काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

११ माघ २०८२
अ+
अ-

काठमाडौँ। कर्णाली प्रदेशका आठ जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेलको सहमति जुटेको छ।

सहमतिमा एमाले उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाकी अध्यक्ष परिषद् सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन्। दुई दलबीच कर्णालीका १० मध्ये हुम्ला र जुम्लाबाहेकका जिल्लामा तालमेल हुने भएको हो।

कर्णालीमा सल्यान, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोल्पा, जुम्ला, कालीकोट, मुगु र हुम्ला जिल्ला छन्।

हुम्ला र जुम्लाबाहेका कर्णालीका सबै जिल्लामा प्रलोपाले एमालेको चुनावचिह्न सूर्यमा मतदान गर्नेछन्। सल्यानसहित साबिक राप्ती अञ्चलका जिल्लाहरूमा एमालेलाई प्रलोपाले समर्थन गर्नेछ। रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने सहमति भएको छ। रुकुम पश्चिममा प्रलोपाका तर्फबाट जनार्दन शर्मा उम्मेदवार छन् भने पूर्वमा सन्दीप पुन उम्मेदवार छन्। प्रलोपाको चुनाव चिह्न आँखा हो। एमालेले आँखामै मतदान गर्ने सहमति भएको जारी विज्ञप्तिमा उल्लेख छ।

दाङ क्षेत्र १ मा एमालेका उम्मेदवार रेवतीरमण शर्मा, २ मा एमाले महासचिव शंकर पोखरेल र ३ मा तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे उम्मेदवार छन्।

प्युठानमा एमाले उम्मेदवार सूर्य थापा, रोल्पामा गोकुल घर्ती र सल्यानमा एमाले उम्मेदवार गुलाबजंग शाह छन्।

रुकुम पूर्वमा एमाले उम्मेदवार लीलामणि गौतम भए पनि उनले अब प्रलोपाका उम्मेदवार सन्दीप पुनलाई सघाउनेछन्।

रुकुम पश्चिममा नन्दराम देवकोटा एमाले उम्मेदवार थिए। केन्द्रमा भएको सहमति अनुसार उनले अब प्रलोपाका नेता शर्मालाई सघाउनेछन्।

सल्यानमा प्रलोपाबाट उम्मेदवारी दिएका सन्तोषकुमार राईले एमाले उम्मेदवार शाहलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन्।