काठमाडौँ। गृह मन्त्रालयमा आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ।
बैठकले निर्वाचनको सम्बन्धमा सुरक्षा निकायहरूले गरेका अन्तिम तयारीबारे जानकारी लिने निर्णय गरेको छ। गृह-प्रवक्ता तथा सह-सचिव आनन्द काफ्लेका अनुसार विभिन्न धार्मिक समुदाय र एक-अर्काका धर्मबीच लक्षित गरेर विभिन्न सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने र अर्काको धर्ममा खलल पुर्याएका घटनाहरू भएकामा यसमा विशेष रूपमा छलफलकेन्द्रित रह्यो।
यस्तै जिल्लाहरूमा देखिएका केही धार्मिक सहिष्णुतामा खलल पुर्याउन खोज्ने व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय भएको पनि काफ्लेले जनाए। यसैगरी स्थानीय प्रशासनहरूले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने निर्णय र प्रदेश र स्थानीय सरकारहरूलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय भएको छ।
बैठकले धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको एउटा बैठक बस्ने पनि निर्णय गरेको छ।
विशेषगरी निर्वाचनका सन्दर्भमा सुरक्षा निकायहरूले अहिलेसम्ममा के कस्तो तयारी गरेको छ त्यसबारे र मन्त्रालयले गर्नुपर्ने समन्वयका विषयमा पनि छलफल भएको सहसचिव काफ्लेले जनाए।
यस्तै जेन-जी आन्दोलनपछि फरार रहेका कैदी-बन्दी पक्राउ गर्ने अभियानलाई अझ बढी तदारुकता प्रदान गर्दै सुरक्षा निकायहरूको विशेष अपरेसनलाई थप क्रियाशीलता दिनेबारे छलफल गर्ने निर्णय भएको छ।