जेनेभा। संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासीहरू बेतत्ता भएको जनाएको छ।
खराब मौसमले खोजी र उद्धार कार्यमा गम्भीर बाधा पुर्याएको उल्लेख गर्दै आइओएमले विज्ञप्ति मार्फत दुर्घटना प्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
आइओएमले रिपोर्टहरूको अनुसन्धान गरिरहेको पुष्टि गर्दै सन् २०२६ को पहिलो हप्तामा मात्रै सयौँ मानिसहरू हराएको हुन सक्ने जनाएको छ।
आइओएमका प्रवक्ता जोर्गे गालिन्डोले दुईवटा जनवरी –२३ मा र एउटा जनवरी २५ मा गरी विगत १० दिनमा तीनवटा डुङ्गा डुबेको रिपोर्ट गरिएको उल्लेख गर्दै दुर्घटनामा १०४ जनाको ज्यान गएको बताएका छन्।
यी डुङ्गाहरू लिबिया र ट्युनिसियाको तटबाट प्रस्थान गरेको आइओएमको अनुमान छ। लगभग ३८० बेपत्ता व्यक्तिहरूको सङ्ख्या अनुमान गर्दै ट्युनिसियाबाट बेपत्ता भएका डुङ्गाहरूको अनुसन्धान गरिरहेको प्रवक्ता अब्देल आजिमलले उल्लेख गरेका छन्।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको बेपत्ता आप्रवासी परियोजनाका तथ्याङ्क विश्लेषक मिरना अब्देल आजिमले यी व्यक्तिहरू जनवरी १४ देखि २१ को बिचमा डुबेका नौवटा विभिन्न डुङ्गाहरूमा रहेको बताएका छन्।
आइओएमले अहिलेसम्म जनवरी –२३ को घटनासँग सम्बन्धित तीन जनाको मृत्यु भएको पुष्टि गर्न सफल भएको उनले बताएका छन्।
आइओएमले आफ्नो चेतावनी दिदै मध्य भूमध्यसागरीय आप्रवासन मार्ग विश्वको सबैभन्दा खतरनाक रहेको र गत वर्ष मात्र यसमा एक हजार ३४० जनाको मृत्यु भएको जनाएको छ।
बेपत्ता आप्रवासी परियोजनाका अनुसार सन् २०१४ देखि भूमध्यसागरमा ३३ हजार भन्दा बढी आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएका छन्।