राजनीति
पाथीभरा दर्शनदेखि चुनावी रणनीतिको मौन सन्देश
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिमा होमिएका बालेन्द्र (बालेन) शाह पूर्वी नेपालको साताव्यापी सांगठनिक तथा धार्मिक यात्रा सकेर शनिबार साँझ राजधानी फर्किएका छन्। उनले काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर केन्द्रीय राजनीतिको यात्रा आरम्भ गरेका हुन्।
मधेस प्रदेशको राजधानी जनकपुरबाट सुरु भएको उनको यात्रा कोसी प्रदेशका ६ पहाडी जिल्ला छिचोल्दै विराटनगर विमानस्थलबाट टुंगिएको हो।
पार्टीका तर्फबाट प्रधानमन्त्रीका दाबेदार भन्दै चुनावी मैदानमा आएका शाहले यसपटकको भ्रमणमा ‘धेरै नबोल्ने तर धेरैलाई भेट्ने’ रणनीति अपनाएको देखियो। उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नो उम्मेदवारी दर्ता गराएसँगै सुरु भएको पहाड यात्रा राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
झापादेखि ताप्लेजुङसम्म : ल्यान्डरोभरको चर्चा
बागमती प्रदेश ०१-०३३च ४३४३ नम्बरको कालो रङको ल्यान्डरोभर डिफेन्डर चढेर पूर्वको यात्रा तय गरेका शाहको सवारीसाधनलाई लिएर सामाजिक सञ्जालमा आलोचना र चर्चा व्यापक भयो। उनी ती आलोचनाप्रति मौन रहँदै पहाडका घुम्तीहरूमा रमाए। ५ माघमा उर्लाबारीस्थित ससुरालीमा वास बसेका उनी ६ गते झापा ५ मा उम्मेदवारी दिएर कलाकार निश्चल बस्नेतको बिर्तामोडस्थित निवासमा बसे।
त्यसपछि उनको पहाडी जिल्लाको दौडाहा सुरु भयो। इलामको चियाबारी, पाँचथर हुँदै उनी ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरा पुगे। ९ माघको बिहान पाथीभराको दर्शनपछि उनले सामाजिक सञ्जालमा लेखे– ‘जय पाथीभरा, जय मुक्कुमलुङ।’ उनको यस धार्मिक यात्राले स्थानीय सांस्कृतिक पहिचानसँग जोडिने प्रयास गरेको संकेत गर्छ।

पाथीभरा दर्शन गरेपछि बालेन। तस्बिर : बालेनको सचिवालय
अन्य जिल्लामा मन्तव्य नदिई हिँडेका शाह तेह्रथुम र संखुवासभामा भने केही खुले। तेह्रथुमको म्याङलुङमा स्थानीय मतदातासँग संवाद गर्दै उनले भने, ‘तेह्रथुमको नाम कागजमा वा विकिपिडियामा पढ्न सकिन्छ, तर यहाँको वास्तविक समस्या बुझ्न यहीँको माटोमा टेक्नैपर्छ। भोलि संसद्मा कुरा उठाउँदा अनुमानका भरमा होइन, अनुभूतिका आधारमा बोल्नुपर्छ।’
इन्जिनियरिङ पृष्ठभूमिका शाहले ठूला योजनाभन्दा स्थानीय उत्पादन र बजार व्यवस्थापनमा जोड दिनुपर्ने तर्क गरे। संखुवासभाको मुढेबजारमा उम्मेदवार मिङ्मा शेर्पालाई साक्षी राख्दै उनले रुद्राक्ष र पर्यटनको सम्भावनालाई विश्वबजारमा पुर्याउनुपर्ने धारणा राखे। ‘नढाँटी भन्नुपर्दा संखुवासभा म पहिलोचोटि आएको हो,’ उनले भने, ‘संखुवासभा र बाहिर पनि रुद्राक्षका लागि परिचित छ, म जसरी पहिलोपटक यहाँ आएको छु, त्यसरी नै उम्मेदवारले तीन करोड नेपालीलाई यहाँ टेकाउने (आउने) वातावरण बनाइदिनुहोला।’
भ्रमणका क्रममा शाहले जहाँ पुगे पनि समर्थकसँग सेल्फी खिचे। हात हल्लाए, तर राजनीतिक भाषणबाजीबाट टाढै रहे।
उनले पर्यटन र कृषि क्षेत्रको विकास गर्न पनि आग्रह गरे। ‘यो पूर्वी भेग कति सुन्दर छ, कति राम्रो छ भन्ने सबैलाई थाहा छैन, यहाँ आएर थाहा हुन्छ,’ उनले भने।
भ्रमणका क्रममा शाहले जहाँ पुगे पनि समर्थकसँग सेल्फी खिचे। हात हल्लाए, तर राजनीतिक भाषणबाजीबाट टाढै रहे। संखुवासभाबाट तेह्रथुम हुँदै बालेन धनकुटा पुगेका थिए। धनकुटाको भीमनारायण चोकबाट पैदल हिँड्दै मदन चोकसम्म मतदाता र समर्थकसँग भेट्ने कार्यक्रम तय भए पनि उनी धनकुटा सदरमुकाम गाडीबाटै परिक्रमा गर्दै फर्किए।

