काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

११ माघ २०८२
अ+
अ-

काठमाडौँ। प्रहरीले पर्वतारोही तथा पदयात्रा गर्ने पर्यटकको ‘फेक रेस्क्यू’को कागजात बनाएर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेक रेस्क्युमा संलग्न ट्राभल कम्पनीका सञ्चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा माउन्टेन रेस्कु सर्भिसका सञ्चालक जयराम रिमाल र विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक रवीन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरिएन्स एन्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभास केसी छन्।

ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी फेक रेस्क्युको बहानामा ठगी गर्ने समूहबारे अनुसन्धान सुरु गरेको बताएको छ। “तत्काल यी कम्पनी र सञ्चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ,” ब्युरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीले भने, “अन्य व्यक्ति तथा ट्राभल एजेन्सीबारे अनुसन्धान भइरहेको छ।”

केसीका अनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले एक हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको पाइएको छ। उक्त फेक रेस्क्युबाट प्रालिले १० करोड बढी अमेरिकी डलर बिमा दाबी गरेको पाइएको उनले बताए।

नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको केसीले बताए। उक्त कम्पनीले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानमा खुलको केसीले बताए।

एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको फेक रेस्क्यु गरेको पाइएको केसीले पत्रकार सम्मेलनमा बताए। यसबाट उक्त प्रालिले ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको पाइएको उनले बताए।

पक्राउ परेकामाथि राष्ट्रहित कसुर, आपराधिक लाभ, संगठित अपराधमा र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान सुरु गरिएको छ।