काठमाडौँ
००:००:००
९ माघ २०८२, शुक्रबार

९ माघ २०८२
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

बैठकले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै आगामी प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिक निर्णय गर्ने तयारी गरेको नेताहरूले बताएका छन् ।

उपसभापति पुष्पा भुसालका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने उद्देश्यसहित बैठक आह्वान गरिएको हो ।

थापा गत पुस २७ देखि माघ १ गतेसम्म सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । विशेष महाधिवेशनपछि निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू आज पहिलोपटक सानेपास्थित केन्द्रीय कार्यालयमा भेला हुँदैछन् ।

सभापति थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गरेपछि बैठक सुरु हुने उपसभापति भुसालले जानकारी दिइन् । बैठकमा प्रधानमन्त्री उम्मेदवारको घोषणा, निर्वाचन केन्द्रित विभिन्न समिति गठन तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।

केन्द्रीय समिति बैठक सकिएपछि सभापति थापा चुनावी प्रचार अभियानका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम रहेको छ । अघिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार बनेका छन् । उनले माघ ६ गते वारेसमार्फत उम्मेदवारी दर्ता गराइसकेका छन् ।