काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से ५.३८ अंकले बढेको छ।
आइतबार ५७.५५ अंकले नेप्से बढेपछि उत्साही बनेका लगानीकर्ताहरू सोमबार ३.०७ र मंगलबार ४२.५८ अंकको गिरावट आएसँगै निराश बने। आज बुधबार झिनो अंकले बढे पनि लगानीकर्ताहरू खुसी बने।
अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा आज बुधबार नेप्से ०.१९ प्रतिशतले बढ्दै २‚७३१.८९ अंकमा रोकिएको छ। सेन्सिटिभ इन्डेक्स भने ०.१९ अंकले घटेर ४६४.२६ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.०४ प्रतिशतले घटेको हो। आइतबार सेन्सेटिभ इन्डेक्स १.७३ प्रतिशतले बढेको थियो भने सोमबार ०.३४ र मंगलबार १.५६ प्रतिशतले घटेको थियो।
नेप्सेमा मंगलबार ३३४ कम्पनीको एक लाख २१ हजार ९९२ पटकको कारोबारमा दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच भए। जसमा बुधबार ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ रुपैयाँको कारोबार भयो।
आइतबार सेयरबजारमा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ रुपैयाँको कारोबार भएको थियो भने सोमबार १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ रुपैयाँको कारोबार भएको थियो। मंगलबार भने १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा आठवटाको सूचक बढ्यो भने बाँकी पाँचवटाका सूचक घटे। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.१० प्रतिशतले घट्यो। विकास बैंक ०.१५‚ फाइनान्स १.३३‚ होटेल तथा पर्यटन ०.०९‚ जलविद्युत् समूह ०.९१ प्रतिशतले बढे। यस्तै लगानी ०.१८ र जीवन बिमा ०.०९ प्रतिशतले घटे।

नेप्सेमा आज उत्पादन तथा प्रशोधन समूह ०.४१ प्रतिशतले बढ्यो भने लघुवित्त समूह ०.१३ प्रतिशतले घट्यो। यसैगरी म्युचुअल फन्ड समूह भने ०.२५ प्रतिशतले बढ्यो। आज निर्जीवन बिमा ०.०७ प्रतिशतले घट्यो भने अन्य समूह ०.३० प्रतिशत र व्यापार समूह ०.२२ प्रतिशतले बढे।
नेप्सेमा मंगलबार १४१ कम्पनीको मूल्य बढ्दा ११२ कम्पनीको घट्यो। सातवटा कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
दिनभर उतारचढाव भइरहेको नेप्सेमा बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले कमाए। यी दुवै कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो अर्थात् १० प्रतिशतले बढ्यो।
यस्तै गुडविल फाइनान्सको डिबेन्चरका लगानीकर्ताले ८.०७ प्रतिशतले सेयरमूल्य गुमाए। गुडबिलको अन्तिम सेयर मूल्य १‚१३९ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर कारोबार भयो। आज यसको ८३ करोड ५७ लाख ५१ हजार ३२८ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३०५ रुपैयाँ कायम रह्यो।