इतिहास

बनारस नेपाली प्रकाशनको ठूलो केन्द्र बन्नुको मुख्य कारण नेपालको तत्कालीन अनुदार शासन व्यवस्था

लेखक शरद्‌चन्द्र शर्मा र उनको कृति ‘खोजी अनि व्याख्या’
अ+
अ-

बेलायतमा केक्सटनले अक्षराङ्कित काठे ब्लक बनाएपछि पुस्तक छपाईको प्रारम्भ सन् १४८० देखि भएको मानिन्छ। हाइडेलवर्ग निर्मित प्रेसमा हुँदैगरेका सुधार, परिष्कारले त झन् पुस्तक एवं पत्रपत्रिकाको छपाईमा क्रान्ति नै आयो भने विश्व क्रमशः कम्प्यूटर एवं अफसेट छपाईको युगमा आइपुग्यो। हाम्रो छिमेकमा ब्रिटिश उपनिवेशको रूपमा रहेको भारतमा इष्ट इण्डिया कम्पनीको शासनको जग सुदृढ हुँदै जानाका साथसाथै प्रशासनिक, शैक्षिक एवं धार्मिक प्रचारप्रसार प्रयोजनहेतु भारतका विभिन्न नगरमा (विशेषतः कलकत्ता, मद्रास, बम्बईमा) प्रकाशन, मुद्रणका केन्द्रहरू क्रमशः स्थापित हुन गए। टीपू सुल्तानबाट मैसूरराज्य हस्तगत गरेको खुसीयालीमा कलकत्तामा सन् १८०० मा स्थापना गरिएको फोर्ट विलियम कलेज र त्यहींको व्याप्टिष्ट मिशनले भारतीय भाषाहरूका पुस्तकहरू छाप्ने क्रम शुरु गरे। व्याप्टिष्ट मिशनको लक्ष्य इशाई धर्म प्रचार गर्ने भएकाले त्यसबाट नेपाली लगायत भारतीय विभिन्न भाषामा बाइबल र सो सम्बन्धी ग्रन्थ प्रकाशित भए भने फोर्ट विलियम कलेजबाट नयाँ अङ्ग्रेज प्रशासकका शिक्षाका निम्ति साहित्यिक, भाषिक ग्रन्थ पनि छापिए। नेपाली भाषाका ‘आदि मुद्रित ग्रन्थ’ भन्नु यिनै संस्थाहरूबाट प्रकाशित प्रो. एटन लिखित ‘नेपाली भाषाको व्याकरण’ (सन् १८२०) र बाइबलको नेपाली अनुवाद (१८२१) हुन्।

पुस्तक व्यवसायी मुख्यत: ब्राह्मण थिए। पुस्तक व्यवसायबाट मात्र गुजरान नचल्ने हुँदा अन्य जिनिसको पनि कारोवार गर्नु अनिवार्य थियो।

नेपाली किताब प्रकाशनको इतिहासको कुरा गर्दा कलकत्तापछिका केन्द्रमा नेपालभित्र काठमाडौं र नेपालबाहिरका स्थानमा विशेषतः बनारसको चर्चा गर्नै पर्ने हुन्छ। बनारस त नेपाली प्रकाशनको मुख्य गढ नै हो र यस लेखको प्रतिपाद्य विषय पनि हो। पृष्ठभूमिको खुलासाका निम्ति काठमाडौंको प्रकाशन इतिहास पनि उल्लेख्य हुन्छ नै। कलकत्तामा उल्लिखित व्याकरण र बाइबल छापिएका ३०।३१ वर्षपछि नै नेपालमा पहिलो पटक जङ्गबहादुर राणाको बेलायत यात्रापछिको समयमा सन् १८५१।५२ तिर छापाखाना भित्रिएको थियो भन्ने मानिन्छ। गिद्धे प्रेस भनिने सो हाते प्रेसले छापेका सामग्री हाल फेला पार्न नसकिए पनि जङ्गबहादुर राणाकै भाइ रणोद्दीपसिंह एवं भतिजा केदारनरसिंह राणाका साझेदारीमा १९१९ सालभन्दा केही अघिदेखि नै चलेको ‘मनोरञ्जन मुद्रण यन्त्रालय’ले १९१९ देखि १९४१ साल बीचमा छापेका साहित्येत्तर विषयका पुस्तक भने पाइएका छन्।

