१७ माघ २०८२
नेपाल आयल निगम। तस्बिर : शम्भु रेग्मी
अ+
अ-

काठमाडौँ। नेपाल आयल निगमले डिजेल/मट्टितेको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागु हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो।

मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३६.५० रुपैयाँ, दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि १३९ रुपैयाँ कायम भएको छ।

निगमले चारआली‚ विराटनगर‚ जनकपुर‚ अमलेखगन्ज‚ भलबारी‚ नेपालगन्ज‚ धनगढी र वीरगन्ज डिपोलाई पहिलो वर्ग‚ सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ‚ पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ। निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागु हुनेछ।

निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने घटाएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर सात घटाइएको छ। मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डरल ९६६ पुगेको छ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ०.१२ पैसा‚ डिजेल/मट्टितेलमा प्रतिलिटर ४.६६ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४५.४९ रुपैयाँ बढेर आएको तथा हवाई इन्धनमा प्रतिलिटर १.०८ रुपैयाँ घटेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ।