काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२९ पुष २०८२
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको विशेष महाधिवेशन विवाद समाधानतर्फ उन्मुख हुने संकेत देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवासमा संस्थापन पक्ष, विशेष महाधिवेशन पक्ष र डा. शेखर कोइराला समूहबीच औपचारिक वार्ता सुरु भएको छ।

वार्तामा संस्थापन समूहबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाण सहभागी छन्। विशेष महाधिवेशनको माग उठाइरहेको पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका छन्। यस्तै, डा. शेखर कोइराला समूहको प्रतिनिधित्व जीवन परियार र डा. मिनेन्द्र रिजालले गरिरहेका छन्।

यसअघि सोमबार नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गर्दै संवादको वातावरण बनाउन वार्ता समिति गठनको प्रस्ताव गरेका थिए, जसको परिणामस्वरूप आजको छलफल सम्भव भएको बताइन्छ।

पार्टीका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेपछि कांग्रेसभित्र विवाद चुलिएको हो। सभापति देउवासहितको संस्थापन समूहले उक्त मागलाई अस्वीकार गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन अघि बढाइएको थियो। बहुमत प्रतिनिधि सहभागी भइसकेपछि संस्थापन पक्ष दबाबमा परेको विश्लेषण गरिएको छ।

आइतबार विशेष महाधिवेशनको उद्घाटन भइसकेको छ भने सोमबारदेखि बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा केन्द्रीय समिति विघटनको प्रस्ताव समेत पेस गरिएको छ। बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएपछि संस्थापन समूह वार्तामा बस्न बाध्य भएको स्रोतको भनाइ छ।

यसैबीच, सोमबारसम्म मात्र भनिएको विशेष महाधिवेशनको समय थपिएको छ। कांग्रेसले आजै केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ। बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको उक्त बैठकमा विशेष महाधिवेशनमा सहभागी केन्द्रीय सदस्यहरू उपस्थित नहुने स्पष्ट पारेका छन्।