नेपालमा प्रकाशन, मुद्रणका निम्ति अनुकूल शासन व्यवस्था भएको भए यहाँ पुस्तक प्रकाशन व्यवसाय त्यति पछाडि पर्ने थिएन। नेपालीहरूले विदेशापेक्षी हुनुपर्ने पनि थिएन। स्थिति प्रतिकूल भएकै हुनाले राणा शासन कालभरि नै भने जस्तो नेपालमा पुस्तक एवं पत्रपत्रिका प्रकाशन व्यवसाय टाक्सिएर रहन बाध्य भयो। सरकारी स्वामित्वमा रहेका छापाखानाहरू ऐनकानून, सैनिक शिक्षाका पुस्तक एवं प्रशासनिक प्रयोजनकां निम्ति लीफाफा, फारम, इस्तिहार, टिकट आदि छाप्ने काममा प्रायः सीमितझैं हुन गए भने गैरसरकारी क्षेत्रमा सर्वप्रथम १९५० सालमा स्थापित ‘पाशुपत छापाखाना’ एवं त्यसपछि खडा भएका विभिन्न प्रेस पनि देशबाहिर विशेषतः बनारसमा छापिएका पुस्तक छात्र पुस्तकको परिमाणभन्दा धेरै पछाडि रहन गए। यसका निम्ति एकभन्दा बढी कारक जिम्मेवार छन्। यातायातको दुरवस्था, डाँक व्यवस्थाको कमी र छपाईको लागत बढी हुने कुरा त मुद्रण, प्रकाशन, वितरण, संप्रसारणका निम्ति बाधक तत्त्व हुँदै हुन्। यी सबै कुराभन्दा पनि बढी बाधक कुरा त अनुदार, असहिष्णु शासन व्यवस्था नै थियो, जसलाई चेतनाको सानो झिल्को पनि सह्य थिएन, मान्य भएन। बाहिर देखाउन पुस्तक प्रकाशित गर्ने उद्देश्य राखेरै संवत् १९७० मा खडा भएको ‘गोरखा भाषा प्रकाशिनी समिति’ (पछि ने.भा. प्र. स.) ले १९८८ सम्मको १८ वर्षको अवधिमा स्वयंले अढाइ दर्जनभन्दा बढी पुस्तक (विशेषतः पाठ्य–पुस्तक) प्रकाशित गर्न सकेन भने अरूले छाप्ने पुस्तकमाथि पनि ‘सेन्सर’को झमेला खडा गरेर अवरोधको तगारो मात्र तेर्स्याउँदै रह्यो। सेन्सर बोर्ड खडा हुनुभन्दा अघि बरु महत्त्वका केही पुस्तक छापिएका देखिन्छन्। राजा जयपृथ्वीबहादुर पुस्तकहरूलाई यही कुराको साक्ष्य रूपमा हेर्न सकिन्छ। उल्लिखित समयावधिमा ‘गोरखापत्र’बाहेक कुनै समाचारपत्र पनि देखा पर्न सकेन। बनारसको कुरा बेग्लै रूपमा देखिन्छ।

बनारस नेपाली प्रकाशनको ठूलो केन्द्र किन बन्यो भन्ने प्रश्नको जवाफ पाउन कुनै धामा गर्न पर्दैन। वास्तवमा नेपालमा रहेको अनुदार शासन व्यवस्था नै बनारस नेपाली प्रकाशनको ठूलो केन्द्र किन बन्यो भन्ने प्रश्नको जवाफ अकारान्तरले यस कुराका निम्ति सहायक बन्न गयो भन्नुपर्छ। सानातिना कारण त थुप्रै थिए। बनारस हिन्दू मात्रको धार्मिक स्थल भएकाले र त्यहाँ चोला उठेमा मुक्ति मिल्दछ भन्ने विश्वासले नेपाली जनमनमा घरजम गरेको हुनाले त्यहाँ उहिलेदेखि नेपालीहरूका बसोबासलाई प्रोत्साहित गरेको हो। काशीको बसाइलाई आर्जनमूलक पनि बनाउने दृष्टिले व्यवसायतर्फ रुचि देखाएका हुँदा नेपालीहरूका निम्ति बनारस व्यवसायको केन्द्र बन्न गएको थियो। त्यहाँबाट नेपालमा पठाइने वस्तुमा लेखपढका सामग्रीबाहेक विशेष खालका लत्ताकपडा (किनखाब, डम्बरकुमारी, विष्णुकुमारी, कुचिन, रेशमी आदि), नेपाली बीर्के टोपी, मूर्ति, पूजासामग्री, शृङ्गार–सामान, औषधिमूलो, खेलौना, भाँडाकुँडा आदि पर्दथे। यी सामग्री ‘सप्लाई’ गर्ने काम त्यहाँ आढतिया बनी बसेका नेपाली व्यवसायीहरूले पनि गर्दथे। पुस्तक व्यवसायी मुख्यत: ब्राह्मण थिए। पुस्तक व्यवसायबाट मात्र गुजरान नचल्ने हुँदा अन्य जिनिसको पनि कारोवार गर्नु अनिवार्य थियो। तीर्थ गर्न आउनेहरुलाई सामान बेच्नुबाहेक यातायात एवं डाँकतार अनि भी. पी. का सुविधाले गर्दा नेपालीका बसोवास भएका विभिन्न ठाउँ (बृहत्तर आसामदेखि हिमाञ्चल प्रदेश र अझ क्वेटा, कराचीसम्म अनि वर्मासम्म पनि)मा सामान पठाउने र जनसम्पर्क गर्न सकिने सहुलियत त्यहाँ उपलब्ध थियो।

