सङ्खुवासभा। सङ्खुवासभाको चैनपुर १०‚ इखम्बुमा खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ।
इखुम्बुमा खुकुरी प्रहारबाट ४७ वर्षीय लीलाप्रसाद राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए।
आज (शनिबार) दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लीलाप्रसादको मृत्यु भएको प्रहरी निरीक्षक अर्यालले बताए। उनका अनुसार गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्र रुप लिएपछि शिवकुमारले लीलाप्रसादको छातीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो।
घटनालगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको थियो। खुकुरी प्रहार गर्ने शिवकुमारलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।