, मैले दुवैलाई आआफ्ना ठाउँमा राखेँ। त्यही भएर होला, कुनै ठाउँमा पनि मलाई त्यस्तो सकस भएन,” उनी भन्छिन्।
राईकै प्रशिक्षणमा प्रतिभाले क्लबमा नियमित स्थान बनाउन थालिन्। घरेलु प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै सन् २०१४ मा त १३ वर्षकै उमेरमा प्रतिभा राष्ट्रिय टोलीमा पुगिन्। घरेलु कोर्टमै भएको दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगितामा उनले पहिलोपटक नेपालको जर्सी पहिरिइन्।
सन् २०१५ मा न्यु डायमन्डकी स्पाइकर रमिला तण्डुकार विभागीय टोली नेपाल पुलिस क्लब गएपछि क्लबकी मुख्य स्पाइकर प्रतिभा नै बनिन्।
प्रतिभाको उत्कृष्ट प्रदर्शनबाट नेपालले १२औँ सागमा कांस्य र १३औँ सागमा रजतसमेत जित्यो। काभा सेन्ट्रल जोनमा नेपालले स्वर्ण पदक जित्दा उनी टोलीकी महत्त्वपूर्ण सदस्य रहिन्।
चोटले फेरेको बाटो
प्रतिभाको खेल करिअरको उभारमा चोटले भने पटक पटक अवरुद्ध गरिरह्यो।
१० माघ २०७६। एनभीए च्याम्पियनसिपमा न्यु डायमन्ड र एपीएफ क्लबबीचको फाइनल भिडन्त जारी थियो। स्कोरबोर्डमा तेस्रो सेटमा २२-२० को रोमाञ्चक नतिजा प्रदर्शित थियो। दर्शकको भीड सास रोकेर उक्त खेल हेर्दै थियो। तर, जितका लागि अन्तर फराकिलो पार्न प्रतिभाले उफ्रेर स्पाइक के गरेकी थिइन्, सन्तुलन गुमाइन्। खुट्टा ‘सेफ ल्यान्ड’ भएन। उनी कोर्टमै ढलिन्। त्यसपछि उठ्न सकिनन्। तत्कालै गरिएको एक्स-रे रिपोर्टले ‘एसीएल’, ‘मेनिस्कस’ र ‘कोल्याट्रल लिगामेन्ट’ मा नराम्रो क्षति देखियो।
भलिबल खेलाडीका लागि यस्तो चोट भनेको लगभग करिअर समाप्त हुने संकेतजस्तै हो। त्यसमाथि लामो अस्पताल बसाइँका बावजुद ‘रिह्याब’ राम्रो हुन नसक्दा उनको घुँडा चाहेजति मोडिन सकेको थिएन। खेल्ने सपना त परको कुरा, फेरि हिँड्न सकिएला कि नसकिएला भन्ने चिन्ताले उनलाई निकै गलाउन थाल्यो।
तर, १३ महिना लामो आरामपछि सन् २०२१ को जनवरीमा पोखरामा भएको टाइगर कपमा उनी न्यु डायमन्डको जर्सीमा पुनः कोर्टमा देखिइन्। चिकित्सकसहित धेरैले त्यो पुनरागमनलाई चमत्कार मानेका थिए।
सबै बिस्तारै ठीक हुँदै थियो। प्रतिभाले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेकी थिइन्। तर, एकाएक सन् २०२३ मा घरेलु प्रतियोगिताको तयारीका क्रममा घुँडाले उनको साथ छाड्यो। फेरि शल्यक्रिया, अनि ‘रिह्याब’।
यति नै बेला १९औँ एसियन गेम्स चीनको हाङचाउमा हुने तय भयो। एसियन गेम्स खेल्ने प्रतिभाको ठूलो सपना थियो। उनको हालत देखेर चिकित्सकले भने नखेल्न सुझाव दिए। तर, प्रतिभाको मन थामिएन। नेपालको जर्सी पहिरिन उनले ठूलो जोखिम उठाइन्, जुन निर्णय आउँदो दिनमा उनका लागि घातक बन्नेवाला थियो।