मोतीराम भट्ट भानुभक्त आचार्यका कृतिहरूको उद्धार गर्ने कुरामा सीमित रहे भने उनीहरूले भानुभक्त आचार्य लगायत प्राचीन कविमा पर्ने रघुनाथ पोखरेल, इन्दिरस, वसन्त शर्मा, शशिधर, उदयानन्द अर्ज्याल, पतञ्जलि गजुरेल आदि अनेकौंका र समकालीन कवि–लेखकका कृतिहरूको उद्धार, प्रकाशन गरेका छन्।

यहाँ उल्लिखित कारणले मात्र बनारस पुस्तक व्यवसायी केन्द्र बनेको भने होइन। उहिलेदेखि नै काशी शिक्षार्जनको ठूलो केन्द्र बनेकै थियो। नेपालका पूर्वदेखि पश्चिमका ज्ञानपिपासुले ज्ञानको तीर्खा मेट्न जाने केन्द्र यही भएको हुनाले पनि पुस्तक व्यवसायलाई टेवा मिलेको हो। अनि मुख्य र प्रधान उत्प्रेरक कुरा चाहिँ नेपालका समय समयका राजनीतिक पर्वहरू नै भए। ती पर्वहरूबाट उत्पीडित, प्रताडित भएका सचेत व्यक्तिहरूले बनारसलाई एक सुखदायी आश्रय–स्थलका रूपमा पाउन सकेका हुनाले पनि उनीहरूबाटै प्रकाशन व्यवसायको जग बलियो बन्न गयो। यो कुरा होमनाथ, टङ्कनाथ खतिवडा, डमरुवल्लभ पोखरेल, मोतीराम भट्ट, देवीप्रसाद सापकोटा, कृष्णप्रसाद कोइराला, शम्भुप्रसाद ढुङ्गेल आदि राजनीतिक छूत लागेका ज्ञात सचेत व्यक्ति प्रवासिनका निम्ति कारण थाहा नपाइएका विश्वराज, हरिहर एवं देवराज शर्मा लामिछाने अनि शिखरनाथ सुवेदी आदिले बनारसको निर्वासित जीवन कालमा प्रकाशन व्यवसायमा राखेको रुचि र उल्लेखनीय योगदानबाट स्पष्ट हुन्छ।

बनारसमा नेपालीहरूबाट प्रकाशन व्यवसाय कहिलेदेखि शुरु भयो भन्न सामग्रीको अभावमा गाह्रो छ। अहिलेसम्मको खोजीले संवत् १९३२ (सन् १८७५) मा त्यहाँ छापिएको ‘बुद्धिचानक नैपाली भाषा’ सम्ममा पुर्‍याएको छ। लेटर प्रेसबाट पुस्तकहरू छाप्नु अघि ढुङ्गे छापाको चलन थियो। यसो हुँदा १९३२ सालमा छापिएको ‘बुद्धिचानक’ जस्तै अरू पुस्तक पनि सो पद्धतिबाट छापिए हुनन्। नेपालमा वि.सं. १९१९ मै मोक्षसिद्धि छापिएको आधारले यस्तो सोचाइलाई आधारहीन ठहर्‍याउँदैन।

धेरै अघिदेखि बनारसमा नेपालीहरूले किताब छाप्न थालेको शृङ्खलित परम्पराको कडीमा जोडिन आउने एक व्यक्तिको नाम हो मोतीराम भट्ट। उनले आफू पृष्ठभूमिमा रहेर मित्र तेजबहादुर रानालाई अग्रसर गराएर भानुभक्त आचार्यका तीन कृति (रामायण–बालकाण्ड, प्रश्नोत्तर र भक्तमाला) १९४१ साल (सन् १८८४) मा प्रकाशित गराए। १८।१९ वर्षको कच्चा उमेरमा उनले यस्तो सचेतता देखाउनु असाधारण कुरा थियो। उनी आफैं पनि कवि थिए र सृजनाधर्मी थिए। सङ्गठन कुशलता अर्को उनको खूबी थियो। तर नेपाली भाषाका पुस्तकका उनी आदि ‘प्रकाशक’ भने हुँदै होइनन्।

