काभ्रेपलाञ्चोक। धुलिखेल नगरमा खेलकूदको प्रवद्र्धन गर्ने उद्देश्यले डि–टाउन बास्केटबल एकेडेमी स्थापना गरिएको छ।
एकेडेमीको धुलिखेल नगरका प्रमुख अशोक ब्याञ्जूले शुक्रबार प्रशिक्षित खेलाडीलाई बास्केटबल हस्तान्तरण गरी शुभारम्भ गरे। एकेडेमीमा करिब चार दर्जन खेलाडीले पहिलो चरणमा प्रशिक्षण लिने कार्यक्रम रहेको जनाइएको छ।
एकेडेमीको शुभारम्भका अवसरमा नगर प्रमुख ब्याञ्जूले नगरका अन्य खेलसँगै बास्केटबलले औपचारिक रूपमा स्थापित हुने अवसर जुराएको जनाउँदै चालु आर्थिक वर्षभित्र नगरका विद्यालय हाताभित्र एक र बाहिर खुल्ला स्थानमा एक गरी दुई बास्केटबल कोर्ट निर्माण गर्नेगरी योजना बनाएको जानकारी दिए।
उनले अब एकेडेमीमार्फत खेल क्षेत्रको संरक्षण र प्रवद्र्धन, खेलाडीको उत्पादन तथा क्षमता अभिबृद्धी र समग्र खेल क्षेत्रको पूर्वाधार निर्माणमा ध्यान केन्द्रीत गर्ने बताए।
सो अवसरमा बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष पवन थापा, जिल्लध्यक्ष शिव थापाले देशभर र अन्तराष्ट्रियस्तरमा बास्केटबलको आर्कषण बढिरहेको जनाउँदै स्थानीय सरकारको सहयोग र समन्वयमा खुलेको एकेडेमीले खेलाडीको उत्पादन र ब्यवसायीकतामा जोड दिए।
धुलिखेलमा हक्की सङ्घ एशोसिएसनको सहयोगमा धुलिखेल –११ मा रु २३ करोडको लागतमा हक्की रङ्गशाला निर्माण सुरु गरिएको छ। त्यस्तै यसै वर्ष रु दुई करोड ३७ लाखमा कर्भड–हल निर्माण प्रारम्भ गरिएको छ।