चुनावी अभियानका क्रममा ताप्लेजुङको फुङलिङ बजारमा बालेन। तस्बिर : बालेनको सचिवालय
त्यसपछि उनले सुनसरीको इटहरीमा समर्थकलाई गाडीबाटै हाई-हेलो गरे। साँझ विराटनगर आइपुगेका उनले आफ्ना समर्थक र केही उम्मेदवारसँग भलाकुसारी गरे। मोरङ ३ बाट रास्वपाका उम्मेदवार गणेश कार्की बालेनसँग केहीबेर चुनावी तयारीलगायत विषयमा छलफल भएको जानकारी दिन्छन्। उनी भन्छन्, “पार्टी प्रतिनिधि र उम्मेदवारहरूसँग छलफल गर्नुभयो।”
बालेन होटलबाट निस्कँदै गर्दा ‘झापा ५ मा तपाईंको उमेदवारी केका लागि ? कस्तो परिणाम आउने आकलन गर्नुभएको छ ?’ भन्दै पत्रकारले प्रश्न गरेका थिए। तर, बालेन नबोली तर्किए। उत्तर दिनुको साटो मौन रहे।
प्रश्नहरू नसुनेझैँ गरी उनी सोझै गाडीमा गएर बसे। त्यहाँ एउटा कागजमा केही लेखे। त्यसपछि समर्थकलाई अभिवादन गर्न गाडीबाट माथि उक्लिए। अनि नमस्कार गर्दै विमानस्थलतर्फ अघि बढे।
उनलाई हेर्न र भेट्न झुम्मिएका युवाको भिडले पूर्वमा उनको ‘क्रेज’ रहेको देखाउँछ। विराटनगरको होटल पर्पल हेजमा विमान कुरेर बस्दा जम्मा भएका समर्थकलाई उनले गाडीबाटै अभिवादन गरेका थिए।

विराटनगरको पर्पल हेज होटलबाट बाहिरिँदा आफ्ना समर्थकहरूसँग बालेन। तस्बिर : अनिल श्रेष्ठ
राजनीतिशास्त्री प्राध्यापक बालकृष्ण पोखरेल बालेनको यस भ्रमणलाई चुनावी माहोल तताउने रणनीतिका रूपमा व्याख्या गर्छन्। “उनको स्वभाव भाषण गर्नेभन्दा पनि काम गर्ने खालको छ। अन्य दलका नेताहरू मैदानमा ननिस्किँदै उनले पहाडका कुनाकाप्चा पुगेर आफ्ना उम्मेदवारहरूलाई म तिमीहरूको साथमा छु भन्ने सन्देश दिएका छन्,” पोखरेल भन्छन्, “विभिन्न उमेरसमूहका मानिससँग सेल्फी खिच्ने र भेट्ने शैलीले नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गरेको देखिन्छ।”
पोखरेलका अनुसार उपत्यकाबाहिर निस्किएर मतदातासँग प्रत्यक्ष जोडिनुले रास्वपाका स्थानीय उम्मेदवारहरूको आत्मविश्वास बढाएको छ। ताप्लेजुङका उम्मेदवार वीरेन्द्र श्रेष्ठ र मोरङ ३ का गणेश कार्की पनि बालेनको आगमनले चुनावी माहोल आफ्नो पक्षमा बनेको दाबी गर्छन्। ६ दिनको पूर्व बसाइपछि उनी काठमाडौँ फर्किएका छन्। तर, उनले छाडेर गएको ‘साइलेन्स’ राजनीतिक प्रभावको नतिजा आगामी निर्वाचनले नै देखाउनेछ।
बालेनको ६ दिने पूर्व भ्रमण तालिका :
५ माघ : उर्लाबारी (ससुराली वास)
६ माघ : झापा ५ मा उम्मेदवारी दर्ता, बिर्तामोड वास
७ माघ : इलामको चियाबारी कटेजमा वास
८ माघ : ताप्लेजुङ (तल्लो फेदीमा वास)
९ माघ : पाथीभरा दर्शन, तेह्रथुमको म्याङलुङमा अन्तरक्रिया र वास
१० माघ : संखुवासभा भ्रमण, धनकुटा र इटहरी हुँदै विराटनगरबाट साँझ साढे ६ बजे काठमाडौँ फिर्ती।