काठमाडौँ। नेपालमै पहिलोपटक रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५-२६ को पहलमा आयोजित रोटरी हाटबजार पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन्।
काठमाडौँको थापाथलीस्थित रोटरी भवन परिसरमा शनिबार र आइतबार चलेको हाट बजारमा पञ्चकन्या पूजा, धिमे बाजा र स्वस्ति वाचनसहित उद्घाटन गरिएको थियो। हाटबजारमा स्थानीय उत्पादन, हस्तकला, खाद्य परिकार, फेसन सामग्री तथा सिर्जनात्मक वस्तुको प्रदर्शनी तथा बिक्री गरिएको थियो।
कार्यक्रममा नेवारी खाना, हस्तकला, कला-संगीत, खेलकुद, म्याजिक शो, ओपन माइक, चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताजस्ता गतिविधि सञ्चालन गरिएका थिए। इन्टराक्ट र रोट्र्याक्टमार्फत युवाहरूको उल्लेखनीय सहभागिता थियो।
विशेषगरी महिला उद्यमीहरूको सक्रिय सहभागिता रहेको यस कार्यक्रमले साना उद्यमशीलता र आर्थिक सशक्तीकरणमा योगदान पुर्याएको आयोजकको भनाइ छ।
रोटरी क्लब अफ मातृभूमि बालुवाटारका अध्यक्ष तथा कार्यक्रम संयोजक निर्मल ढकालका अनुसार हाटबजार समुदाय, संस्कृति र उद्यमशीलतालाई एउटै मञ्चमा जोड्ने सफल प्रयास हो। रोटरी क्लब अफ काठमाडौँका अध्यक्ष राजेन्द्र गौतमले यस कार्यक्रमले रोटरीको सकारात्मक छवि अझ बलियो बनाएको बताए। विभिन्न रोटरी क्लबहरूको सहकार्यमा आयोजना गरिएको हाटबजार सर्वसाधारणका लागि पनि खुला गरिएको थियो।