जनकपुर। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा गठबन्धनका चारैजना उम्मेदवार निर्वाचित भएका छन्।
आइतबार विभिन्न चार समूहका लागि भएको मतदानमा अन्यतर्फ जनता समाजवादी पार्टी (नेपाल) का संरक्षक महन्थ ठाकुर, महिलातर्फ नेकपा एमालेकी रेखा झा, दलितमा नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र अपाङ्गता भएका/अल्पसंख्यक समूहतर्फका कांग्रेसकै रन्जित कर्ण निर्वाचित भए।
जसपा नेपालका नेता ठाकुरले सात हजार ७२५ मतभार प्राप्त गरेर निर्वाचित भए। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लक्ष्मण पौडेलले एक हजार ८०५ अंकभार प्राप्त गरे।
महिलातर्फ एमालेकी झाले सात हजार २२२ मतभार ल्याएर निर्वाचित भइन् भने निकटम प्रतिस्पर्धी नेकपाकी शमीकुमारी अग्रवालले एक हजार ९४४ र जसपा नेपालकी चन्द्रकलादेवी साहले ३२२ मतभार प्राप्त गरिन्।
अपाङ्गता/अल्पसंख्यक समूहमा कांग्रेसका कर्णले आठ हजार ९३ मतभार प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ र जसपा नेपालका शैलेशकुमार चौधरीले २७७ मतभार पाए।
दलिततर्फ कांग्रेसका पासवान सात हजार ९०४ मतभार पाएर निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपाका शम्भु पासवान हजाराले एक हजार ३७६ मतभार प्राप्त गरे। यस्तै जसपा नेपालकी चमेलीदेवी दासले २०९ मतभार प्राप्त गरिन्। जसपा नेपालले अन्यबाहेक तीन उम्मेदवारलाई निस्क्रिय गरेको थियो।