तस्बिर स्रोत : मदन पुरस्कार पुस्तकालय

उनी प्रकाशन क्षेत्रमा ओर्लनुभन्दा अघि सो क्षेत्रमा देखापर्ने धेरै भए। तीमध्ये सर्वाधिक महत्त्वका व्यक्ति हरिहर शर्मा (लामिछाने) र उनका भैयाद पनि पर्दथे। उनीहरूले बनारसमा सन् १८८१ (सं. १९३८।३९) मै ‘गोरखा पुस्तकालय’ नामको प्रकाशन एवं आढत संस्था खोलिसकेका थिए। काठमाडौंमा पनि उनीहरूको ‘शारदा प्रकाश पुस्तकालय’ भन्ने संस्था १९४४ सालतिर देखा पर्छ। मोतीराम भट्टले भानुभक्त आचार्यको समग्र रामायण १९४४ सालमा छाप्नुभन्दा दुई वर्ष अगाडि सो रामायण छाप्ने डमरुवल्लभ पोखरेल र देवराज शर्माहरू पनि नेपाली भाषाका ठूला सेवी हुन्। मोतीराम भट्ट भानुभक्त आचार्यका कृतिहरूको उद्धार गर्ने कुरामा सीमित रहे भने उनीहरूले भानुभक्त आचार्य लगायत प्राचीन कविमा पर्ने रघुनाथ पोखरेल, इन्दिरस, वसन्त शर्मा, शशिधर, उदयानन्द अर्ज्याल, पतञ्जलि गजुरेल आदि अनेकौंका र समकालीन कवि–लेखकका कृतिहरूको उद्धार, प्रकाशन गरेका छन्। यो कुरा भाषा पञ्चरत्न, भाषा सप्तरत्न, सवाई पच्चीसा, वैताल पच्चीसी आदिको प्रकाशनबाट स्पष्ट हुन्छ।

मोतीराम भट्टले भानुभक्त आचार्यका, आफ्ना र मित्रहरूका पुस्तक छाप्न मुख्यतः रामकृष्ण वर्मा (१९१६–१९६३) को ‘भारतजीवन प्रेस’को सहारा लिनुपरेको थियो। बनारसमा आफ्नै प्रेस खडा गर्ने कार्यको थालनी डमरुवल्लभ पोखरेलले १९४५ सालमा गोरखा यन्त्रालय खोलेर गरेका थिए भने होमनाथ खतिवडाको विन्ध्यवासिनी प्रेस (१९५६), हरिहर शर्माहरूको दुर्गा प्रेस (१९५२ तिर), आचार्य दीक्षितहरूको प्रभाकरी प्रेस (१९५८), कृष्णमाधव कम्पनीको हिमालयन प्रेस (१९७१ तिर) नेपालीहरूद्वारा सञ्चालित छापाखाना थिए। कार्यको बोझ धान्न यी प्रेस पर्याप्त थिएनन्, यसो हुँदा नेपाली पुस्तक भारतजीवन प्रेसमा बाहेक अमर यन्त्रालय, ब्रजचन्द्र यन्त्रालय, गोपाल यन्त्रालय, हितचिन्तक प्रेस आदिमा पनि छापिन्थे। प्रकाशन संस्थाका रूपमा विश्वराज–हरिहर शर्माको गोर्खा पुस्तकालय बाहेक होमनाथ–केदारनाथको हितैषी कार्यालय, शिखरनाथ सुवेदीको नेपाली पुस्तकालय, ढुण्डिराज ऋषिकेशको नेपाली पुस्तकालय, पुण्यप्रसाद चालिसेको महाकाली औषधालय, कृष्णप्रसाद कोइराला–माधव प्र. रेग्मीको कृष्णमाधव कंपनी, आचार्य दीक्षितहरूको प्रभाकरी कंपनी, माधवप्रसादको भद्रकाली औषधालय, हरिशङ्करलाल नेपालीको नेपालीकोठी, गौरीशङ्कर भट्टराईको भाष्कर पुस्तकालय, ईश्वरीप्रसाद उपाध्याय (पौड्याल) को जनरल ट्रेडिङ्ग कंपनी, राधोरामको सर्वहितैषी कंपनी आदि थिए। नेपाली पुस्तकको बिक्रीबाट राम्रो आर्जन हुने देखेर बनारसका नेपालीइतर प्रकाशक एवं प्रेस मालिक (रामकृष्ण वर्मा, मुन्नीलाल, खेलाडीलाल, कन्हैयालाल, माधोप्रसाद, राधेश्याम–शितलप्रसादहरू) ले पनि नेपाली पुस्तकको प्रकाशनमा चाख राखेका थिए। शुरुशुरुमा विश्वराज–हरिहर शर्माहरूले छापेको पुस्तकमा “यो पुस्तक छाप्ने छपाउने अधिकार केवल हरिहर शर्मालाई मात्र छ अर्थात् सन् १८६७ का एक्ट २५ का अनुसार रजिष्टर भएको छ, कोही छाप्ने उद्योग नगरुन्” भनी जनाउने गरेको भए पनि कालान्तरमा यस्ता बन्देजको कसैले पालना गरेको देखिँदैन। जुन किताब जसले जति छापे पनि भयो भन्ने जस्तै भयो। तैपनि लोकलाजबाट बचिटोपल्ने चेष्टामा पुस्तकका शीर्षक अगाडि ‘असली’, ‘ठूलो’, ‘बडा’, ‘संक्षिप्त’, ‘राम्रो’, ‘सक्कली’, ‘बृहत्’, ‘सच्चा’ जस्ता विशेषण थपेर र सामान्य फेरबदल गरेर पुरानै किताबलाई धेरैले बारम्बार छाप्ने परिपाटी त्यहाँ चल्दै रह्यो। पछिपछि नयाँ किताब छाप्नेतर्फ उति ध्यान कसैले दिएनन्, शुद्धतापूर्वक पुस्तक छाप्ने कुरामा पनि पैसा मात्र कमाउने ध्याउन्नमा लागेका प्रकाशक, मुद्रकको चासो रहँदैनथ्यो। पहिले पहिले भने पुस्तक राम्रो रूपमा तैयार गर्न प्रकाशकहरूले चिरञ्जीवी पौड्याल, कृष्णप्रसाद रेग्मी, शम्भुप्रसाद ढुङ्गेल, रामप्रसाद सत्यालहरू जस्ता सुयोग्य व्यक्तिको सेवा प्राप्त गरेका थिए।

