काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न आग्रह गरेका छन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औँ साधारणसभाको सोमबार उद्घाटन गर्दै उनले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न अनुरोध गरे । उनले भने, “मुलुकले परिवर्तन खोजेको छ, निर्वाचनबाट जुनसुकै पार्टी भए पनि राम्रो नेतृत्व ल्याउनुपर्छ, दलको दास र नेताको अन्धभक्त हुनु हुँदैन ।”
सञ्चारमन्त्री खरेलले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रित भएका कारण देश बन्न नसकेको बताए । उनले निर्वाचनमा पदको लोभ मात्र नभई कार्यकालमा राम्रो कर्म पनि गर्नुपर्ने बताए। राजनीतिक दल र नेताको दबाब र प्रभावमा परेर पदको लोभ गर्नुभन्दा स्वतन्त्र रुपमा राम्रो कर्म गनुपर्नेमा जोड दिए।
साथै उनले इक्यान संस्थासँग आफू पत्रकार हुँदादेखि सहकार्य गरेको जानकारी दिँदै इक्यानले ग्लोबल एजुकेसनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। मन्त्री खरेलले इक्यान व्यवसायीले देशको अर्थतन्त्रमा थोरैधेरै सुधार ल्याएको बताउँदै आगामी दिनमा आफू जुनसुकै पद र पेसामा भए पनि इक्यानलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।
उनले पदमा कति समय रहने भन्नेभन्दा पनि पदमा रहेर गरेको कामको महत्त्व बढी हुने बताए। आफू छोटो समय सरकारमा रहे पनि आफ्नो कर्मलाई प्रभावकारी बनाउन ध्यान दिएको उनको भनाइ छ । कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए।