काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ भाद्र २०८२
तस्वीर- studiobinder.com
अ+
अ-

हामी सिनेमा हलमा पुगेर या घरमै बसीबसी संसारभरिका चलचित्रको स्वाद चाख्ने भइसकेका छौं। दुनियाँभरका चलचित्रका कहानी र किस्साहरूबारे चासो राख्नु हाम्रो दिनचर्याको हिस्सा बनिसकेको छ।

के तपाईंले अरूका कथा भन्ने चलचित्रको विकासक्रमको कथाबारे कहिल्यै सोच्नुभएको छ? पर्दाभित्रजस्तै चलचित्रको पर्दाबाहिर पनि आफ्नै रोचक कहानी छ। यो कहानी नै चलचित्रको इतिहास हो।

हाम्रो समाजमा चलचित्रको इतिहासबारे धेरै सोधखोज गर्ने परिपाटी अझै बसिसकेको छैन । यस्तो माहोलमा धेरैलाई सबैभन्दा पहिलोपटक चलचित्र प्रदर्शन कहिले र कहाँ भएको थियो थाहा नहुन सक्छ। यसबारे चासो राख्ने हो भने धेरै रोचक तथ्य फेला पर्छन्। आज हामी चलचित्रका तिनै रोचक प्रसंगबारे कुराकानी गर्नेछौं।

नेपालमा चलचित्र प्रदर्शन र निर्माणको कथालाई हामीले विश्वमा चलचित्रको निर्माण र विस्तारको सन्दर्भमा बुझ्नुपर्ने हुन्छ। यसका लागि हामी एकछिन फ्रान्सतिर लागौं। झन्डै एक सय ३० वर्षअघिको फ्रान्स।

२८ डिसेम्बर १८९५ मा फ्रान्सको पेरिस सहरको ग्र्यान्ड क्याफेमा पहिलोपटक चलायमान वस्तु र आफूजस्तै मान्छेलाई दर्शकले पर्दामा देखे। त्यहाँ लुमियर ब्रदर्स (लुइस लुमियर र अगस्त लुमियर) द्वारा निर्मित वृत्तचित्रहरू प्रदर्शन गरिएको थियो। यो नै विश्वमा चलचित्रको पहिलो सार्वजनिक प्रदर्शनी थियो।

पेरिस सहरको ग्र्यान्ड क्याफेमा बाक्लो संख्यामा उपस्थित दर्शकमाझ एक मिनेटभन्दा छोटा १० वटा चलचित्र देखाइएको थियो। यी चलचित्रमा वास्तविक घटनालाई स्थिर अवस्थामा राखी मुभी क्यामेराले खिचेका दृश्य जस्ताको तस्तै प्रस्तुत गरिएको थियो।

तीमध्ये ५० सेकेन्ड लामो अ ट्रेन अराइभिङ एट द स्टेसन सबैभन्दा लोकप्रिय भयो। यसमा एउटा ट्रेन स्टेसनतिर आइरहेको र त्यसबाट मान्छेहरू झरिरहेको दृश्य कैद गरिएको थियो। पर्दामा देखिएका जीवन्त दृश्यहरू हेरेर त्यसबेला पेरिस सहरका दर्शकहरू अवाक् बने। उनीहरूका लागि चलचित्र कुनै अद्भूत चमत्कार वा जादूमयी घटनासरह भयो। त्यो जादूले संसारभरिका दर्शकलाई आकर्षित गर्न एक दशक पनि लागेन। पेरिसमा चलचित्र प्रदर्शन भएको एक दशकभित्रै बेल्जियम, अमेरिका, रुस, स्पेन, साउथ अफ्रिका, भारतलगायत देशमा फैलियो।

नेपालमा चलचित्रको प्रवेश

लगत्तै चलचित्रको लोकप्रियता अंग्रेजहरूले शासन गरेको भारतमा पनि फैलियो। चलचित्र बन्न थालेको पहिलो दशकभित्रै चलचित्रले युरोपबाट भारत हुँदै नेपालका राणा दरबारहरूको ढोका ढकढक्यायो। १९ औं शताब्दीको अन्त या २० औं शताब्दीको सुरुतिरै नेपालमा सिनेमा प्रविधिले प्रवेश पाएको विभिन्न लेखक तथा अध्येताले उल्लेख गरेका छन्।

उनीहरूका अनुसार, सन् १९०१ मा प्रधानमन्त्री बनेका देवशमशेरको पालामा मूक चलचित्र प्रदर्शनी भएको थियो। कमलमणि दीक्षित, प्रमोदशमशेरलगायतले देवशमशेरले एक हप्तासम्म सामान्यजनलाई टुँडिखेलमा चलचित्र देखाएको लेखेका छन्। पुरुषोत्तमशमशेरले यसलाई पुष्टि गर्दै देवशमशेरको पालामा सर्वसाधारणले साँझमा बाइस्कोप हेर्ने अवसर पाएको पढ्न पाइन्छ।

नेपालमा चलचित्रको प्रथम सार्वजनिक प्रदर्शनी

लक्ष्मीनाथ शर्माले आफ्नो पुस्तक चलचित्रको इतिहासमा १९५८ साल वैशाख २६ गते सर्वसाधारण नेपालीहरूले पहिलोपटक चलचित्र हेर्न पाएको लेखेका छन्। यस सन्दर्भमा १९५८ साल वैशाख २४ गते गोर्खापत्रको प्रकाशन सुरु भएको दिन सोही पत्रिकामा प्रकाशित सूचना रोचक छ। लेखिएको छ- टुँडिखेल मा तमासा श्री ३ महाराज बाट बेदाम्मा दुनियाहरुले हेर्न पाउन् भनी टुँडिखेलमा प्रोजेक्टोस्कोप् अर्थात् मानिसले चलफिर गर्‍ये को सब काम तस्बीर बाट सोही बमोजिम दुरुस्त देखिन्या तमासा बैशाख गते २६ बुधबार देखि हुनेछ, सो तमाशा हेर्नलाई अगाडि केटा केटि हरु, ताहाँपछि नीज केटा केटी हरु का आमा हरु, वाहाँपछि लोग्ने मानिसहरु, वाहाँ पछि बग्गी मा आउने हरु अरु लाई नछेक्ने गरी रहने छन्.।

‘त्यसअघि सायद काठमाडौंबासी सर्वसाधारणले चलचित्र हेर्ने कुनै अवसर नै पाएका थिएनन् होला र त्यसरी सूचनामा स्पष्ट व्याख्या गरिएको होला भन्ने कुरा पनि अर्को पक्षबाट अड्कल गर्न सकिन्छ,’ लक्ष्मीनाथ शर्माले लेख्छन्, ‘अनि सं. १९५८ साल वैशाख २६ गतेको दिनलाई नै सर्वसाधारण नेपालीहरूले अचानक, अस्थायी र अनियमित किसिमले पहिलोपटक चलचित्र हेर्न पाएको मिति मान्न पनि सकिन्छ।’

अनुसन्धाता अनुभव अजीतले पनि सन् १९०१ मा देवशमशेर ‘प्राइम मिनिस्टर’ बनेको अवसरमा काठमाडौंको टुँडिखेलमा भएको प्रदर्शनीलाई नेपालकै पहिलो सार्वजनिक प्रदर्शनी मानेका छन्। उनी लेख्छन्, ‘नेपालको इतिहासमा सर्वसाधारण जनताले चलचित्रसँग साक्षात्कार गर्न पाएको यो पहिलो अवसर थियो।’

तर सर्वसाधारण जनताबाहेक राणा शासकका दरबारमा टुँडिखेलमा प्रदर्शनी हुनुभन्दा पहिलेदेखि नै विदेशबाट चलचित्र झिकाएर हेर्ने गरिन्थ्यो। पहिलो निजी क्षेत्रबाट बनेको चलचित्र माइतीघरका निर्मातामध्येका एक जनरल नरशमशेर जंगबहादुर राणाको जीवनीमा उनले सानो छँदा वर्षमा १५ देखि २० सिनेमा हेर्न पाएको बताएका छन्। त्यस्तै साहित्यकार बालकृष्ण समको संस्मरणमा पनि दरबारभित्र चलचित्र हेरेका प्रसंग लेखिएका छन्।

सन् १९४५ मा पद्मशमशेरले आफू प्रधानमन्त्री भएपछि केही समय विद्यार्थीहरूलाई आफ्नो दरबारमा रहेको सिनेमा घरमा चलचित्र हेर्ने व्यवस्था मिलाइदिएको घटना पनि चलचित्र प्रदर्शनीको इतिहासको सन्दर्भमा सम्झनैपर्ने हुन्छ।
अर्का अनुसन्धाता रमेश पराजुलीले देवशमशेरको शासनकाल सन् १९०१ देखि नै विभिन्न समय या उत्सवमा ‘एक्का दुक्का’ फिल्म हेर्न केही सामान्य नेपालीले पाए पनि लामो समयसम्म चलचित्र सर्वसाधारणको पहुँचमा नआएको उल्लेख गरेका छन्। उनको मत छ, ‘सन् १९५० सम्म सिनेमा मूलतः नेपालका शासक या सम्भ्रान्त वर्गको निजी मनोरञ्जनको साधन थियो।’

१९ औं शताब्दीको अन्ततिर भारतका बम्बई र कलकत्ता हुँदै अन्य सहरहरूमा व्यापारिक चलचित्रको प्रदर्शन फैलिएको हो। त्यसपछि भारतीय भाषामा पनि चलचित्र बन्न र त्यसको सार्वजनिक प्रदर्शन हुन थाले। भारतका ठूला सहरमा चलचित्र प्रवेश गरेपछि यसको बाछिटा छिमेकी नेपालमा पनि पर्ने नै भयो।