१९औँ एसियाली खेलमा प्रतिभा। तस्बिर : प्रतिभाको फेसबुक
एसियन गेम्सको ६ महिनापछि पोखरामा टाइगर कपको फाइनलमा न्यु डायमन्ड र एपीएफ पुनः भिडे। ३-० को सोझो सेटमा खेल जित्दै एपीएफले ह्याट्रिक गर्यो। त्यस्तै ह्याट्रिक प्रतिभाको चोटमा पनि भयो।
प्रतिभाका अनुसार उनको एउटा लिगामेन्ट पातलो भइसकेकाले ‘मेनिस्कस’ च्यातिएर बारम्बार चोटग्रस्त हुने गरेकी थिइन्। शल्यक्रियाले मात्र नपुगेर मेनिस्कस नै खुर्किएपछि बल्ल घुँडामा अनावश्यक ‘रोटेसन’ रोकिएको थियो।
तर, निको भएपछि उनको बाटो मोडियो। विद्यार्थी भिसामा अस्ट्रेलिया लागिन्।
अस्ट्रेलियामा पढाइ र हप्ताको दुईतीन दिन क्याफेमा काम गरेपछि निस्कने फुर्सदमा मात्र उनी खेल्न पाउँथिन्। यद्यपि, त्यहाँ उनले सिड्नी युनाइटेड क्लबको ‘स्पोन्सर’ मा खेल्न पाइन्। जुन उनका लागि नसोचेको अवसर र सिकाइ दुवै साबित भयो। त्यसमाथि ‘डबल राउन्ड रोबिन’ मा हुने लिग, व्यवस्थित क्लब र सिनियरले जुनियरलाई सिकाउने बलियो संस्कारका कारण उनी ‘फिट’ रहिरहिन्।
नेपालमै केही गर्ने योजना
“मलाई एकदमै खुसी लाग्छ। यति धेरै चोट लागेको थियो, सर्जरी पनि चारपटक भयो। तर, सबैले अझै खेल्नुपर्छ भनेर माया र हौसला दिइरहनुभएको छ। योभन्दा बढी के चाहियो र?” पटक पटकको चोट, शल्यक्रिया अनि लामा लामा रिह्याबपछि पनि प्रतिभाको जोस उस्तै सुनिन्छ।

प्रतिभा माली। तस्बिर : प्रतिभाको फेसबुक
कतिसम्म भने जारी एनभीए च्याम्पियनसिपमा विभागीय टोली एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड फाइनलमा प्रवेश गरिसकेको छ। आर्मीविरुद्धको खेलमा त प्रतिभा ‘प्लेअर अफ द म्याच’ समेत घोषित भइन्।
पुनरागमनमा उनको लक्ष्य स्पष्ट छ- विजेता बन्ने। “म हुँदा वा नहुँदा न्यु डायमन्ड जहिले पनि जित्नकै लागि खेल्छ। यसपालि पनि च्याम्पियन बन्ने हाम्रो लक्ष्य हो,” बलियो आत्मविश्वाससाथ उनी सुनाउँछिन्।
उनको यही आत्मविश्वास र खेलकौशलले स्वतः दर्शकको ध्यान तानिरहेको हुन्छ। प्रशिक्षक राई त प्रतिभा कोर्टमा उत्रिन छाडेयता न्यु डायमन्डको ‘फ्यान फ्लोइङ’ नै धेरै घटेको बताउँछन्। उनको पुनरागमनको खबर पाउनासाथ टाढा टाढाबाट दर्शकहरू होटल ‘बुक’ गरेर खेल हेर्न आएको उनी सुनाउँछन्। त्यसैले प्रशिक्षक राई प्रतिभालाई बारम्बार भनिरहन्छन्, ‘यो क्रेज तिमीले नै कमाएकी हौ। यसलाई बचाइरहनुपर्छ है छोरी!”
प्रतिभाका अनुभवी आँखाले खेल पढ्ने, दबाबमा नआत्तिने र निर्णायक क्षणमा जिम्मेवारी लिन सक्ने आत्मविश्वासले उनलाई क्लबको भरोसाको केन्द्र बनाएको छ।
हुन त प्रतिभाको नेपाल बसाइ त्यति लामो छैन। एनभीए कपपछि शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता र टाइगर कप खेलेर उनी अस्ट्रेलिया फर्कनेछिन्। त्यहाँ स्पोर्टस् म्यानेजमेन्ट पढिरहेकी उनी पढाइ सकेर नेपाल फर्किने बताउँछिन्।

अस्ट्रेलियामा म्याग्दी काली युनाइटेड भलिबल क्लबमा आबद्ध भई खेलपछि प्रतिभा। तस्बिर : प्रतिभाको फेसबुक
नेपाल फर्किंदा खेलाडी मात्र नभएर कुशल व्यवस्थापक बनेर न्यु डायमन्ड र समग्र नेपाली भलिबललाई व्यवस्थित रूपमा अगाडि बढाउने उनको उद्देश्य छ। क्लब कसरी चलाउने, जुनियर खेलाडीलाई कसरी तयार गर्ने, सिस्टम कसरी बसाउने? प्रवासमा उनी यिनै प्रश्नको उत्तर खोजिरहेकी छन्।
यता, प्रशिक्षक राई भने प्रतिभालाई एकपटक फेरि राष्ट्रिय टोलीको जर्सीमा हेर्न चाहन्छन्। “अध्ययन पूरा गरेपछि म नेपाल फर्किएर सारा नेपालीलाई खुसी दिने काम गर्छु नि कुमार सर भन्छिन्। यसले मलाई एकदमै गर्व गराउँछ। मेरो सफलता यही हो जस्तो लाग्छ,” उनी भन्छन्।