काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

१८ पुष २०८२
अ+
अ-

काठमाडौँ। विभागीय डर्बीमा जित निकाल्दै नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न महिलातर्फको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो। योसँगै पुलिसले उपाधिका लागि न्यु डायमन्ड स्पोर्ट्स युथ क्लबसँग खेल्ने भएको छ।

न्यु डायमन्डले अर्को विभागीय टोली एपीएफ क्लबलाई पहिलो सेमिफाइनलमा ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

पुलिसले पहिलो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पारेको थियो। तर, दोस्रो सेटमा भने आर्मीले चुनौती दियो। उक्त सेट २९–३१ ले गुमाउन पुग्यो। योसँगै खेल १–१ को रोमाञ्चक मोडमा पुगेको थियो।

तर, त्यसपछिका सेटमा आर्मीले लय समात्न सकेन। त्यसपछिका सेट क्रमशः २५–१४ र २५–१८ ले गुमायो।

पुलिस समूह ‘बी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको थियो। पुलिसले मधेश र सुदूरपश्चिम प्रदेशलाई पाखा लगाएको थियो।

आर्मीले भने समूह ‘ए’ मा चुली युवा क्लब र एभरेस्ट भलिबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुलिससँगको भेट पक्का गरेको थियो।

अब आर्मीले तेस्रो स्थानका लागि एपीएफसँग खेल्नेछ।