सुरुमा भारतमा बसिरहेका नेपाली र यताबाट जाने नेपालीहरूले पनि त्यहाँका सिनेमा घरमा गएर चलचित्रको स्वाद चाखे। त्यसरी चलचित्र हेर्नेमध्येका एक प्रतिनिधि पात्र हुन्, भरतमणि आचार्य दीक्षित। जो लेख्छन्, ‘कलकत्तामा छँदा म बायोस्कोप खुबै हेर्दथें।’

सिनेमा प्रविधिमा भएको तीव्र प्रगतिले छोटो समयमै यो विश्वभर मनोरञ्जनसँगै व्यापारको साधन बन्यो। सिनेमाको जादूबारे सुनेका र चस्का परेका नेपाली युवा आफ्नो सरहदभित्र सोको रस्वादन गर्न नपाउँदा हुलका हुल बाँधेर सिनेमा हेर्न भारत जान थाले।

भनिन्छ, राणाहरूले चलचित्र प्रदर्शनलाई दरबारिया र सम्भ्रान्त वर्गबाट रैतीको समेत पहुँचका लागि अनुमति दिनुमा उनीहरूको केही स्वार्थ र केही बाध्यता पनि थिए। एकातिर आधुनिक तथा भौतिक चिजप्रति राणाहरूको लगाव थियो भने अर्कोतिर सर्वसाधारणलाई त्यसबाट अलग्गै राख्ने कुरामा उनीहरू उत्तिकै सचेत पनि थिए। उता भारतमा अंग्रेजविरोधी चेतना र संघर्ष व्यापक बनिसकेको थियो। त्यस्तो माहोलमा नेपालीले चलचित्र हेर्नु भनेको निरंकुश राणाहरूका लागि सत्ताविरोधी विचार वीजारोपण गर्न सक्ने खतरा पनि थियो। त्यसैले सुरुआती चरणमा राजनीतिक सिनेमाभन्दा धार्मिक र माया प्रेमका कथामा बनेका सामाजिक सिनेमा मात्र देखाउने गरी अनुमति दिइएको थियो।

यसले नेपालको पैसा विदेशिनबाट रोक्ने र अर्कोतिर उताको राजनीतिक विचारधाराको प्रभाव पनि रोकिने राणाजीहरूको आकलन थियो। त्यसैले नेपालमा चलचित्र प्रदर्शनी आरम्भ हुनुमा मनोरञ्जन उद्योगको विस्तार सँगसँगै भारतमा आएका सामाजिक तथा राजनीतिक परिवर्तन पनि मुख्य कारक बन्यो।

अध्येता पराजुलीका अनुसार, तत्कालीन समयमा काठमाडौं सिनेमा घरमा देखाइएका सिनेमाको सूचीले धार्मिक, शैक्षिक सिनेमा मात्र प्रदर्शन गरिएको देखिँदैन, ‘प्यार मोहब्बत’वाला सिनेमा पनि उत्तिकै प्रदर्शन भएका थिए।

यसरी चलचित्रको इतिहासलाई फर्केर हेर्दा प्रस्ट हुन्छ, यो सर्वसाधारणको पहुँचमा सजिलै आइपुगेको होइन। आधुनिक भौतिक स्रोत साधन शिक्षा हरेक कुरामा नेपालमा पहिला शासकवर्गको पहुँच थियो। बाहिरका बन्देज लगाइए पनि दरबारहरूमा सिनेमा, नाटक र संगीतको भव्य माहोल जम्थ्यो। चलचित्रले राणा शासकहरूको निजी मनोरञ्जनको साधनका रूपमा उनीहरूको दरबारमा प्रवेश पाएको थियो। शासक राणाहरूले दरबारभित्रै चलचित्र हेर्नु उनीहरूको निजी मामिला थियो। राणा र राजपरिवारका सदस्यबाहेक अन्यलाई चलचित्र हेर्ने अधिकार दिइएको थिएन। सुरुमा शासक वर्ग र सम्भ्रान्त वर्ग मात्रको पकडमा रहेको चलचित्र रैतीको सहर र घरभित्र आइपुगेको हो। यसका लागि दशकौं लागेको थियो।

यिनै पृष्ठभूमिमा सन् १९४९ देखि नेपालमा सार्वजनिक रूपमा सिनेमा हल खोलेर व्यापारिक तवरबाट चलचित्र प्रदर्शनी गर्न थालियो। मोहनशमशेर सत्तारुढ भएपछि सन् १९४८ मा नेपालमा व्यापारिक रूपमै सिनेमा प्रदर्शन हुन थालेको हो। सन् १९५० मा काठमाडौं सिनेमा भवनमा मोहनशमशेरको भारत भ्रमणको वृत्तचित्र देखाइएको थियो।