भर्ना छनोट प्रक्रिया अन्तर्गत शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परीक्षण र आवश्यक परीक्षणहरू सञ्चालन गरिनेछ। छनोटमा नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायमा पूर्वसेवा गरेका वा सन्तोषजनक रूपमा निर्वाचन सुरक्षामा काम गरेको अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ।
निर्वाचन प्रहरीको नियुक्ति अवधि अधिकतम ४० दिन रहनेछ। सेवा सुविधाअन्तर्गत निर्वाचन प्रहरीलाई नेपाल प्रहरी जवानको सुरु तलब स्केल अनुसार प्रतिदिन रु. ८६९।४० का दरले चालिस दिनसम्मका लागि ३४ हजार सात सय ७६ रुपैयाँ पारिश्रमिक प्रदान गरिनेछ। साथै खाना खर्च, पोशाक भत्ता, तालिम खर्च र यातायात खर्चसमेत उपलब्ध गराइनेछ। सबै भुक्तानी सम्बन्धित व्यक्तिको बैंक खातामार्फत गरिने व्यवस्था गरिएको छ।
नेपाल प्रहरीले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि निर्वाचन प्रहरी भर्ना गरिएको जनाएको छ। विस्तृत जानकारी सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।