मोतीराम भट्टको समयमा पुराना ग्रन्थ खोज्ने, जीर्णोद्धार गर्ने, प्रकाशित गर्ने कुरामा कस्तो उत्साह थियो, होड थियो भन्ने कुरालाई मोतीराम भट्ट स्वयंले ‘च्याण्टा च्याण्टा कविलाई सम्बोधन’ (भानुभक्त आचार्यको जीवनी, १९४८को पृष्ठावरणमा) गर्दै निम्न शब्दमा दर्शाएका छन्,

“मेरा लेखा जस्ता भानुभक्त तस्तै तपाञीहरू अझ तपाञीहरू त भानुभक्तभन्दा पनि विशेष मानिनमा योग्य किन भने कहाँ कहाँका कविहरूका ग्रन्थ खोज्नु हुन्छ, आफ्ना गाँठका रुपियाँ खर्च गरी बडा परिश्रमका साथ कैल्हे बम्बै कैल्हे प्रयाग कैल्हे काशीमा गै गै कन बराबर गोर्खा भाषाका पुस्तक छपाइ देस् देस्मा प्रचार गर्नु हुन्छ।”

प्रस्तुत उद्धरणबाट १९४८ सालतिरको समयमा नेपाली पुस्तक–प्रकाशन गतिविधि काशीभन्दा पर प्रयाग र बम्बैसम्म पनि फैलिसकेको कुरा स्पष्ट हुन्छ। मोतीराम भट्टले भानुभक्त आचार्यको उचाइको दाँजोमा समकालिक कवि–लेखक (स्वयं आफू समेत) लाई ‘च्याण्टा च्याण्टा कवि’ मानेका, भनेका होलान्। जीर्णोद्धारकर्ता, अन्वेषक, प्रकाशक पनि यिनै च्याण्टा च्याण्टा कवि लेखकमध्येकै थिए। यिनीहरूकै सचेतता, धून र प्रयासबाट भानुभक्तसहित पुराना अनेकौं कवि–लेखकका रचनाहरूको उद्धार गर्ने क्रम छापाखाना अथवा मुद्रण युगको प्रारम्भ हुनाका साथसाथै शुरु भयो र समकालिक कवि–लेखकका मौलिक एवं अनूदित रचना पनि क्रमशः मुद्रित हुँदै जाने वातावरण बन्यो। नेपालमा त्यतिखेर हुन नसकेका कति कुरा बनारसमा अपेक्षाकृत मुक्त वातावरण सुलभ हुँदा हुन सके। मोती मण्डली एवं रसिक समाज त्यहीं जन्मे। नेपालमा चिताउन पनि नसकिने गोर्खा सम्चारपत्र (१९४४), गोर्खा भारतजीवन (१९४८), गोर्खाली (१९७२) जस्ता समाचारपत्र र उपन्यास तरङ्गिणी (१९५९), सुन्दरी (१९६३), माधवी (१९६५) जस्ता साहित्यिक पत्रिकाको प्रकाशन पनि त्यहीं सम्भव भयो। जनताको जीवनस्तर निम्न रहेको र शिक्षाको स्तर पनि न्यून रहेको समयमा प्रकाशनका क्षेत्रमा जे जति हुन सके तिनलाई धन्य नै मान्नुपर्ने हुन्छ।

