काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिस्ट पार्टीबीचको एकता बढाइएको बताएका छन्।
सोलु-काठमाडौं सम्पर्क समन्वय समितिले गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’ मा उनले राष्ट्रिय स्वाधीनताको रक्षा तथा वैदेशिक षड्यन्त्रलाई परास्त गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको बताए।
“विभिन्न कम्युनिस्ट पार्टी तथा सामाजवादी घटकबीच एकता गरेर राष्ट्रिय शक्ति निर्माण गर्ने र निर्वाचनमार्फत जनअपेक्षा पूरा गर्ने सङ्कल्पका साथ पार्टी एकता गरिएको हो‚” दाहालले भने।

उनले असाधारण परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रहसमेत गरे।
७२ वर्ष पुगेँ अझै केही वर्ष सक्रिय हुन्छु : दाहाल
उनले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताए। आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरूलाई पनि प्रशस्त समय र अवसर रहेको बताए।
“म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु भने तपाईंहरू ४० वरिपरिकाले त प्रशस्त समय छ। अवसर आउँछ‚” उनले भने।