इस्तानबुल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य कारबाही आफूले नचाहेको बताएपछि प्रतिक्रियामा इरानको क्षेप्यास्त्र र प्रतिरक्षा क्षमता कहिल्यै पनि वार्ताको बिषय बन्न नसक्ने इरानी अधिकारीले बताएका छन् ।
ट्रम्पले हालैका प्रदर्शनमा घातक दमनको लागि हस्तक्षेप गर्ने चेतावनी दिएदेखि र मध्यपूर्वमा नौसैनिक युद्धक जहाज पठाइएको बताएपछि तेहरान र वाशिङ्गटनबीच एक आपसमा आरोप प्रत्यारोप गर्ने क्रम जारी छ ।
अमेरिकी राष्ट्रपतिले बिहीबार राति तनावलाई केही मथ्थर पार्ने प्रयासमा अमेरिका सैन्य कारवाही नचाहेको र इरानसँग वार्ता गर्ने तयारीमा रहेको बताएका थिए । उनले तेहरानलाई आफ्नो परमाणु कार्यक्रममा सम्झौताको लागि दबाब दिएका छन् । अमेरिका लगायतका पश्चिमाहरूले इरानले परमाणु बम बनाउने लक्ष्य लिएको विश्वाससहित उसलाई यो लक्ष्यतर्फ जान नदिन दवाव दिँदै आएका छन् ।
इरानका विदेश मन्त्री अब्बास अराघचीले टर्की भ्रमणका क्रममा भनेका थिए, “यदि आपसी हित र सम्मानका आधारमा समान स्तरमा वार्ता भयो भने तेहरान वार्ता सुरु गर्न तयार छ।”
उनले भने, “म दृढताका साथ भन्न चाहन्छु कि इरानको रक्षात्मक र क्षेप्यास्त्र क्षमता कहिल्यै पनि वार्ताको विषय हुनेछैन।”
एक्सिओस समाचार साइटले रिपोर्ट गरेको छ, “अमेरिकी अधिकारीहरूले तेहरानसँग कुनै पनि सम्झौतामा लामो दूरीका मिसाइलहरूको भण्डारमा सीमा समावेश गर्नुपर्ने साथै देशबाट संवर्धित युरेनियम हटाउने र स्वतन्त्र संवर्धनमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।”
अङ्कारास्थित ‘सेन्टर फर इरानी स्टडिज (आईआरएएम)’ का निर्देशक सेरहन अफाकानले एएफपीसँग भने, “अन्य मुद्दाहरूसँग आणविक बिषयमा अब सम्झौता गर्न प्रयास गर्नु ‘असम्भव’ हुनेछ।”