चन्द्रकान्त त अत्यधिक लोकप्रिय थियो नै। नीति–उपदेशपरक हितोपदेश, बुद्धिचानक (वृद्धचाणक्य), चाणक्य नीतिको पनि माग थियो। यसैले त्यतिखेरका प्रकाशकहरूको ध्यान त्यस्तै खाले पुस्तक छाप्ने कुरामा विशेष केन्द्रित हुनु स्वाभाविकै भयो।

भानुभक्तीय रामायणको प्रथम प्रकाशन मोतीराम भट्टहरू अथवा डमरुवल्लभहरू जसबाट भएको भए पनि त्यसको प्रकाशन सर्वाधिक महत्त्वको प्रेरक घटना सिद्ध भयो। हरिहर शर्माहरूले १९६० सालको संस्करणमा चौधौंबार र १९६५ को संस्करणमा एक्काइसौं पटक भनी जनाएको आधारले पनि रामायणका पचासौं हजार प्रति छापिएको सहजै अनुमान गर्न सकिन्छ।

रामायण नछाप्ने कुनै ठूला प्रकाशक भएनन्। जनमानसलाई भानुभक्तीय रामायणका सहजता, सरलता, मिठास र गेयताले प्रभावित पारेका हुन्। रामायण पढ्न सक्ने हुनैका लागि धेरैले अक्षर सिके र साक्षर भए। रामायण वाचनबाट पठन–वाचन क्षमतामा वृद्धि भएकै हुनाले अन्य साहित्यिक कृति पढ्ने कुरामा रुचि जाग्न गयो र नेपाली साहित्यले पाठक पायो। संस्कृतज्ञहरू संस्कृत साहित्यकै रसास्वादनमा मग्न थिए भने अङ्ग्रेजीवाजको त्यति वृद्धि भएको थिएन। केही मानिस पक्की बोलीका रामायण, सुखसागर र किस्सा–कहानीतर्फ अवश्यै लहसिएका थिए। नेपालीमा रामायण, सुखार्णव, स्वस्थानी र अनेकौं व्रतकथा एवं कथा कुथुंग्री प्रकाशित हुन नथालेका भए नेपाली साहित्यको विकासको मेसो पनि बस्ने थिएन। नेपाली पाठ्य–सामग्रीका खास वाचक भन्नु संस्कृत र अङ्ग्रेजीमा गति नभएका सामान्य लेखपढवाला सामान्यजन नै थिए। नेपालमा मजदूरवर्गको उदय भएको थिएन । यसैले त्यतिखेर नेपाली पाठक भन्नु नेपालमा वणिक्वृत्तिमा लागेका पसल–पसलमा बस्ने सामान्य लेखापढी भएका पसलेहरु, दरबार–दरबारमा सयौंको संख्यामा नानी, केटी, सुसारे, धाई, तालिमेहरू अनि सैनिक जवान र अड्डा अदालतमा काम गर्ने गृहस्थजन नै थिए। सो कालावधिमा सन् १९१४–१८ मा भएको नेपाली एवं भारतीय गोर्खा सैनिकहरूको चल्तीफिर्तीमा विशेष वृद्धि गराइदिएको हुँदा फुर्सदका क्षणलाई राम–रमाइलो गर्ने साहित्यको विशेष मागपूर्ति गर्ने शृङ्गारिक, साहसिक साहित्यको सिर्जनालाई विशेष टेवा मिल्न गयो। भारतका विभिन्न भागमा रहेका सैनिक क्याम्पहरू पनि नेपाली पुस्तक प्रकाशनलाई विशेष प्रभावित गर्ने कारक बन्न गए। नेपालमा सिपाहीहरूका निम्ति आवास–व्यवस्थाको चाँजो हुन सकेको थिएन।

