काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले देशको वर्तमान अवस्था फुट होइन, एकताको माग गरिरहेको बताएका छन्। शनिबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले युवा नेताहरूबीच देखिएको नेतृत्वप्रति तीखो व्यङ्ग्य गरेका छन्।
प्रधानमन्त्री पदलाई लिएर युवा नेताहरू आपसमा खुट्टा तान्न व्यस्त हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै मन्त्री पुनले यस्तो प्रवृत्तिलाई पुराना राजनीतिक नेताहरूको खराब अभ्याससँग तुलना गरेका छन्। उनका अनुसार यो व्यवहार आत्मघाती मात्र होइन, परिवर्तनको सम्भावनालाई कमजोर बनाउने काम हो।
फेसबुक स्ट्याटसमार्फत उनले लेखेका छन्, “ढङ्गै आएन हाउ। प्रधानमन्त्री पदका लागि युवा भाइहरूबीचको तानातानले पुरानै पारा सम्झाइदियो। यस्तो बेला फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने हो।”
उनले व्यङ्ग्यात्मक शैलीमै चेतावनी दिँदै भनेका छन् कि यदि युवाहरू आपसमा मिल्न नसके, आफू नै नेतृत्व लिन तयार हुनेछन्। मन्त्री पुनको यो अभिव्यक्तिलाई अहिलेको राजनीतिक अस्थिरतामाथिको तीखो टिप्पणीका रूपमा हेरिएको छ।