काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

११ माघ २०८२
अ+
अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न सामाजिक सञ्जालको नियमन गर्न आवश्यक रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउन आदेश कुर्नु नपर्ने भन्दै अवैधानिक पोस्ट तथा मिथ्या जानकारीमाथि तुरुन्त कारबाहीको दायरामा ल्याउन निर्देशन दिए।

अर्यालसहितको सरकारी टोलीले आइतबार नेपाल प्रहरीको साइबर ब्युरो र काठमाडौँको हनुमानढोकामा अवस्थित पुरानो काठमाडौँ प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकनका क्रममा उनले यस्तो बताएका हुन्। सामाजिक सञ्जालबाट हुन सक्ने अमर्यादित र कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार वा जानकारीहरूलाई सूक्ष्म ढंगले अनुगमन गर्दै त्यस्ता अवैधानिक र दर्ताबिनै सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूको नियमनका लागि ब्युरोले खेल्नुपर्ने भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे।

ब्युरोबाट नियमित र विशेष रूपमा प्रदान गरिने सेवाबारे ब्युरो प्रमुख तथा प्रहरी नायब महानिरीक्षक नबिन्द अर्यालबाट गृहमन्त्रीले जानकारी लिएका थिए। ब्युरोले निर्वाचनको समय अझै बढी सक्रिय भई स्वचालित रूपमा कार्यालय आफैँ सक्रिय भएर सामाजिक सञ्जालमा राखिने र छरिने भ्रमलाई तुरुन्त कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिए।

सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्यमा सामाजिक सञ्जालको दुरुपयोग हुन नदिई २१ फागुनको निर्वाचनको माहोल बनाईराख्न पनि ब्युरोले थप तदारुकताका साथ काम गर्नुपर्नेमा मन्त्री अर्यालले जोड दिए। कतिपय व्यक्ति, संस्था र समूहले गर्ने र हाल्ने पोस्टहरू कत्तिको तथ्यपरक र सही हुन् त्यसको जानकारी लिई ब्युरो आफैँले त्यस्ता पोस्ट र जानकारी हाल्ने जो कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न ब्युरो प्रमुखलाई अर्यालले निर्देशन दिएको गृहप्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले बताए।

गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सहसचिव आनन्द काफ्लेसहितको टोलीले भोटाहिटीस्थित ब्युरो कार्यालय पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए।

त्यस क्रममा गृहमन्त्री अर्यालद्वारा नेपाल प्रहरीको पुलिस क्लबमा पुगेर त्यहाँका पुरातात्त्विक महत्त्वका मूर्तिको अवलोकनसमेत गरे।