तस्बिर स्रोत : मदन पुरस्कार पुस्तकालय

सामान्य लेखपढ भएका मानिसलाई चाहिने सामग्री भन्नु हलुका खालका साहित्य नै हुनसक्ने हुँदा कथा–किस्सा, लोकलयका बालुन, झ्याउरे, लहरी, सवाईको ज्यास्ती चाहना र माग हुनु स्वाभाविकै थियो। यसैले सो कालावधिमा लहरी, सवाई र कथा–किस्साको बाढी नै आयो। धेरै अर्धशिक्षितहरू पनि कथ्थकेका रूपमा देखा परे।

त्यतिखेरका विशेष चल्तीका पुस्तकमा स्वस्थानी र विभिन्न व्रतकथाहरू, स्तुति र भजन सङ्ग्रहहरुका अतिरिक्त रामायण, महाभारत, भागवतमा आधारित गद्य एवं पद्यका ग्रन्थहरू पर्दथे।

त्यसपछिका चल्तीका पुस्तक लोक–परम्पराका वीरसिक्का, लालहीरा, मधुमालती, संस्कृत स्रोतका बेताल पच्चीसी, शूकसारिका, शूकबहत्तरी, तोतामैना, सिंहासनबत्तीसी, अरबीमूलका हातिमताई, गुलबकावली, अमोला मैयाँक गुलसनोवरजस्ता गल्पहरू र हिन्दी स्रोतका जासूसी–तिलस्मी आख्यान नै थिए। चन्द्रकान्त त अत्यधिक लोकप्रिय थियो नै। नीति–उपदेशपरक हितोपदेश, बुद्धिचानक (वृद्धचाणक्य), चाणक्य नीतिको पनि माग थियो। यसैले त्यतिखेरका प्रकाशकहरूको ध्यान त्यस्तै खाले पुस्तक छाप्ने कुरामा विशेष केन्द्रित हुनु स्वाभाविकै भयो। औषधिमूलो, इन्द्रजाल, जादू, तन्त्रमन्त्र, ज्योतिष, वैद्यशास्त्र, कर्मकाण्ड आदि विषयका पुस्तक पनि प्रशस्त छापिन्थे।

सामान्य स्तरका पाठक लाखौंको संख्यामा हुँदा अहिले पनि चल्तीका पुस्तक छाप्ने, वितरण गर्ने क्रम चलिरहेकै छ र काठमाडौंलगायत स्वदेश एवं नेपालीका बसोवास भएका भारतका विभिन्न ठाउँमा सडक–सडकका पेटीमा तथा हाटबजारमा त्यस्ता किताब बिक्री भइरहेकै छन्। यस्ता चल्तीका पुस्तकमा शृङ्गार, उपदेश एवं स्तुतिपरक लहरी सवाईहरू पनि पर्दछन्। त्यस्ता पुस्तकको बाढी नै चलेको देखिन्छ त्यतिखेर।

अझ सत्य भन्ने हो भने बौद्धिक, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा यसले समय समयमा उठाएको नेतृत्व–भार एवं मार्गदर्शनकै कारणले नेपाली जातिले जागरणको स्वाद चाख्न पाएको छ।

उल्लिखित कालावधिमा लेखिकाहरू नगण्य संख्यामा देखा पर्दछन्। तर स्त्रीशिक्षाका निम्ति लेखिएका केही पुस्तक भने फेला पर्दछन्। कोश एवं व्याकरण लेख्ने, प्रस्तुत गर्ने सचेतता पनि देखा पर्छ। विद्यार्थीका निम्ति अनुकूल हुने साहित्यबाहेक इतिहास, भूगोलका पुस्तक पनि निस्केका देखिन्छन्। यात्रीहरूका निम्ति पथप्रदर्शक किताब पनि छापिन्छन्। सारांशमा भन्नु पर्दा दैनिक जीवनमा आवश्यक पर्ने पञ्चाङ्गदेखि नागपञ्चमी एवं देवीदेवताका पट अनि श्री ५, श्री ३ का चित्र आदि सबै कुरा बनारसमा छापिन्छन् र विभिन्न ठाउँमा पठाइन्छन् भन्नुपर्छ।

