किएभ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको ‘ऊर्जा पूर्वाधार’ युद्धविराममा युक्रेन पूर्ण रूपमा तयार रहेको बताएका छन् । युक्रेनी समाचार एजेन्सीका अनुसार, शुक्रबार रातिदेखि लागू भएको यो युद्धविराममा युक्रेनले आक्रमण रोक्ने प्रतिबद्धता जनाएको छ ।
राष्ट्रपति जेलेन्स्कीले साँझ राष्ट्रलाई सम्बोधन गर्दै भने, “युक्रेनले आक्रमणमा संयमता अपनाउन तयार छ, र आज हामीले रुसका ऊर्जा पूर्वाधारमाथि कुनै आक्रमण गरेका छैनौँ ।” उनले यस कदमलाई जनताको जीवन जोगाउन र ऊर्जा प्रणाली सुरक्षित राख्न आवश्यक ठानेको बताए ।
जेलेन्स्कीले अमेरिकी पक्षले दुवै देशलाई ऊर्जा पूर्वाधारमाथि एक हप्तासम्म आक्रमण नगर्न प्रस्ताव गरेको जानकारी पनि दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको राजधानी किएभसहित अन्य सहरहरूमा एक हप्तासम्म आक्रमण नगर्न आग्रह गरेका थिए । उनका अनुसार अत्यधिक चिसो मौसमका कारण ऊर्जा प्रणालीमा क्षति पुगेमा जनजीवन झनै कठिन हुनेछ ।
यस अनुरोधका उत्तरस्वरूप क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेनका ऊर्जा पूर्वाधारमाथि फेब्रुअरी १ सम्म आक्रमण रोक्ने सहमति जनाएको जानकारी दिएका छन्। आरबीसी–युक्रेन समाचार माध्यमले यो तथ्य सार्वजनिक गरेको छ ।
विश्लेषकहरूले यस कदमलाई हालको द्वन्द्वमा मानवीय राहततर्फको सानो तर महत्वपूर्ण कदमका रूपमा मूल्याङ्कन गरेका छन् । यद्यपि, दीर्घकालीन शान्ति र स्थिरता कायम राख्न अझै कूटनीतिक पहल र वार्ता आवश्यक रहेको उल्लेख गरिएको छ ।
यस युद्धविरामले युक्रेनका नागरिकहरूलाई कठिन जाडो मौसममा ऊर्जा आपूर्ति कायम राख्न सहयोग पुर्याउने र जनजीवनमा केही राहत दिने अपेक्षा गरिएको छ । रासस