काठमाडौं । निर्वाचन आयोगबाट नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवाद निरूपण भएसँगै नेता तथा निवर्तमान सांसद डा. सुनील शर्माले यसलाई समग्र पार्टीको विजयका रूपमा लिएका छन् । महामन्त्री गगन थापा पक्षले आधिकारिकता पाएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले यो घटनाक्रम कुनै व्यक्ति वा समूहको जित-हार नभई कांग्रेसको लोकतान्त्रिक जीवनको जित भएको बताएका हुन् ।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा शर्माले अब पार्टी सञ्चालनको स्वरूप परिवर्तन हुनुपर्नेमा जोड दिए । ‘अब शीर्ष तहका पाका नेताहरूले सल्लाहकार र अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘पार्टी हाँक्ने जिम्मा भने अब युवा पुस्ताले नै लिनुपर्छ ।’
आफू सधैँ बीपी कोइरालाको विचार र ‘रूख’ चिह्नप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले आफूलाई कुनै गुट विशेषको घेरामा नराख्ने बताए । ‘हिजो पनि म पार्टी विभाजनको विपक्षमा थिएँ, आज पनि एकताकै पक्षमा छु,’ शर्माले भने, ‘म देउवा वा गगन-विश्व समूहभन्दा माथि उठेर बीपीले स्थापना गरेको मूल कांग्रेसमा समाहित छु । जहाँ बीपीको सिद्धान्त हुन्छ, म त्यहीँ रहन्छु ।’
काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष भेलामा समेत उनले परम्परागत शैलीभन्दा माथि उठेर नवीन र सुधारिएको कांग्रेस बनाउनुपर्ने धारणा राखेका थिए । निर्वाचनको सम्मुखमा पार्टीभित्रको एकता अपरिहार्य रहेको भन्दै उनले सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसले डा. शर्माको नाम एकल रूपमा सिफारिस गरेको छ ।