बनारसमा छापिएका पाठ्यवस्तुका प्रमुख खरीददार त्यहाँ हजारौको संख्यामा वर्षेनी आउने तीर्थयात्री, विद्यार्थी, व्यापारी नै थिए भन्ने कुरा माथि नै बताइयो। भी. पी. पार्सल पठाउन सकिने यातायातका सुविधा भएका ठाउँमा सोझै पठाउने गरिन्थ्यो। नेपालमा पुस्तक पसल सीमित संख्यामा थिए, एजेन्सीको काम तिनैद्वारा हुन्थ्यो। गढी–गौंडा–गोश्वाराले जाँची आपत्तिजनक नठर्‍याएका पुस्तक नेपालमा भित्रिन्थे। गो.भा.प्र.स.ले नेपालमा आयात गर्न स्वीकृत र अस्वीकृत पाठ्य सामग्रीको सूची निकाल्ने गर्दथ्यो। जनतामा चेतनाको बीजारोपण गराउने र शासकप्रति घृणा उब्जाउने साहित्यलाई प्रवेशनिषेध गरिन्थ्यो। नेपालमा पुस्तक पसल सीमित संख्यामा थिए, एजेन्सीको काम तिनैद्वारा हुन्थ्यो। काठमाडौंमा शारदा प्रकाश पुस्तकालय, चन्द्रप्रभा प्रेस, मोतीकृष्ण कम्पनी, (ठहिटी आढत), गोर्खा पुस्तक एजेन्सी, अद्वैत कार्यालय संस्थागत रूपमा कार्यरत थिए। मखनटोल पनि पुस्तक पसलहरुको केन्द्र बनेको थियो। त्यहाँ ३।४ पसल ब्राह्मणकै थिए। विद्या र गोरखा भाषाको दुर्दशा (गोर्खा ग्रन्थ प्रकाशन मण्डली बम्बईको नियम पुस्तिका पृ. २७) मा हरिहर आ.दी. ले १९६७ सालतिर पुस्तक व्यवसायमा आएको विकृतिलाई निम्न शब्दमा दर्शाएका छन्—

“सुनिन्छ, कि नेपालका बुकशेलरहरू पुस्तकको दाम ज्यादा लियी गरीब नेपाली प्रजाहरूलाई लुटदछन्, यो कर्म विशेष ब्राह्मण बुकशेलरलाई अत्यन्त निन्दनीय छ, भरपूर कमिशन पायेर पनी व्यापारको हानिकारक विद्या प्रचारको बाधक यो नीच कर्म त्याग गरनू नै उचित छ, यद्यपि ब्राह्मणलाई अरु नीच कर्मभन्दा विद्याप्रचारको काम गरनू शुभ छ, तथापि वर्तमान कालानुसार प्रचलित कमीशन पायेर पनी गरीबहरूलाई लुटनु योग्य छैन ।”

नेपालबाहिर व्यक्ति–चेष्टाबाट पनि नेपाली पुस्तकको प्रचार–प्रवर्द्धनमा ठूलो योगदान पुगेको हो। पारसमणि प्रधानका पिता भागीरामले काशीका पुस्तक व्यवसायी हरिहर शर्माकहाँबाट रामायणलगायत नेपाली भाषाका पुस्तकका भारीका भारी दार्जिलिङको गुन्द्रीबजार एवं रेलवे स्टेशनमा पुर्‍याएर बेच्ने गरेको कुरा यहाँ स्मरणीय हुन्छ। यो एउटा दृष्टान्त मात्रै हो। जे होस्; जुवा, जाँड र जारीका कुलत तथा कुप्रथाबाट जर्जरित हुँदै गरेको गोर्खा वा नेपाली जातिलाई पतनोन्मुखताबाट जोगाउन, भाषा एवं जाति प्रेम जगाउन, जातीय सुधारका मार्ग फराकिलो पार्न, राजनीतिक सचेतताको वृद्धि गर्न नेपाली साहित्यको इतिहासको माध्यमिक कालमा भएका गतिविधि महत्त्वपूर्ण ठहरिन्छन्, शास्त्रीयबाहेक लोकलय एवं गद्यमा सुधार–सन्देश दिने रचना छाप्ने साहित्यबाहेक साहित्येतिहासको आधुनिक कालको ढोका उघ्रिएको हो। यो कुरा सम्भव भयो बनारसले पुयाएको विशेष योगदानबाट। अझ सत्य भन्ने हो भने बौद्धिक, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा यसले समय समयमा उठाएको नेतृत्व–भार एवं मार्गदर्शनकै कारणले नेपाली जातिले जागरणको स्वाद चाख्न पाएको छ। यसैले जशको ‘सिंह भाग’ यसलाई दिंदा यसले पाउनुपर्ने भन्दा बढी जश पाएको ठानिने छैन। अस्तु।

– प्रस्तुत लेख शरद्चन्द्र शर्मा भट्टराई (१९८७ कात्तिक ८ – २०५९ असोज २३) को अनुसन्धानपरक लेख-संकलनको पुस्तक ‘खोजी अनि व्याख्या’ (२०५६)बाट साभार गरिएको हो। पुस्तकमा लेखको शीर्षक ‘नेपाली प्रकाशन इतिहास : विशेष चर्चा काशीको’ छ। यहाँ पुस्तकमा भएकै हिज्जे यथावत् राखिएको छ।