सेयर बजार
नेप्सेमा बुधबार सुपरमादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ९.९४ प्रतिशतले बढ्यो‚ जसको अन्तिम कारोबार मूल्य ५९५ रुपैयाँ कायम रह्यो
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्से आज (बुधबार) १.५२ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा ०.०५ प्रतिशतले बढेको नेप्से २‚६४१.४३ विन्दुमा अडिएको छ।
नेप्से मंगलबार ४.९० अंक बढेको थियो भने सोमबार ५.५४ अंकले घटेको थियो। आइतबार भने नेप्से पृथ्वी जयन्तीका कारण बन्द रह्यो।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले घटेर ४५४.७३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.०२ प्रतिशतले कम हो। सेयर बजारमा बुधबार ३२० कम्पनीको ७२ हजार ६७१ पटकको कारोबारमा एक करोड २५ लाख चार हजार ९७० कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार ६ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ रुपैयाँको कारोबार भयो।
नेप्सेमा हिजो (मंगलबार) ६ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ रुपैयाँको कारोबार भएको थियो। सोमबार भने ६ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१ रुपैयाँको कारोबार भएको थियो। आइतबार नेप्सेमा कारोबार भएन।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा आठ समूहको सेयरमूल्य बढ्यो भने बाँकी पाँच समूहका घटे। जसअनुसार वाणिज्य बैंक समूहको सेयर ०.०८ प्रतिशतले घट्यो। आज विकास बैंक समूहको सेयरमूल्य ०.०१‚ फाइनान्स २.५५‚ होटेल तथा पर्यटन ०.३१‚ जलविद्युत् ०.०७ र लगानी समूह ०.११ प्रतिशतले बढे। जीवन बिमा ०.०१‚ उत्पादन तथा प्रशोधन ०.४१ र लघुवित्त समूह ०.०५ प्रतिशतले घट्यो।
यस्तै म्युचुअल फन्ड समूह ०.०८ र निर्जीवन बिमा समूह ०.३८ प्रतिशतले बढ्यो। साथै अन्य समूह ०.१३ प्रतिशतले घट्दा व्यापार समूह भने ०.६७ प्रतिशतले बढ्यो। नेप्सेमा बुधबार १२५ कम्पनीको मूल्य बढ्दा १२४ वटाको घट्यो। ११ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।

नेप्सेमा बुधबार सुपरमादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ९.९४ प्रतिशतले बढ्यो। सुपरमादीको अन्तिम कारोबार मूल्य ५९५ रुपैयाँ कायम रह्यो।
यसैगरी सबैभन्दा बढी आईसीएफसीको डिबेन्चरका लगानीकर्ताले ३.३० प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम कारोबार मूल्य प्रतिसेयर १‚१४१ रुपैयाँ कायम रह्यो।
यस्तै आज पनि राधी विद्युत् कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भयो। यसको बुधबार २६ करोड २४ लाख चार हजार १८४ रुपैयाँको सेयर किनबेच भयो। राधीको सेयरकारोबार हिजो (मंगलबार) पनि सर्वाधिक भयो। राधीको मंगलबार ५४ करोड ६५ लाख ६६ हजार ८१३ रुपैयाँको सेयर किनबेच भएको थियो। बुधबार यसको अन्तिम सेयरमूल्य ८०२ रुपैयाँ कायम रह्यो।